बार्सिलोनाले ३१औं पल्ट जित्यो कोपा डेल रे उपाधि – Nepal Press

बार्सिलोनाले ३१औं पल्ट जित्यो कोपा डेल रे उपाधि

एजेन्सी । १२ मिनेटको अन्तरमा ४ गोल गरी एथ्लेटिक विल्बाओलाई हराएर बार्सिलोनाले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ । यसअघि नै सर्बाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिनाले त्यसलाई विस्तार गरी ३१ औं उपाधि पुर्‍याएको हो ।

एन्टोइन ग्रिजमनले फ्रेन्की डी जोङको पासमा गोल गरी ६० औं मिनेटमा अग्रता दिलाउनुअघि सम्म बार्सिलोना हतोत्साही देखिएको थियो । तर त्यसपछि खेलको मोड अर्कै भयो । तीन मिनेटपछि डीजोङ आफैंले गोल गरे ।

बाँकी दुई गोल सुपरस्टार लियोनल मेस्सीको नाममा रह्यो । तेस्राे गोल डी जोङसँगकै उत्कृष्ट तालमेलमा सम्भव भएको थियो भने ७२ औं मिनेटमा भएको चौथो गोलका लागि जोर्डी अल्बाले क्रस उपलब्ध गराएका थिए । मेस्सीका लागि यो सातौं कोपा डेल रे उपाधि हो ।

यो उपाधि बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानका लागि पहिलो हो । अघिल्लो सिजन बार्सिलोना उपाधिविहीन थियो । ‘यो उपाधि मेरा लागि महत्वपूर्ण थियो,’ ला लिगामा तेस्रो स्थानमा रहेको बार्सिलोनाका प्रशिक्षक कोम्यानले भने, ‘क्लबमा भएको परिवर्तन र टिममा युवा खेलाडीको आगमनका बाबजुद बार्सिलोनाले जहिले पनि उपाधिका लागि भिडण्त गर्छ । यो हामीले पहिलो जितेका हौं । ला लिगाको अन्तिम खेलसम्म उपाधिका लागि भिड्नेछौं ।’

१५ दिनको अन्तरमा एथ्लेटिक विल्बाओले दुई कोपा डेल रे फाइनल गुमाएको छ । यही अप्रिल ३ मा भएको अघिल्लो सिजनको फाइनलमा रियल सोसिडाडले विल्बाओलाई हराएको थियो । कोरोना महामारीका कारण स्थगित भएको फाइनल १ वर्षपछि दुई साताअघि खेलाइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *