असहमति–३ सार्वजनिक गर्दै सौरभ : मेरो गुनासोको तेस्रो पुञ्ज – Nepal Press

असहमति–३ सार्वजनिक गर्दै सौरभ : मेरो गुनासोको तेस्रो पुञ्ज

काठमाडौं । लेखक तथा विश्लेषक सौरभको नेपाली पाठकबीच एउटा छवि छ, उनी जुनसुकै विषयमा पनि असहमति राख्छन् । उनलाई कसैले रिझाउन, पगाल्न सक्दैन । आफूप्रतिको यो बुझाइबारे सौरभको कुनै गुनासो पनि छैन ।

‘हो, देशमा जे-जे भइरहेको छ, ती धेरै कुराहरुमा म असहमत छु । असहमत हुन पाउनु मेरो अधिकार हो । मेरो असहमतिसँग अरु सहमत हुनुपर्छ भन्ने केही छैन,’ आफ्नै बारेमा सौरभ भन्छन् ।

उनको नयाँ पुस्तक ‘असहमति ३’ बजारमा आएको छ, जसलाई उनी आफ्ना गुनासाहरुको तेस्रो पुञ्ज भन्न रुचाउँछन् । पुस्तकको बारेमा भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्, ‘मैले आफ्ना गुनासो र असहमति ३ करोड नेपालीसँग सेयर गर्न यो पुस्तक लेखेको हुँ । असहमति राख्न पाउने अधिकारको उपयोग गरेको हुँ ।’

पुस्तकका विषयवस्तुको केही छनक पनि उनले दिएका छन् ।

सौरभ भन्छन्, ‘मैले जानेसम्म नेपालको अस्तित्व ३५ हजार वर्षदेखि छ । मैले थाहा पाएसम्म नेपालको झण्डा २५ सय वर्षदेखि छ । हाम्रा धेरै संस्कृति र मूल्य-मान्यताहरु, सभ्यताका पाटाहरु विगतमा अरुले लगेका छन् । तर अहिले नेपालमा सबै कुरा बाहिरबाट आइरहेको छ । नेपालको अन्तर्राष्ट्रिय पहिचान ध्वस्त गर्ने र अन्तर्राष्ट्रिय छविलाई सिध्याउने राजनीतिक र अरु गतिविधिसँग भइरहेका छन्, जोसँग म विल्कुल असहमत छु ।’

नेपालमा ‘लिबरल लेफ्ट’ का जन्म भएपछि समस्या सुरु भएको उनको विश्लेषण छ । पार्टीका नाम जे जे भए पनि अनुहार एउटै भएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘बीआरआइ, एमसीसी, बिमस्टेक सबै कुराले हाम्रो नेपाललाई सिध्याउँछन् । हामी त्यति पर पुग्नु हुँदैन । हामीलाई सिध्याउन सबैतिरबाट आइरहेका छन् । दौडमा को अगाडि हुने भन्ने उनीहरुको प्रतिस्पर्धाले भिन्न नाम भएको मात्र हो । यी कुरालाई लिबरल लफ्टिस्टले संस्थागन गर्न खोजिरहेका छन् । त्यसैले मैले किताबमा ‘माक्र्स र क्राइस्टबाट मुक्ति’ शिर्षकमा दुईवटा लेख लेखेको छु ।’

नेपालले उत्तर कोरिया, बर्मा, ग्रीस अल्बानिया जस्तो बाँकी विश्वबाट आइसोलेटेड भएर बस्नुपर्ने पक्षमा आफू नभएको, तर कति पर बस्ने वा वर बस्ने भन्ने सिमारेखा कोर्नुपर्ने उनको तर्क छ ।

‘नत्र आफ्नो नियन्त्रणमा नै नभएको दौडमा लाग्न सबै कुरा सिद्धिन्छ,’ उनी भन्छन् ।

नेपालमा एउटा निश्चित बर्गले अर्को निश्चित वर्गलाई दवाएर आएको भन्ने भाष्यलाई उनले खण्डन गरेका छन् । सौरभको भनाइमा राइहरुको मुन्धुम बेदभन्दा पनि अगाडि लेखिएको थियो ।

‘आफूलाई पहिले चिन्नुपरो । आफूलाई नचिनेर यो समस्या आएको छ,’ उनले भनेका छन् ।

बुक हिलबाट प्रकाशित असहमति ३ आजबाट बजारमा आएको छ । ६ वटा खण्डमा विभाजित यस पुस्तकमा सौरभका ३३ वटा विचारोत्तेजक आलेखहरु समावेश गरिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर