६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ? – Nepal Press

६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

क्युवाको राजधानी हवानामा शुक्रबारदेखि क्युवाली कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशन जारी छ । महाधिवेसनमा ८९ बर्षिय पार्टी महासचिव राहुल क्याष्ट्रोले राजीनामा दिने निश्चित भएको कतारी विश्व समाचार च्यानल अलजजिराले उल्लेख गरेको छ ।

क्यास्ट्रोको राजीनामासँगै क्युवामा क्यास्ट्रो परिवारको सत्ताको कमान्ड गैर-क्यास्ट्रोको हातमा पुगेको छ । क्युवाली राष्ट्रपति मिगेल दियाज कनेल पार्टीका महासचिव हुने भएका छन् । कनेल सन् २०१८ देखी क्युवाका राष्ट्रपति छन् । राहुल क्यास्ट्रोले राष्ट्रपतिबाट राजीनामा दिएपछि कनेल राष्ट्रपति भएका थिए ।

क्युवाली नजिर : बृद्ध भएपछि सत्ता हस्तान्तरण

शुक्रबारबाट सुरु भएको क्युवाली कम्युनिस्ट पार्टीको खुल्ला शत्रमा मन्तव्य दिँदै राहुल क्यास्ट्रोले राजीनामा दिने औपचारिक घोषणा गरेका थिए । ‘आफ्नो मिसन पुरा गरेको’ भन्दै संक्षिप्त संबोधनमार्फत राहुलले राजीनामा घोषणा गरेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले उल्लेख गरेको छ ।

राहुल क्याष्ट्रो

राज्यको सक्रिय भूमिका भएको रास्ट्रपति पदबाट राजीनामा दिएको तीन बर्षपछि पार्टीको सर्बोच्च पदबाट पनि राहुलले राजीनामा दिने भएका हुन् । क्युवाको आन्तरिक मामिलामा क्यास्ट्रो परिवारमा यो कुनै नौलो प्रचलन भने हैन ।

यसको सुरुवात राहुलका दाइ तथा क्युवाली क्रान्तिका नायक कमरेड फिडेल क्यास्ट्रोले गरेका थिए । सन १९५९ को क्युवाली क्रान्ती सफल बनाएर सत्तामा आएका फिडेलले सन २००८ मा आफूसँगै क्युवाली क्रान्तिमा होमिएका भाइ राहुललाइ राष्ट्रपति पद हस्तान्तरण गरे ।

राष्ट्रपति पद हस्तान्तरण गरेको तीन बर्षपछि सन २०११ मा पार्टी प्रमुखको पद पनि हस्तान्तरण गरे । संयोगवश फिडेल र राहुल दुवैले तीन बर्षकै अन्तरालमा राष्ट्रपति र पार्टी प्रमुखको पद हस्तान्तरण गरेका छन । फिडेलको भने सन २०१६ मा मृत्यू भएको थियो । अमेरिकी गुप्तचर संस्था सीआइएको पटक-पटकको हत्या प्रयासबाट बाँचेका फिडेलको २०१६ नोभेम्बरमा ९० बर्षको उमेरमा मृत्यु भएको थियो ।

राहुल क्यास्ट्रो : सैन्य प्रमुखदेखि पार्टी प्रमुखसम्म

तत्कालिन क्युवाका सैन्य तानाशाह फुल्गेनसियो बाटिस्टाको सत्ताविरुद्ध फिडेल क्यास्ट्रोले सन् १९५३ जुलाई २६ बाट सशस्त्र क्रान्ति सुरु गरे । उनलाई अर्जेन्टिनाका क्रान्तीकारी चे ग्वेभाराको समेत साथ थियो ।

क्रान्ति सुरु गरेको साढे पाँच बर्षमै सफलता पायो । फिडेलको समूह राजधानी हवानामा सन १९५९ को जनवरी ७ मा प्रवेश गरे । छ दिन अगाडि जनवरी १ मै सैन्य तानाशाह बाटिस्टा आफ्ना सहयोगीहरुसहित भागेर डोमिनिकन रिपब्लिक भन्ने देशतर्फ शरण लिन पुगे ।

सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

अमेरिकी आडमा सत्तामा बसेका सैन्य तानाशाह बाटिस्टालाई हटाएर सत्तामा आएका फिडेलसँग अमेरिकाको सम्बन्ध राम्रो भएन । सन २०१४ मा ओबामा कालमा केही कूटनीतिक सम्बन्ध बने पनि ट्रम्पको समयमा आएर पुनः बिग्रियो । नयाँ अमेरिकी राष्ट्रपति बाइडेनले समेत ट्रम्पको क्युवाली नीतिमा केहि परिवर्तन गरेका छैनन ।

क्युवाली क्रान्ति सफल हुनासाथ राहुल क्युवाली सैन्य प्रमुख नियुुक्त भए । गुरिल्ला युद्धमा राम्रो कमान्ड गरेका राहुललाई दाई फिडेलले देशकै सैन्य प्रमुख बनाए । प्रमुख बनेपछि उनले बाटिस्टाका सय सैन्य अधिकारीहरुलाई मारे । बायोग्राफी डटकमका अनुसार सैन्य प्रमुखको पदवहाल हुने बित्तिकै हार्डलाइनर छबि बनाएका थिए राहुलले ।

सैन्य प्रमुखका अतिरिक्त रक्षामन्त्रीदेखि उपप्रधानमन्त्री समेत भएका थिए राहुल । सन् १९५९ देखी २००८ सम्म रक्षामन्त्री भएका उनी सन् १९६२ मा उपप्रधानमन्त्री तथा सन् १९७२ मा प्रथम उपप्रधानमन्त्री भएका थिए । सन २००६ मा क्युवाली सरकारको कार्यवाहक प्रमुख भए उनी ।

दाई फिडेलको स्वाथ्योपचारको क्रममा उनले कार्यवाहक हुने मौका पाएका थिए । त्यसको दुइ बर्षपछि त उनी औपचारिक रुपमा क्युवाको सरकार प्रमुख नै भए । सरकार प्रमुख भएको तीन बर्षपछि सन् २०११ मा पार्टी प्रमुख भए ।

सैन्य प्रमुख, सरकार प्रमुखदेखि पार्टी प्रमुख सबै हुन पाए राहुलले । क्युवामा पार्टी प्रमुख धेरै महत्वपुर्ण पद हो । एक करोड १० लाखभन्दा बढी जनसंख्या भएको ल्याटिन अमेरिकी मुलुक क्युवाको क्युवाली कम्युनिस्ट पार्टीमा ७ लाख संगठित सदस्य रहेको अमेरिकी समाचार एजेन्सी एसोसिएट प्रेसले लेखेको छ ।

 मिगेल दियाज कनेल

को हुन् मिगेल दियाज कनेल ?

मिगेल दियाज कनेल अब क्युवाली कम्युनिस्ट पार्टीका महासचिवदेखि क्युवाली सरकार प्रमुखसमेत हुने भएका छन् । क्युवाली क्रान्ति भएको ६२ बर्ष भयो । ६० बर्षका कनेल क्युवाली क्रान्तिभन्दा दुइ वर्ष कान्छा छन् । अर्थात् अब क्युवाली नेतृत्वको बागडोर सम्हाल्ने कमान्डर क्युवाली क्रान्तिमा सहभागी नभएका पुस्ताका कनेल छन् ।

सन २०१३ मा उपराष्ट्रपति भएपछि मात्रै कनेल क्युवाली राजनीतिमा चर्चित भएका हुन् । उपरास्ट्रपति हुनु अगाडि उनी भिल्ल क्लारा र होल्गुइन नामक प्रान्तका पार्टी नेता भएको दि न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । टाइम्सका अनुसार कनेलसँग शिक्षामन्त्री भएकोसमेत अनुभव छ । कनेलले सेनामा पनि तीन बर्ष सेवा गरेको टाइम्सले लेखेको छ । कनेल राजनीतिको मुलधारमा आउनु अगाडि शिक्षण गर्थे ।

क्युवामा इन्टरनेट सुविधा ल्याउनुपर्ने पक्षमा वकालत गरेका कनेल निजी तथा वैदेशिक लगानी ल्याउनुपर्ने मुद्धामा उदार भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । सन् २०२० मा ११ प्रतिशत आर्थिक गिरावट आएको क्युवामा अहिले अमेरिकी प्रतिबन्ध छ ।

अमेरिकी प्रतिबन्ध र आर्थिक गिरावटले तनावग्रस्त क्युवामा केही आशा दिने काम पनि भएका छन् । जस्तो, क्युवाले आफ्नै दुईवटा नयाँ कोभिड–१९ भ्याक्सिन उत्पादन गर्दैछ । दुईवटामा सोभेराना-२ नामक भ्याक्सिन प्रयोगको चरणमा पुग्न लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । प्रयोग सफल भएमा क्युवा ल्याटिन अमेरिकाका पहिलो भ्याक्सिन सुपरपावर हुनेछ । यसको जस कनेलले समेत लिनेछन् ।


प्रतिक्रिया

One thought on “६२ वर्षपछि क्यास्ट्रो परिवार क्युवाली सत्ताबाहिर, को हुन् नयाँ कमान्डर कनेल ?

Leave a Reply to binaya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर