कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू ! – Nepal Press

कार्यकर्तालाई भीम रावलको निर्देशन : पार्टीको नाम र चिन्ह फरक पर्न सक्छ, तयार रहनू !

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज सुदूरपश्चिम प्रदेशको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले भने, ‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्‍यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ ।’

उनले पार्टीको नाम र चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । अध्यक्ष ओलीले नै एमाले विभाजन गर्न खोजेको र आफूहरुले त्यसलाई रोक्न खोजेको रावलको दावी थियो ।

२०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।
‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ र ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ ? नेकपा एमाले थियो रु नेपाल कम्युनिस्ट पार्टी थियो ।’

उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हथौडामा पनि भोट दिनु भयो । अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन् ।’

रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने स्पष्ट पारे । उनले विधान संशोधनलाई पनि अवैध बताए । ‘हामीले पार्टी बनाउने, हामीलाई पार्टीबाट निष्कासन गर्ने र कहिल्यै एमाले नै नभएको लेखराज भट्टलाई इन्चार्ज बनाउने ओलीको निर्णय सच्चाउनु पर्छ’ उनले भने ‘हामी त्यो निर्णय मान्दैनौँ ।’

ओली अवैधानिक अध्यक्ष भइसकेको समेत रावलले दावी गरे । ‘केपी ओली अवैधानिक अध्यक्ष भइसकेका छन् । अवैध अध्यक्षले गरेको निर्णय लागू हुँदैन,’ उनले भने । उनले नवौँ महाधिवेशन ओलीले भन्दा बढी मत आफूले पाएको समेत जिकिर गरेका थिए । सुरुवाती समयमा पार्टी निर्माणमा गर्दा ओलीको भूमिका नरहेको दावी उनको थियो ।

‘३२ सालमा पार्टी निर्माण गर्दा झिँगा पनि मार्नुभएन, उहाँ त त्यो बेला ज्यान मुद्दामा जेलमा हुनुहुन्थ्यो,’ रावलले भने । कर्णाली प्रदेशको प्रसङ्ग ल्याउँदै उनले सबै प्रदेशमा सोही अनुसार परिस्थिति विकसित हुनसक्ने आशय व्यक्त गरे ।

‘४ सांसदले ह्वीप उल्लंघन गरेका होइनन्, पार्टी जोगाएका हुन्,’ उनले भने, ‘अवस्था सृजना भयो भने त्यो देशैभरी हुन सक्छ ।’ कर्णाली प्रदेशमा पनि केपी ओलीले नै अस्थिरता ल्याएको रावलको आरोप थियो । ‘केपी ओलीले पद जान्छ भन्दैमा जाँदैन । म ग्यारेन्टी गर्छु’ रावलले भने, ‘हामी पद जाने धाक धम्कीबाट डराउने वाला छैनौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर