नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित, ओपनिङ जोडी चम्कियाे – Nepal Press

नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित, ओपनिङ जोडी चम्कियाे

काठमाडौं । ट्राइ नेसन्स सिरिज अन्तरगत नेदरल्यान्ड्सविरुद्धको पहिलो टि-२० म्याचमा नेपालले ९ विकेटकाे सहज जित निकालेको छ । नेपालको जितमा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेलले अर्धसतक बनाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५ ओभरमा एक विकेट मात्र गुमाएर लक्ष्य पूरा गर्यो ।

नेपालका लागि डेब्युट्यान्ट कुशल भूर्तेलले ६२ रनको शानदार इनिङ खेले । ट्वान्टी-२० मा पहिलो पटक नेपाली जर्सी लगाएर क्रिजमा उत्रिएका कुशलले ४६ बलमा ५ चौका र ५ छक्कासमेत प्रहार गरेका थिए । ५४ रनको अविजित इनिङ खेलेका आशिफले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सका लागि जुलियन डी मेले एक मात्र विकेट लिए । उनले कुशललाई पिटर सीलारको हातबाट क्याच आउट गराएका थिए । यसअघि नेदरल्यान्ड्सका लागि बास दी लिडले सर्वाधिक ४१ रन बनाएका थिए । त्यस्तै, स्कट एड्वार्ड्सले ३०, कप्तान पिटर सिलारले अविजित २३ रनको योगदान गरेका थिए ।

अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसक्दा नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र डेब्युट्यान्ट साहब आलमले १/१ विकेट लिए ।

करिब डेढ वर्षपछि घरेलु मैदानमा आयोजित अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले शानदार सुरुआत गरेको छ । अर्को शनिबारसम्म चल्ने प्रतियोगिताको दोस्रो खेलमा भोलि नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *