पूर्वराजा भोली भारतबाट फर्किँदै, भव्य स्वागतको तयारी – Nepal Press

पूर्वराजा भोली भारतबाट फर्किँदै, भव्य स्वागतको तयारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह आफ्नो १० दिन लामो भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किदै छन् । विभिन्न राजावादी संघ–संगठनहरुद्वारा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतको तयारी गरिएकाे छ ।

हरिद्वारामा आयोजना भएको महाकुम्भ मेलामा भाग लिन पूर्वराजा चैत २६ गते भारत गएका थिए । उनलाई ‘नेपाल नरेश’ तथा ‘हिन्दू सम्राट’ का रुपमा कुम्भमेलामा आमन्त्रण गरिएको थियो । उनले गत चैत ३० गते कुम्भमेलामा ‘शाही स्नान’ गरेका थिए ।

पूर्वराजा भोली ३ः३० बजे स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजाका स्वागतमा बिमानस्थलमा उपस्थितिका लागि राजावादी संघ–संस्थाहरुले आह्वान गरेका छन् ।

जनतान्त्रिक तराई मुक्तिमोर्चा, राष्ट्रबचाउ अभियान र राष्ट्रिय नागरिक आन्दोलन २०७७ ले सर्वसाधारणलाई आह्वान गरेका छन् ।
‘आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भई नागरिक सर्वोच्चता प्रदर्शन गरौं, राजा–जनता साक्षात्कार कार्यक्रम एवम् नागरिक अभिनन्दन कार्यक्रममा सहभागी होऔं !’ उनीहरुकाे आह्वानमा भनिएको छ ।

पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकोप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्दै हिन्दूहरुकाे एकतामा जाेड दिएका थिए ।

पूर्वराजाको भारत भ्रमणपछि नेपालका राजावादीहरुमा निकै ठूलो उत्साह देखिएको छ । नेपालमा राजतन्त्रका पक्षमा जनमत बढिरहँदा भारतले पूर्वराजालाई उच्च सम्मान दिनुले ठूलो महत्व राख्ने उनीहरुको तर्क छ ।

जनतान्त्रिक तराई मुक्तिमोर्चाका अध्यक्ष डा. मनोजकुमार झाका अनुसार हजारौंको संख्यामा जनसमुदाय विमानस्थल पुग्ने र पूर्वराजालाई नागरिक अभिनन्दनसमेत गर्ने तयारी छ । बिमानस्थलबाट स्कर्टिङ गरेर पूर्वराजालाई निर्मल निवाससम्म पुर्याइने उनी बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर