यी कामका लागि भविष्यमा केपी ओलीलाई सबैले सम्झिन बाध्य हुनेछन् – Nepal Press

यी कामका लागि भविष्यमा केपी ओलीलाई सबैले सम्झिन बाध्य हुनेछन्

गिरिजाप्रसादको पालामा चुक्यौं,ओलीलाई नोवल शान्ति पुरस्कारको पहल किन नगर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेको ३ बर्ष भन्दा केही बढी समय व्यति भएको छ ।। योबीचमा सरकारले गरेका कामका सम्बन्धमा थुप्रै टिका टिप्पणी भए । आलोचना भए ।

निर्वाचनमा मत माग्दा देखाएका सपना, गरेका प्रतिबद्धता बमोजिम काम नभएको सम्बन्धमा भन्दै आवाजहरु उठे । विभिन्न अनुकूल प्रतिकुल परिस्थितिहरु बन्दै गए तर सरकार आफ्नै ढंगले अगाडि बढिरह्यो ।

तीन बर्षको यो सरकारको कामको मूल्याङ्कन गर्दा धेरै अभूतपूर्व र युगयुग स्मरणीय काम भएका छन् । यो सरकारले सम्बृद्ध नेपाल, सुखी नेपाली गन्तव्य तय गर्दै राष्ट्रिय स्वाभीमान कायम राखेर, राष्ट्रिय एकताको प्रवर्द्धन गर्दै गरेका काम अभूवपूर्व छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पृठकतावादको अन्त्य, सशस्त्र गतिविधिमा संलग्न समूहलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएर दुरगामी र युगयुगसम्म सम्झिइरहने कामको नेतृत्व गर्नुभएको छ जुन अन्तराष्ट्रियस्तरबाटै पुरस्कारको हकदार छ ।

यस अवधिमा भएका युग युग सम्झिइरहने मुख्य मुख्य कामहरुलाई मैले यसरी वर्गिकरण गरेको छु ।

१. विखण्डनवादको समाप्तिमार्फत राष्ट्रिय एकताको प्रवर्द्धन:

विखण्डनको आन्दोलनलाई चर्कोसँग उठाइरहेका सीके राउतको पृथकतावादी समूहलाई विखण्डनवादको नारा त्याग गर्न लगाई राष्ट्रिय मूलधारमा ल्याउनु देशका लागि युग युगसम्म सम्झिइरहने समाधान हो ।

यसले देशमा शान्तिको मात्रै ग्यारेन्टी गरेको छैन राष्ट्रिय एकतालाई थप मजवुत बनाएको छ। साथै, नेपालमा हुने विखण्डनवादले नेपालमा मात्रै होइन क्षेत्रीय शान्ति र सुरक्षामै असर पर्नसक्ने सम्भावनालाई यसले पूर्णत रोकेको छ।

विखण्डनवादको समस्याबाट जुझिरहेका संसारका बिभिन्न क्षेत्र र देशहरुलाई पनि नेपालको यो सफलता अनुकरणीय छ । पृथकतावादको शान्तिपूर्ण र सहज समाधान प्रायः अन्य कुनै मुलुकमा भएको छैन ।

२. विप्लवको शान्तिपूर्ण अवतरणः

१० बर्षे सशस्त्र द्धन्द्धबाट आजित बनेका नेपाली जनता नेपाल कम्युनिष्ट पार्टीको नाममा नेत्रविक्रम चन्द विप्लवले शुरु गरेको सशस्त्र आन्दोलनबाट पीडित हुन थालेका थिए ।

बम पड्काउने, त्रास दिएर चन्दा असुल्ने बन्द हडताल गर्ने जस्ता क्रियाकलापले निकै त्रस्त र चिन्तित थिए। विप्लव माओवादीले हिंसात्मक गतिविधि बढाउँदै लैजादा सम्बृद्धि र स्थिरतातिर एकाकार हुँदै गरेको देशमा चिन्ता थपेको थियो।

यही सरकारले सो समुहका हिंसात्मक गतिविधिमा प्रतिवन्ध लगाउँदै कानूनीरुपमा धेरै हदसम्म कमजोर पार्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सक्नु वर्तमान सरकारको अर्को ठूलो उपलब्धि हो । सहि अर्थमा देशमा शान्ति आएको छ।

अघिल्लो दशकमा माओवादीको शान्तिपूर्ण रुपान्तरणमा स्व. गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका अतुलनीय हो । विप्लवको सशस्त्र आन्दोलन धेरै माथि उठ्न नपाउँदै सुझबुझपूर्ण ढंगले चालिएको बुद्धिमतापूर्ण काम हो । यसले वर्तमान सरकारलाई निकै उच्च मूल्याङ्गकन र प्रशंशाको भागीदार बनाएको छ ।

एउटै कार्यकालमा देशलाई दुरगामी रुपमा अशान्त बनाउने खतरा रहेका दुई फरक धारकासमूहलाई शान्तिपूर्ण रुपान्तरण गर्नु चानेचुने कुरा होइन। यसले राष्ट्रिय हुँदै दक्षिण एशियाकै शान्तिका लागि ठूलो योगदान गरेको हुँदा नोबल शान्ति पुरस्कारका लागि लायक उपलब्धि हो ।

माओवादी शान्ति प्रक्रिया सफल बनाउने कामको नेतृत्व गर्नु हुने पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई पनि यो पुरस्कार दिइनुपर्थ्यो । सो सम्बन्धमा धेरै चर्चा, टिका टिप्पणी वहश भएपनि योगदानको कदर भएन ।

यसपटक शान्तिप्रिय देश, विश्व शान्ति र निसस्त्रीकरणको पक्षमा सधै खरो उत्रने, जलवायु परिवर्तन प्रभावलाई न्यूनीकरण गर्ने विषयमा धेरै सक्रिय रहेको, आतंकवादका बिरुद्ध सधै स्पष्ट दृष्टिकोणका साथ अगाडि बढिरहेको, बहुपक्षीय कुटनीतिमार्फत शान्ति, सम्बृद्धि र विकासका लागि विश्व समुदाय अगाडि बढ्नुपर्छ भन्ने र संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा अतुलनीय योगदान पुर्याउने नेपाल र सो काममा अहिले उत्तिकै गहन जिम्मेवारीका साथ नेतृत्व गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई यो पुरस्कार दिइनुपर्छ ।

यसका लागि सबैंले पहल गर्नुपर्छ र यो बिषयमा राजनीतिक सहमति हुनुपर्छ। जुन नेपालको अन्तराष्ट्रिय व्यक्तित्व निर्माणका लागि समेत लाभदायक हुन्छ । नेपालीको हितमा हुन्छ।

३. चीनसँगको पारवहन सम्झौताको कार्यान्वयनमार्फत देशको आत्मविश्वासमा बढोत्तरीः

नेपाल भुपरिवेष्ठित मुलुक हो ! वास्तवमा भन्नुपर्दा भारतपरिवेष्ठित मुलुक हो। एउटै देशबाट मात्रै घेरिनु र नेपाली राजनीतिमा भारतीय प्रभाव रहेको चर्चाका बीच अर्को छिमेकी देशतिरको सम्पर्क संजाल बढाउन निकै ठूलो अवरोध हुने गरेको यथार्थ हो ।

र यो काम सम्पन्न गर्न ठूलै राजनीतिक जोखिम लिनुपर्ने अबस्थामा दरिलोसँग खुट्टा टेकेर पारवहन सन्धी, ७ वटा चिनियाँ बन्दरगाह प्रयोग गर्न सक्ने गरी सम्झौता गर्नु सानो सम्झौता होइन।

यो हेर्दा सामान्य लागे पनि गहिरो गरी हेर्दा राष्ट्रिय स्वाभिमान उच्च बनाउने, भुपरिवेष्ठित मुलुकलाई भूजडित मुलुकमा रुपान्तरण गरेको छ। पटकपटक नाकाबन्दी खेपेका नेपाली जनतालाई ठूलो त्राण दिएको छ । अब नाकावन्दी हुने अवस्थाको लगभग अन्त्य गरेको छ।

४. नेपालको राजनैतिक नक्साको प्रकाशनः

यो सरकारले गरेको युग युगसम्म सम्झिने अर्को काम कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा प्रकाशन गर्नु ठूलो हिम्मतिलो र अभूतपूर्व काम हो । संविधानको अंग बनाउँदै संविधान संशोधनमा जुन अभूतपूर्व एकता प्रधानमन्त्रीको नेतृत्वमा भयो,त्यसले भोलिका दिनमा जो सुकै नेपाली शासकलाई पनि आफ्नो भूमिप्रति अडान राख्न वाध्य बनाउनेछ ।

५. कोभिडविरुद्धका कदमहरुः

एकबर्ष लामो कोभिड १९ का कारण जनजीवन र अर्थतन्त्रमा पारेको प्रभावका कारण देशले ठूलो क्षति व्यहोर्नुपर्यो । तथापि नेपालले कोभिडकै उपचार, पहिचान, रोकथाम, खोपमा गरेको काम कुनै विकसित मुलुकले गरेको भन्दा कम थिएनन्।

अझै पनि ठूलो संख्याका मुलुकहरुले भ्याक्सिनको एकदमै सीमित पहुँच वा शुरु नै नगरेको अवस्थामा नेपालले भ्याक्सिन प्रमाणीकरण भएको शुरुवातमै महिना अगाडिनै शुरु गरी करिब १० प्रतिशतलाई अहिलेसम्म लगाइसक्नु र सबै जनतालाई निशुल्क खोप दिने घोषणा गर्नु चानेचुने कुरा होइन । स्वास्थ्य पूर्वाधारको विकासमा उल्लेखनीय काम भएका छन् ।

राजनीतिक पूर्वाग्रह राखेर जस्तो टिप्पणी गरेपनि नेपाल जस्तो देशले गरेको कामलाई कम आँक्न मिल्दैन यद्यपि शुरुवाती दिनहरुमा क्वारेन्टाइन उपचार लगायतका बिषयमा हुनुपर्ने जति काम नभएर कमजोरी नै नभएको भन्ने भने मिल्दैन । आगामी दिनमा पनि कोभिडबिरुद्धको कामलाई थप प्रभावकारी बनाउनुपर्ने चुनौती देखिएको छ ।

६. सन्तुलित परराष्ट्र नीतिः

वर्तमान सरकारको सन्तुलित परराष्ट्र नीतिका कारण नेपालको अन्तराष्ट्रिय सम्बन्ध थप सुदृढ, परिपक्व, सन्तुलित हुँदै गएको छ । ‘कोही छैन शत्रु, सबै हाम्रा मित्र’ भन्ने मूल सारलाई सही ढंगले कार्यान्वयन गर्दै अघि बढेको छ ।

गहन अध्ययनशील परराष्ट्रमन्त्री, अनुभवी र परिपक्व नेतृत्व क्षमतासमेत यस अवधिमा देखियो । समयक्रममा विभिन्न उतारचढावहरु देखिए पनि परराष्ट्र सम्बन्ध एकदमै सन्तुलित देखिएको छ ।

सबैसँग राम्रो, सन्तुलित सम्बन्ध बनाउने र आफ्ना राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न वर्तमान सरकारको विशेष क्षमता देखियो । छिमेकी देशहरुसँग सन्तुलित र राम्रो सम्बन्ध, अन्तराष्ट्रिय समुदायको विश्वासस्वरुप नेपालले मानव अधिकार परिषदमा पुननिर्वाचित हुनु ठूलो उपलब्धि हो ।

कोभिडको महामारीकाबीच पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार र अन्तर्राष्ट्रिय सहयोग प्राप्तिमा उल्लेख्य बढोत्तरी, कुटनीतिक सम्बन्ध विस्तार हुँदै जानुमा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र विदेशस्थित नियोगहरुको राम्रो भूमिका रह्यो । प्रभावकारी खोप कुटनीतिमार्फत नेपाली जनताका लागि समयमै खोपको सुनिश्चितताको चरणमा नेपाल पुग्नु उल्लेखनीय सफलता हो ।

७. अन्य गौरवका कामहरु

यो सरकारले गरेका अन्य अभूतपूर्व कामहरुमा सडक निर्माणमा तिव्रता, अन्य पूर्वाधार निर्माणमा भएको बढोत्तरी, सामाजिक सुरक्षाको क्षेत्रमा भएका काम, स्वास्थ्यको क्षेत्रमा भएका काम र देशलाई दुरगामी प्रभाव पर्ने र महत्वपूर्ण कामहरु शुरु भएका छन् ।

राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा भएको प्रगति, हुलाकी सडक निर्माण अन्तिमचरणमा पुग्नु, माथिल्लो तामाकोशी आयोजनाले बैशाखदेखिनै उत्पादन शुरु गर्दैछ।

अर्कोतर्फ संघीयता कार्यान्वयन र संविधान कार्यान्वयनमा कानून निर्माण गरी भएको प्रगतिले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारलाई सफल बनाएको छ । राष्ट्रिय एकता बलियो बनाउन गरेको प्रयास आफैंमा अभूतपूर्व छ।

जनताको जीवनलाई सुधार गर्नु, पूँजीगत खर्चलाई बृद्धि गर्नु, प्रशासनिक स्थिरता कायम गर्नु, सुशासन कायम गर्ने क्षेत्रमा काम गर्नु, कृषिको आधुनिकीकरण र बैज्ञानिकीकरण अझै व्यवस्थित गर्दै प्रभावकारी बनाउँदै लैजानु, लगानी मैत्री वातावारणमा थप सुधार गरी स्वदेशी पूँजीको परिचालन गरी विदेशी लगानी भित्र्याएर रोजगारी सिर्जना गर्दै नेपाली युवाहरुलाई विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गर्ने क्षेत्रमा धेरै नै काम गर्नु पर्ने देखिन्छ।

कुनैपनि सरकारले कतिको काम गर्यो! भन्ने हेर्न त्यतिबेलाको परिस्थिति, पर्यावरणलाई हेर्नु जरुरी हुन्छ । अहिलेको परिस्थितिमा, सीमिति उपलब्ध स्रोत र साधनकाबीच वर्तमान सरकारले गरेको कामलाई गहिरिएर नहेरेर आवेश उत्तेजना र पूर्वाग्रह राखी टिप्पणी गर्नु अहिलेको सरकारप्रतिको पूर्वाग्रह मात्रै हो ।

यद्यपि कमिकमजोरी नै छैनन भन्नु भन्दा पनि भएका कमीकमजोरीहरुलाई सुधार गरी अगाडि बढनु आजको आवश्यकता देखिएको छ ।

शान्ति, स्थिरता, सम्बृद्धिको नारालाई अगाडि बढाएर सुखी र खुसी नेपालीको परिकल्पना गर्दै त्यस अनुरुपका कामहरु गर्ने प्रयास गर्दै राष्ट्रिय आत्मविश्वासको बढोत्तरी, सम्बृद्धि र विकासको यात्रालाई तीव्रता दिएर नेपालमा पनि केही हुन्छ है भन्ने खालको विश्वास युवालाई दिलाउने प्रयत्न आम नेपालीहरुका लागि निकै सुखद खबर परिस्थिति हो ।

कुनै राजनीतिक पूर्वाग्रहलाई बाहिर राखेरमात्रै हेर्ने हो भने पनि नेपाल देखिने, सुनिने गरी अगाडि बढेको छ। अन्तराष्ट्रिय समुदायले नेपालप्रति हेर्ने दृष्टिकोण बदलिएको छ।

यसमा प्रधानमन्त्रीको नेतृत्व र योगदान छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको देश बनाउने हुटहुटी, दृढ इच्छा शक्ति र विकासप्रेमी छविका कारण आगामी निर्वाचनबाट पनि पुन नेतृत्वमा आई अझै देशका लागि नेपाली स्वाभीमान र हितका लागि अझै धेरै गर्न बाँकी नै तथापि अहिलेसम्मका कामले नै उहाँलाई युग युगसम्म सम्झिइरहने बनाइसकेको छ ।

(याे लेखकको निजी बिचार हो)


प्रतिक्रिया

One thought on “यी कामका लागि भविष्यमा केपी ओलीलाई सबैले सम्झिन बाध्य हुनेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *