कोरोनाको दोस्रो लहर : हटस्पट बन्दै प्रदेश १ – Nepal Press

कोरोनाको दोस्रो लहर : हटस्पट बन्दै प्रदेश १

विराटनगर। प्रदेश १ को राजधानी कारोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको छ । दिनहु विराटनगरमा संक्रमितहुनेको संख्य प्रदेशका अन्य जिल्लाको हकमा उच्च रहेको छ ।

गएको २४ गते यता शुक्रबारसम्म विराटनगरमा कुल १ सय ३८ जना कोरोना संक्रमित पुगको छन् । पछिल्लो २४ घण्टामा ३३ जना संक्रमित फेला परेकोमा विराटनगरमा सर्वाधिक १४ जना संक्रमित भएका हुन् ।

मोरंगमा शुक्रबार कुल १८ संक्रमित थपिए । झापामा ८, भोजपुरमा ३, सुनसरी, र उदयपुरमा २-२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १-१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २-२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १-१, उदयपुरको उदयपुरगढी र कटारीमा १-१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा शुक्रबार २९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमितभएकामध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ पुगेका छन्।

बालबालिका उच्च जोखिममा

दोस्रो लहरको कोरोना सङ्क्रमण सुरु भएसँगै विराटनगरमा २७ जना स्कुल जाने उमेरका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ ।

विराटनगर महानगरपालिकाको तथ्याङ्कअनुसार शुक्रबारसम्म विराटनगरमा एक सय ३८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २७ जना २० वर्षमुनिका हुन् ।

महानगरपालिकाको तथ्याङ्कअनुसार नयाँ सङ्क्रमित सात वर्षदेखि २० वर्षसम्मका २७ जना छन् । तीमध्ये अधिकाम्स विद्यार्थी हुन् । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिए पनि विराटनगर महानगरपालिकाले सतर्कता अपनाएको छैन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली परीक्षा नजिकिएका कारण परीक्षापछि विद्यालय बन्द गर्ने तयारी रहेको बताउँछन् ।

‘परीक्षा पनि नजिकिँदै छ, वैशाख अन्तिममा हुने परीक्षालाई अगाडि सारेर परीक्षा सकेर विद्यालय बन्द गर्न सकिन्छ,’ उनले भने,‘सरोकारवाला निकायसँग आज छलफल गर्दैछौँ ।’ सतर्कतासहित परीक्षा सञ्चालन गरेपछि विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको उनले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले १४ जिल्लालाई कोरोनाको उच्च जोखिममा राखेको छ । जसमा मोरङ जिल्ला पनि छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार प्रदेश १ मा २ सय ५३ जना कोरोना सङ्क्रमित छन् । तीमध्ये एक सय ३८ जना विराटनगर महानगरपालिकाभित्रका हुन् ।

कोरोना महामारीपछि तङ्ग्रिँदै गरेको विराटनगरमा पुनः दोस्रो फेज समुदायस्तरमा पुगेको पछिल्लो तथ्याङ्कले देखाउँछ ।

अस्पतालमा कोरोना जाँच गराउन जानेहरूको सङ्ख्या दैनिक बढ्दो छ । दोस्रो लहर सुरु भएसँगै कोरोना जाँच गर्न आउनेको सङ्ख्यासँगै पोजेटिभ केस पनि बढेको कोसी अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासले बताए ।

सङ्क्रमण बढेपछि महानगरभित्र कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य शाखा संयोजक रमेश कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *