गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी ! – Nepal Press

गण्डकीमा फेरि उकालो लाग्दै कोरोना संक्रमण, निशानामा विद्यार्थी !

७२ घन्टामा १२२ जना संक्रमित थपिए

पोखरा । पछिल्लो समय गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या फेरि उकालो लागेको छ । त्यसमध्ये सबैभन्दा बढी संक्रमित पोखरा महानगरमा पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार गण्डकीमा पछिल्लो ३ दिनमामात्रै १ सय २२ जना कोरोना संक्रमित पुष्टि भएका छन् । क्षयरोग उपचार केन्द्र, लाइफ डाइग्नोस्टिक प्रालि, विध ल्याब ललितपुर, मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेको गण्डकी स्वास्थ्य निर्देशनालय निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा शुक्रबारमात्रै ४६ जना नयाँ संक्रमित थपिएका छन् । जसमध्ये पोखरा महानगरकामात्रै ४२ जना छन् । शुक्रबार नयाँ थपिएका कोरोना संक्रमितमा बागलुङका ४ जना, पर्वत र म्याग्दीका १÷१ जना रहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकीका संयोजक डा नवराज शर्माले बताए । ‘अहिले फेला परेका सबै संक्रमित कन्ट्याक ट्रेसिङबाटै फेला परेका हुन्,’ उनले भने ।

बिहीबार गण्डकीमा ६३ जना नयाँ कोरोना संक्रमित फेला परेका थिए । त्यसमध्ये पोखराकामात्रै ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आइतबार विभिन्न ठाउँमा गएिको परीक्षणमा स्याङजाका ५, गोरखाका १, तनहुँका २, बागलुङ १ र नवलपुरमा ३ जना नयाँ संक्रमित थपिएका थिए ।

बिहीबारसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार नाघेको छ । बिहीबार गण्डकीमा कोरोना संक्रमितको संख्या १७ हजार ८४ जना पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७ छ । पछिल्लो २४ घन्टामा ७२ जना कोरोना संक्रमित संक्रमितले निको भएका छन् ।

कोरोनाको निशानामा विद्यालय

पछिल्लो समय फेला परिरहेका कोरोना संक्रमितको बाह्य ‘ट्राभल हिस्ट्री’ छैन । उनीहरु समुदायस्तरमै कन्ट्याक ट्रेसिङबाट फेला परिरहेको डा शर्मा बताउँछन् ।

शर्माका अनुसार पछिल्लो समय फेला परिरहेका संक्रमितहरु प्राय विद्यार्थी छन् । ‘अहिले स्कुले विद्यार्थीमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । स्कुल र होस्टलबाट कोरोनाको संक्रमण फैलिरहेको पाइएको छ,’ उनले भने, ‘कोरोना संक्रमित फेला परेका केही स्कुलले बिदा दिन पनि सुरु गरिसकेका छन् ।’

लकडाउन खुलेसँगै स्वास्थ्य मापदण्ड पूरा नगर्ने र खुल्लमखुल्ला हेलचक््रयाइँ गरी हिँड्नाले पनि संक्रमितको संख्या बढिरहेको शर्माले सुनाए । ‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा भएको छैन । आफूखुशी हिँड्दा संक्रमितको संख्या फेरि बढ्न थालेको छ,’ उनले भने ।

‘युके भेरियन्ट’ कोरोनाको खतरा !

निर्देशनालयका अनुसार गण्डकीमा हालसम्म नयाँ प्रजातिको कोरोना ‘युके भेरियन्ट’ कोरोना फेला परेका छैन । तर, पछिल्लो समय केहीमा उक्त लक्षण देखिएकाले पुरीक्षणका लागि काठमाडौं पठाइएको छ ।

‘अहिलेसम्म यहाँ फेला परेका पुरानै प्रजातिको कोरोना हो । तर, पछिल्लो पटक आएका केही न्यु भेरिएन्टसँग मिल्दाजुल्दा छन्,’ शर्माले भने, ‘ती सस्पेक्टेड स्वाब परीक्षणका लागि काठमाडौं पठाएका छौं । नतिजा आएको छैन ।’

नेपाल सरकारले गण्डकीका बागलुङ र कास्कीसहित १४ जिल्लालाई कोरोनाको अति प्रभावित जिल्ला घोषणा गर्दै कुनै पनि भिडभाडजन्य क्रियाकलाप नगर्न र शिक्षण संस्था बन्द गर्न अपील गरेको छ । सरकारको अपीलसँगै कास्कीका केही विद्यालयले पढाइ बन्द गरी आइतबारबाट अनलाइन कक्षा चलाउने सूचना जारी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर