झरीले रुझ्यो काठमाडौं, दिउँसै अन्धकार ! – Nepal Press
झरीले रुझ्यो काठमाडौं, दिउँसै अन्धकार !
फोटो फिचर
निशान्त सिंह गुरुङ्ग २०७८ वैशाख ३ गते १७:१७
२०७८ वैशाख ३ गते १७:१७

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा पानी परिरहेको छ । धेरै समयपछि उपत्यकालगायतका क्षेत्रमा वर्षा भएको हो ।
पानी परेपछि प्रदुषण घट्ने भन्दै सर्वसाधरण खुसी भएका छन् ।

काठमाडौंमा दिउँसै अन्धकार भएको थियो भने केही ठाउँमा असिना पानी परिरहेको छ ।

देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले उपत्यकाको लगायतका क्षेत्रमा चट्याङसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुको थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको वरिष्ठ मौसमविद् बरुण पौडेलले नेपालप्रेसलाई बताए ।

उनले भने,‘अहिले काठमाडौं उपत्यका लगायतका क्षेत्रमा ठूलो पानी त होइन हल्का पानी परिरहेको छ । तर चट्याङसहित कुनै ठाउँमा असिना परिरहेको छ ।

उनका अनुसार प्रि-मनसुन सक्रिय भएकाले अहिले हावाहुरीसहित पानी परिरहेको हो । प्रि -मनसुनको समयमा बिहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ । र विहान रोकिन्छ । प्रि-मनसुनको समयमा लगातार झरी पर्ने भने हुँदैन । जेठर असारदेखि मनसुन सक्रिय हुनुअघि प्रि-मनसुनको प्रकृया चल्ने मौसमविद्ले पौडेलले बताए ।

यो क्रम अझै दुईतीन दिनसम्म रहने भएकाले सचेत रहन उनले आग्रह गरे ।

अहिले विशेष गरी पहाडी भूभागको पोखरा, सुर्खेत, गोरखालगायतका क्षेत्रको आसपासमा मध्यम खालको वर्षा भइरहेको छ । तराईका जिल्लाहरुमा भने सामान्य हावाहुरी चलेपनि र ठूलो हावाहुरीको सम्भावना कमै रहेको उनको भनाइ छ ।

देशैभर लागेको आगलागी पनि निभ्‍न सहयोग पुग्ने देखिन्छ ।