रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष हुन् : मुख्यमन्त्री शाही – Nepal Press

रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष हुन् : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनतामाथि अपमान हुन नदिन राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका लागि आफू नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेको जिकिर गरेका हुन् ।

‘जनतासँग मत माग्दा हामीले राजनीतिक स्थायित्व र समृद्ध कर्णालीको लागि मत मागेका थियौं । यो तथ्य भुलेर जनमतको अपमान नगरौं । कर्णालीको विकासका लागि राजनीतिक स्थायित्व अनिवार्य आवश्यकता हो’, शाहीले भने ।

उनले कर्णाली प्रदेश स्थापनाकै लागि विभिन्न राजनीतिक आन्दोलन भएको स्मरण गराउँदै ती आन्दोलनको एजेण्डा अझै स्थापित हुन बाँकी रहेको बताए । ‘हामीले प्रदेश सरकार निर्माण गर्दा कर्णालीको तीव्र विकास र राजनीतिक स्थिरताको सपना देखेका थियौं ।

कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र अविकास हो । हामीले यो भुल्नुहुँदैन’, शाहीले भने । उनले आफ्नो नेृतत्वको प्रदेश सरकार ५ वर्षका लागि बनेको भएपनि बदलिँदो राजनीतिक परिस्थितिमा विश्वासको मत लिन आफू सदनमा उभिएको बताए । ‘मलाई आशा छ एकपटक फेरी सरकारलाई समर्थन गर्नुहुन अपील गर्दछु’, शाहीले भने ।

आफूलाई विश्वासको मत दिन गरेको मुख्यमन्त्री शाहीको प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *