ग्यास बनाउन बजारको फोहोर किन्दै घोराही नगरपालिका – Nepal Press

ग्यास बनाउन बजारको फोहोर किन्दै घोराही नगरपालिका

काठमाडौं । नयाँ वर्षको शुरुआतसँगै घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने र पूर्ण सरसफाइयुक्त नगर बनाउने अभियानको थालनी गरेको छ ।

उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरीद गरेर पुनःप्रयोगमा ल्याउने कार्यक्रमको शुरुआत गरेको हो । गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको उपमहानगरकाले जनाएको छ ।

घोराही उपमहानगरपालिकाले घर, पसल, उद्योगबाट निस्किएको फोहोरलाई किन्ने भएको छ । पूर्ण सरसफाइयुक्त नगर बनाउने उद्देश्यका साथ उपमहानगरले घर, बस्ती, टोलबाट निस्किएको फोहोरलाई मोहरमा बदल्ने योजना बनाउँदै फोहोर किन्ने भएको हो ।

नयाँ वर्ष २०७८ सालको शुभारम्भसँगै उपमहानगरले फोहोर किन्ने अभियान पनि यही वैशाख १ गतेदेखि शुरु गरेको छ । प्रतिकिलो फोहोर दुईदेखि २० रुपैयाँसम्ममा उपमहानगरले किन्ने सरसफाइ व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिए ।

उनका अनुसार बोटलसहित नरम पोलिथिन प्रतिकिलो १० रुपैयाँ, कपडा पाँच, सुर्तीजन्य प्लास्टिक दुई र गत्ता सहितका अन्य फोहोरलाई १० देखि २० रुपैयाँसम्ममा उपमहानगरले किन्ने छ । उक्त फोहोर सङ्कलनका लागि उपमहानगरले टोलटोलमा गाडी पठाउने छ ।

उपमहानगरपालिकाले प्लास्टिक, लत्ता, कपडालगायत फोहोर खरीद गर्न थालेको छ । सङ्कलित फोहोरमध्ये नगल्ने फोहोरलाई उपमहानगरले बेच्ने र गल्ने फोहोरलाई वायोग्यास निकाल्नका लागि प्रयोग गरिने छ ।

‘घोराहीमा फोहोर व्यवस्थापन गर्न वार्षिक दुई करोड रुपैयाँभन्दा बढी रकम खर्च हुने गरेको छ र उक्त रकमलाई फोहोरसँगै सिधै जमीनमा गाडिएको छ’, घोराही–१४ का वडाध्यक्ष एवं सरसफाइ संयोजक डाँगीले भने, ‘अब भने फोहोरलाई पुनः प्रयोग गरेर उक्त रकमको सदुपयोग गरिनेछ ।’

फोहोर पुनः प्रयोग हुने भएसँगै घोराहीका नागरिकले फोहोर व्यवस्थापन गर्न अब पैसा तिर्नुपर्ने नभई पैसा कमाउने भएका छन् । घोराही उपमहानगरले गल्ने फोहोरबाट बायोग्यास निकालेर पाइपबाट घरघरमा ग्याससमेत पुर्‍याउने भएको छ ।

जसका लागि बायोग्यास प्लान्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करीब २० करोड लागतमा निर्माण हुन लागेको प्लान्टको अहिले ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र आउने मङ्सिर महिनाअघि काम सम्पन्न भइसक्ने घोराही उपमहानगरले जनाएको छ ।

उक्त वायोग्यास प्लान्टबाट अहिले तत्काल ७४० घरमा पाइपबाट घरघरमा ग्यास पुर्‍याउने योजना रहेको सरसफाइ व्यवस्थापन समितिका संयोजक डाँगीले बताए।

घोराही–१६ स्थित स्यानेटरी ल्यान्डफिल्ड साइटको तीन बिघा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त प्लान्टबाट तत्काल त्यस वरपर र नारायणपुर बजार क्षेत्रका घरघरमा पाइपबाट ग्यास वितरण गरिने छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ललितपुर र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँका बीचमा त्रिपक्षीय सम्झौता भएर उक्त प्लान्टको निर्माण भइरहेको छ ।

वायोग्यास प्लान्ट निर्माण गर्न २०७६ मङ्सिर ५ गते त्रिपक्षीय सम्झौता गरेर १४ महिनामा सक्ने भनिए पनि कोरोना महामारी आएसँगै काम रोकिएको थियो । अहिले भने काम धमाधम भइरहेको छ ।

सो प्लान्टबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन प्राङ्गारिक मल उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी सल्लाहकार शेखर अर्यालले जानकारी दिए । नगरपालिकाका वडा नं १० र १६ का १६ सय घरधुरीमा पाइपमार्फत मिटर जडान गरी ग्यास वितरण गरिने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर