बैंकले निक्षेपमा दिने ब्याजदर हेरफेर, कुन बैंकको ब्याज कति ? (सूचीसहित) – Nepal Press

बैंकले निक्षेपमा दिने ब्याजदर हेरफेर, कुन बैंकको ब्याज कति ? (सूचीसहित)

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाको न्युनतम ब्याजदर सार्वजनिक गरेका छन् । बैंकले आ-आफ्नो अनुकुलताअनुसार व्याजदरमा सामान्य हेरफेर गरेको पाइएको छ ।

केही बैंकले साधारण निक्षेपतर्फको ब्याजदर घटाएर मुद्धतितर्फको बढाएका छन् भने केही बैंकले दुबैतर्फको ब्याजदर घटाएका छन् । कतिपय बैंकको भने निक्षेपको ब्याजदर स्थिर छ ।

स्टाण्डर्ड चाटर्ड, एभरेष्ट बैंक, नैपाल एसविआई बैंक, राष्ट्रिय बाणिज्य, ग्लोवल आइएमई बैंक लगायतले चैत महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् । त्यस्तै नविल बैंक र हिमालय बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका बैंकले साधारण बचत तर्फको ब्याजदर समान्यरुपमा घटाएर मुद्धतितर्फको ब्याजदर बढाएका छन् ।

एनआइसी एसिया बैंक र सिभिल बैंकले साधारण निक्षेप र मुद्धतितर्फ दुबैको ब्याजदर बढाएका छन् । एनआइसी एसिया बैंकले साधारण बचतको ब्याजदर २.५ प्रतिशतबाट बढाएर ३.५ प्रतिशत पुर्याएको छ भने मुद्धती खाताको ब्याजदर ७.१ प्रतिशतबाट बढाएर ८.२५ प्रतिशत पुर्याएको छ । त्यस्तै सिभिल बैंकले साधारण मुद्धतितर्फको ब्याजदर ६.५१ प्रतिशतदेखि ८.५५ प्रतिशत पुर्याएको छ ।

केही बैंकले सर्वसाधारण निक्षेपकर्ताका लागि भन्दा ब्यक्तीगत निक्षेपकर्ताका लागि ब्याजदर बढी तोकेका छन् । कर्जाको ब्याजदर बढ्ने वा नबढ्ने कुरा औषत भारित ब्याजदरका आधारमा मात्रै पत्ता लागाउन सकिने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा.प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

‘बैकले आफ्नो आवश्यकतानुसार निक्षेपको ब्याजदर बढाएकाले कर्जाको ब्याजदर कति हुन्छ अहिले यसै भन्न सकिदैन, त्यसका लागि निक्षेपको ब्याजदर कुर्नुपर्छ,’ श्रेष्ठले भने ।

ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउँदा बैंकको ‘कस्ट अफ फण्ड’ पनि बढ्ने भएकाले आधार दर परिवर्तन भइ ब्याजदर बढ्न सक्छ । केही बैंक तथा वित्तीय संस्थाहरुले सीसीडी अनुपातको हाराहारीमा कर्जा प्रवाह गरिसकेकाले बढी ब्याजदर दिएर निक्षेप संकलन गरी कर्जा ब्याजदर पनि बढाउने सम्भावना देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाका फरक–फरक ब्याजदर भएकाले निक्षेप चलायमान हुन सक्ने अवस्था छ । कम ब्याजदर भएका बैंकबाट निक्षेपकर्ताहरु बढी ब्याजदर भएका बैंकतर्फ जान सक्छन् । नेपाल बैक लिमिटेडका सीइओ कृष्णबहादुर अधिकारी भने कर्जाको ब्याजदरमा खासै परिवर्तन नहुने बताउँछन् ।

नेपाल सरकारले तेस्रो त्रैमासमा खर्च बढाउने भएकाले र सीसीडी अनुपात ८५ प्रतिशतको सिमाभन्दा तल नै भएकाले बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर नबढ्ने उनको भनाई छ ।

‘नेपाल राष्ट्र बैंकले तोकेको सीसीडी अनुपात सिमा भन्दा करिब ७ प्रतिशत तलै भएकाले बैंकहरुले अझै कर्जा दिन सक्ने अवस्था छ र अर्को कारण भनेको तेस्रो चौमासिकमा नेपाल सरकारले खर्च गर्ने भएकाले बैंकहरुमा निक्षेप बढने भएकाले ब्याजदरमा खासै परिवर्तन नभएको हो,’ अधिकारीले भने ।

तेस्रो चौमासिकमा प्राय बैंक तथा वित्तीय संस्था कर्जाबाट प्राप्त हुने आम्दानी भन्दा ‘लोन प्रोभिजनिङ्ग’ को लागत बढ्ने भएकाले कर्जा प्रवाह गर्न चाहँदैनन् । यो अवधिमा सरकारले पनि प्राय २ खर्ब हाराहारीको बजेट खर्चको भुक्तानी दिने भएकाले मँहगो ब्याजदरमा निक्षेप लिनु खासै उचित नभएको धारणा वित्तशास्त्री अनलराज भट्टराईको छ ।

ब्याजदर स्थिर राख्ने बैकहरुले परिपक्व निर्णय लिएको उनको दावी छ । ‘ब्याजदर स्थिर राख्ने केही बैंकहरुको निर्णय उचित र परिपक्व देखिन्छ । बैंकले नचाहे पनि सरकारी खर्चका कारण बैंकिङ च्यानलमा २ खर्ब निक्षेप आउदैछ, त्यसकारणले महँगोमा किन निक्षेप संकलन गर्ने ?’ उनले भने ।

तरलता अभाबले ब्याजदरमा दबाब

कोभिडका कारण प्रभावित अर्थतन्त्रले गति लिँदै गर्दा लगानीयोग्य रकमको माग बढ्दै गएपछि बैंकहरुमा रहेको २ खर्बभन्दा बढीको अधिक तरलता घटेर चैत महिनाको अन्त्यसम्ममा ३५ अर्बको हाराहारीमा आइपुगेको थियो ।

बैंकको ‘कोर क्यापिटल प्लस डिपोजिट रेसियो, सीसीडी’ ७८.३८ प्रतिशत पुगेको तथा केही बैंकहरुले उक्त अनुपातको अधिकतम सिमा ८५ प्रतिशत नै कर्जा विस्तार गरिसकेकाले थप कर्जा दिन नपाउने अवस्था सृजना भएकाले बैशाख महिनाको ब्याजदर बढ्नसक्ने पुर्वानुमान भइरहेको थियो ।

त्यस्तै सरकारले चैत महिनामा मात्रै १ खर्ब ८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने १ खर्ब १२ अर्ब रुपैयाँ खर्च गरेको छ । चैत महिनाको अन्तिम सातामा मात्रै सरकारले ४७ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ भने २० अर्ब रुपैयाँ बजेट खर्च गरेको छ । त्यस्तै तीन तहका सरकारको खातामा ३ खर्ब रुपैयाँ खर्च नभएर राष्ट्र बैंकको ढुकुटीमा थन्किएको छ ।

यता, नेपाल राष्ट्र बैंकले चैत महिनामा मात्रै २४ अर्ब रुपैयाँ ट्रेजरी बिल मार्फत र चालू आर्थिक बर्षको ८ महिनामा करिब ८३ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्था मार्फत तरलता प्रशोचन गरिसकेको छ । सरकारले आन्तरिक ऋण मार्फत ११३ अर्ब रुपैयाँ आन्तरिक बजारबाट उठाइसकेकाले पनि तरलतामा पर्ने दबाबले पनि बैशाख महिनामा ब्याजदर बढ्ने अनुमान भएको थियो । चैत महिना मात्रै बाणिज्य बैंकहरुले १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका छन् भने १ खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

नेपाल राष्ट्र बैंकले साधारण बचत र मुद्धती खाता बिचको ब्याजदरको अन्तर ‘स्प्रेड दर’ ५ प्रतिशतभन्दा बढी राख्न नपाउने ब्यवस्था गरेका कारण मुद्दती खाताको ब्याजदरमा परिवर्तन गरेमा साधारण तर्फको ब्याजदर पनि परिवर्तन गर्नुपर्ने हुन्छ । बाणिज्य बैंकको बैशाख महिनाका लागि प्रकासित गरेको प्रारम्भिक ब्याजदर यस्तो छ ।

सुची


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर