आजदेखि व्यक्तिगत घटना दर्ता सचेतना अभियान, अहिलेसम्म दर्ता गर्नेको संख्या झण्डै २० लाख – Nepal Press

आजदेखि व्यक्तिगत घटना दर्ता सचेतना अभियान, अहिलेसम्म दर्ता गर्नेको संख्या झण्डै २० लाख

काठमाडौं । व्यक्तिगत घटना दर्तासम्बन्धी सचेतना जगाउन सरकारले आजदेखि अभियान शुरू गरेको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको तथ्यांक अनुसार अहिलेसम्म १९ लाख २२ हजार २ सय ४० घटना दर्ता भएका छन् ।

विभागले आजदेखि १६ दिनसम्म ‘वैशाख १ देखि १६ गतेसम्म संचालन हुने घटना दर्ता अभियानमा सहभागी बनौं, आफ्नो वडा वा पायक पर्ने दर्ता शिविरमा गई व्यक्तिगत घटना दर्ता गरौं’ भन्ने नारासहित व्यक्तिगत घटना दर्ता अभियान थालेको हो ।

यस्तो छ कार्ययोजना

‘व्यक्तिगत घटना दर्ता अभियान’ आजबाट शुरू भए पनि कार्ययोजना अनुसार ७ सय ५३ वटै स्थानीय तहले आजदेखि १६ गतेसम्म आफ्नो वेबसाइटमा सञ्चालन हुने घटना दर्ता अभियानसम्बन्धी सूचना गृहपृष्ठमा प्रकाशन गर्नुपर्नेछ । यस्तै स्थानीय तहमा सञ्चालन हुने सार्वजनिक तथा औपचारिक कार्यक्रममा घटना दर्ता अभियानबारे जानकारी गराउनुपर्ने विभागको कार्ययोजनामा छ ।

वैशाख १५ सम्म स्थानीय तहमा सञ्चालन भएका वा सुनिने सञ्चारमाध्यमबाट बिहान र बेलुका रेडियो सन्देश प्रशारण गर्नुपर्ने, इमेलमार्फत पठाइएको स्टिकर प्रिन्ट गरी सार्वजनिक तथा निजी सवारीसाधनमा टाँस्ने, स्थानीय रेडियोबाट सञ्चालन हुने रेडियो अन्तर्वार्तामा जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत वा वडा सचिव सहभागी हुने र घटना दर्ता अभियान, आवश्यक कागजपत्र, सञ्चालन हुने कार्यक्रमका विषयमा जानकारी गराउनुपर्नेछ ।

चैत ३० र ३१ गते घटना दर्ता अभियान सम्बन्धी सबै वडाले माईकिङ गरिसकेका छन् भने स्थानीय तहले नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा घटना दर्ता अभियानबारे जानकारी गराउनुपर्ने छ । वैशाख २ गते अर्थात भोलिदेखि मानिसको आवतजावत हुने स्थानमा पर्चा, पम्प्लेट तथा व्यानर वितरण गर्ने, स्थानीय स्तरमा प्रकाशित हुने पत्रपत्रिकाको अघिल्लो पृष्ठमा घटना दर्ता अभियान सञ्चालन हुने स्थान र समयसहित विज्ञापन प्रकाशन गर्नुपर्नेछ ।

यसैदिन स्थानीय तहको सामाजिक सञ्चालका पेजमा विभागबाट पठाइएका स्टिकर तथा घटना दर्ता अभियान सम्बन्धी लेडर हेडमा सूचना जारी गर्ने, स्थानीय तहका सबै विद्यालयमा अभियानको बारेमा बिद्यार्थीमार्फत अभिभावकलाई जानकारी गराइने छ । घटना दर्ता अभियानको बारेमा स्थानीय तहको स्वास्थ्य शाखाले समन्वय गरी सबै स्वास्थ्य स्वयंसेविकलाई ५ प्रकारका घटना दर्ताबारे जानकारी पनि यसै दिन गराइने छ ।

वैशाख २ देखि नै १६ गतेसम्म स्थानीय तहले कार्यालय समयमा घटना दर्ता अभियान सञ्चालन गर्ने र त्यसको विवरण स्थानीय एफएम रेडियो तथा पत्रपत्रिकामार्फत सार्वजनिक गरिने छ । स्थानीय तह मातहत रहेको सबै ईकाईका वेबसाईट तथा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी तथा अन्य निकायमा फलेक्स प्रिन्टमार्फत नागरिकलाई सूचित गराइने छ । स्थानीय तहमा नयाँ वर्षलाई लक्षित गरी आयोजना हुने सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रममा दोहोरीमार्फत घटना दर्ता अभियानको जानकारी गराइने छ ।

सरकारले सन् २०२४ अर्थात वि.स. २०८० सम्ममा जन्म दर्ता शत प्रतिशत पुर्‍याउने र अन्य व्यक्तिगत घटना दर्तामा उल्लेख्य रूपमा वृद्धि गर्ने अन्तर्राष्ट्रिय प्रतिवद्धता जनाइसकेको छ । यसलाई कार्यान्वयनमा ल्याउनका लागि भए पनि व्यक्तिगत घटना दर्तालाई नागरिकको कर्तव्यको रूपमा स्थापित गराउँदै घटना दर्तालाई व्यापक रुपमा विस्तार गर्ने सरकारको उद्देश्य रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक शिवराज जोशीले नेपाल प्रेसलाई जानकारी दिए ।

व्यक्तिगत घटना दर्ताको महत्व प्रचार प्रसार गर्ने उद्देश्यले बैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता विदसको रुपमा र बैशाख १ गतेदेखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताहको रुपमा मनाईदै आएको पनि विभागले जनाएको छ ।

२०७८ बैशाख १ देखि १६ गतेसम्म ‘व्यक्तिगत घटना दर्ता अभियान’ सञ्चालन गर्ने सरकारले चैत १७ गते निर्णय गरेको थियो । त्यसैलाई कार्यान्वयन गर्नका लागि १६ दिनसम्म प्रत्येक वडाको पायक पर्ने कम्तीमा तीन स्थानमा दर्ता शिविर सञ्चालन गर्ने विभागले व्यवस्था मिलाएको छ ।

अभियान अवधिभित्र भएका घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी सेवा दर्ता शिविरबाट भएको मान्यता हुने भएकाले उक्त अवधिभरमा दर्ता भएका सामाजिक सुरक्षाका निवेदन र व्यक्तिगत घटना दर्ताका सूचना फारामको संख्यात्मक विवरणको प्रतिवेदन समेत विभागमा पठाउन विभागले आग्रह गरेको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको तथ्यांक अनुसार ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ जम्मा वडामध्ये अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने वडाको संख्या ४ हजार २ सय ९६ छ ।

अहिलेसम्म अनलाइन जन्म दर्ता १० लाख २१ हजार ९ सय ६० जनाले गराएका छन् भने अनलाइन मृत्यु दर्ता २ लाख ५३ हजार १ सय २७ जनाले गराउका छन् । यस्तै २ लाख ३२ हजार ५ सय ९१ जनाले अनलाइन बसाई सराई दर्ता गराएका छन् भने अनलाइन विवाह दर्ता गर्नेको ४ लाख २ हजार ५ सय ४ छ । यस्तै १२ हजार ४८ जनाले अनलाइन प्रणालीबाट सम्बन्धविच्छेद दर्ता गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *