व्रत बहिष्कार, ‘फास्टिङ’ अंगीकार- व्रत बस्ने संस्कृति रुढिवाद हो ? – Nepal Press

व्रत बहिष्कार, ‘फास्टिङ’ अंगीकार- व्रत बस्ने संस्कृति रुढिवाद हो ?

पोहोर साल ‘यसपालीको तीज, नो ब्रत प्लिज’ भन्ने गीत बजारमा आयो । सामाजिक सञ्जालमा स्वघोषित दोस्रो दर्जाको दावी गर्दै ‘महिलावादी’ समूहले त्यसलाई अग्रपंक्तिमा उभिएर समर्थन जनायो ।

उक्त समूह सामाजिक व्यवस्थाका गुणदोष केलाउने भन्दा पनि नेपालका सांस्कृतिक मान्यताहरुमाथि आँखा चिम्लेर प्रहार गरिरहेकै हुन्थ्यो । लामो समयदेखि तीजमा व्रत नबस्ने अभियान चलाइरहनु भएका उहाँहरुको लागि यो गीत घृणा प्रवद्र्धनको औषधि सावित भइरहेको थियो ।

व्रतले महिलाहरुलाई अघि बढ्न दिएन । व्रतकै कारण सबै विकास ठप्प भयो भन्ने उहाँहरुको निष्कर्ष छ । मूलधारको भनिएको मिडिया पनि मौलिक संस्कृतिको अस्वीकारलाई क्रान्ति नै ठान्छ । त्यसैले मिडियामा गीतसँगै नो व्रत भन्दै मुठ्ठी कसेका आलेख पनि बाक्लै छापिए ।

विमर्शका लागि ठाउँ दिने भन्दा अभियानमा रमाउने र एकथरी विचारलाई निषेध गर्ने अमुक् सञ्चार माध्यमको परिपाटीले उनीहरुले नरुचाएका विषयमा कलम चलाउनु अपराधीको दर्जा पाउनुजस्तै हुन पुगेको छ । यद्यपि आज सभ्य बन्ने नाममा तेज्य बनाइँदै लगिएको व्रत बस्ने संस्कृतिबारे लेख्ने धृष्टता गरेको छु ।

व्रतको अर्थ

पहिला त व्रतको अर्थबाटै आलेखको सुरु गरौं । व्रत संस्कृत शब्द हो । बृ धातुबाट अचत् प्रत्यय लागेर व्रत शब्द बनेको छ । व्रियते इति व्रतम् । जे वरण गरिन्छ, त्यो व्रत हो । अर्थात् स्वेच्छाले दृढ संकल्पको साथ कुनै उच्च उद्देश्यको लागि स्वीकारिएको अठोट ब्रत हो । सारमा भन्दा संकल्प गर्ने संस्कार व्रत हो (ऋग्वेद,१,१०१,१४, अथर्ववेद ७,२६,६) । शारीरिक, मानसिक शुद्धताको निम्ति नियमपूर्वक गरिने देवताको आराधना या उपासना व्रत हो (नेपाली बृहत् शब्दकोश, प्रज्ञा प्रतिष्ठान) ।

व्रत कायिक (शारीरिक), वाचिक (बोलीद्वारा) र मानसिक (मनले कल्पेर) तीन प्रकारका हुन्छन् । हतियारको प्रयोग नगर्नु, अहिंसा, इन्द्रीय नियन्त्रण गर्नु कायिक व्रतमा पर्छ । अर्थात् शरीर चलाएर हुने पाप रोक्नु कायिक व्रत । त्यस्तै थोरै, सत्य, हितकर र मधुर बोल्नु वाचिक व्रत हो । मनलाई प्रशन्न राख्ने, शान्तभाव, आत्मासंयमलाई मानस व्रत भनिन्छ ।

यसरी व्रतलाई तीन भागमा बाँडेर हेर्न सकिन्छ । यस व्रतका बारे वेदमा यत्रतत्र व्याख्या पाइन्छ । व्रत शब्द मात्र पनि ऋग्वेदमा तीन हजार पटक लेखिएको छ । ऋग्वेद मात्र होइन सबै वेद, महाभारत, उपनिषद् पुराण आदि सबै ग्रन्थमा व्रतबारे उल्लेख पाइन्छ । यसले पनि व्रतको उच्च स्थान छ हाम्रो संस्कृतिमा भन्ने कुरा स्पष्ट हुन्छ ।

यति लामो अनुसन्धानपछि आएको व्रत विज्ञानलाई महिला विरोधी धार दिँदैगर्दा वैदिक शास्त्रमा धेरै व्याख्या भएको र हाम्रो संस्कृतिमा रहेको व्रतबारे आधुनिक विज्ञानले भने धेरै ढिलो अनुसन्धान सुरु गर्‍यो ।

हजारौंहजार साल पहिलादेखिको हाम्रो व्रत संस्कृतिमा आधुनिक विज्ञानले व्रतको वैज्ञानिकता पत्ता लगाउन गरिएको अनुसन्धानको नाम हो अट्टोफेजी अनुसन्धान । अट्टोफेजीको नेपालीकरण आफैँ खाने या आफैं खाना तयार गर्ने भन्ने हुन्छ । व्रतको समय कसरी शरीरले खाना तयार गर्छ र व्रतपछिको शारीरिक अवस्थाबारेको अनुसन्धानलाई अट्टोफेजी अनुसन्धान भनिएको छ ।

यो अनुसन्धानपछि नै हो पश्चिमबाट हामीसम्म ‘फाष्टिङ’ शब्द भित्रिएको र पश्चिमाहरु पनि व्रत बस्न थालेका । त्यसो त यो अनुसन्धान ७० वर्ष भन्दा धेरै लामो चल्यो । तर पछिल्लो समयमा यसको अनुसन्धानमा लागेका जापानिज अनुसन्धानकर्ता ओहमुसीले यस अनुसन्धानका लागि २०१६ मा नोवेल पुरस्कार जितेपछि भने व्रतको चर्चा सर्वत्र शुरु भएको छ । जसको परिणाम हो पश्चिमाहरुको ‘फाष्टिङ’ शब्दको प्रचार ।

यस अनुसन्धानले के भन्छ भने उपवास या व्रतले बाहिरी भार नपारी शरीरलाई स्वस्थ्य राख्न र शरीरको मर्मतमा साथ दिन यो विश्राम सतप्रतिशत उपयोगी छ । यसले व्रतको समयमा शरीरको क्यालोरी स्रोतको बदलामा शरीरको मेटाबोलिक मार्गहरु बदलिन्छन् । यसले कार्वोहाइड्रेडबाट निकाल्नु पर्ने ग्लुकोजको सट्टामा इन्धनको लागि फ्याट प्रयोग गर्न थाल्छ । यस्तो समयमा केटोसिसको माध्यमबाट शरीरमा चिनीको मात्रा कम हुन्छ तब यसले सकरात्मक मानसिक तरङ्ग पैदा गर्न सुरु गर्छ । अनि स्वतन्त्र भएर उठ्ने भावका ती झोकाले मान्छेमा भारी मात्रामा ऊर्जा विकास गर्छ । अनि तिनै ऊर्जामा करुणा र प्रेम भावहरु उठ्छन् । जुन कुरा हामी अट्टोफेजी अनुसन्धान सम्बन्धी एकसेएक आलेखदेखि विजेता आहमुसीको वेवसाइटमा गएर या अन्य यसका व्याख्याका लामा आलेख पनि पाउन सक्छौँ । एउटा आर्टिकल हेल्थलाइन डटकममा पनि उपलब्ध छ ।

खासमा संसारमा मानिसहरु सुखको खोजीमा दौडिरहेका छन् । त्यो दौडमा आधारभूत सुखको एक कारण हो व्रत विज्ञान । मान्छेको शरीरमा हुने सुखलाई खुसी, मनमा सुख भए शान्ति, भावनामा सुख भए प्रेम, करुणा र ऊर्जामा सुख भए आनन्द र परमानन्द प्राप्त हुन्छ । हरेक ठाउँमा पुग्ने फरक बाटा भए पनि व्रत एक यस्तो कृत्य हो जहाँबाट परमानन्दसम्म पुग्ने बाटो पनि तय हुन्छ । यसको अर्थ व्रतमा धेरै सुख जोडिएका हुन्छन् । यो आधुनिक विज्ञानका अध्ययेताले व्रत बारेको अनुसन्धान अट्टोफेजी अनुसन्धानपछि भनेको कुरा हो ।

अर्को, हाम्रा वैदिक ग्रन्थ र उपविषद्कालीन शास्त्रमा धेरै ठाउँ टेलिपेथी अर्थात् मानसिक दूरसंचार (परस्परभाव बोध)को कुरा गरेको छ । यसलाई वैदिक भाषामा दिव्यदृष्टि भनिन्छ । महाभारत र पुराणहरुमा त यसको अत्याधिक प्रयोग पाइन्छ । आधुनिक विज्ञानले सन् १८८२ मा पहिलो पटक फेडरिक विलियम हेनरी माइट्सले टेलिपेथीको कुरा गरेका थिए, पछि गएर यही टेलीफोन र टेलीग्राम बन्यो ।

भविश्यको आभास हुनु पनि त्यसैको एक अंश हो । यही कुरा आफन्तहरुको मृत्युपछि पनि उनको सम्झनामा व्रत बस्ने, घनिष्ट सम्बन्धमा रहेका प्रेमी–प्रेमिका, पिता र सन्तान, श्रीमान् श्रीमती या गुरु शिष्यमा एकले गरेको गल्ती या अपराधमा अर्कोले प्रायश्चित्त गर्ने संस्कृतिसँग जोडिएको छ । गुरुको गल्ती शिष्यले संकल्प(व्रत) मार्फत् प्रायश्चित्त गर्ने चलन छ । घरपरिवारमा कसैले एक अपराध गरेर मर्‍यो भने, अशुद्धी भयो भने परिवारले प्रायश्चित्त (सन्ताप अनुभूति) संकल्प गरेपछि मात्र जलाउने चलन छ । यस प्रायश्चित्तबाट उ मुक्त हुन्छ र प्रायश्चित् गर्ने पनि आनन्दमा रहन्छ भन्ने कुरा शास्त्रमा छ । यसबारे यज्ञवल्क्यलाई हेर्न सक्नुहुन्छ (यज्ञवल्क्य–स्मृति प्रायश्चित्ताध्यायको छैटौं श्लोक, पृष्ठ ३२६–३२८) ।

व्रत, संकल्प या प्रायश्चितले कसरी काम गर्छ ? यो शरीर, मन, भाव भन्दा पनि भित्र आत्मा अर्थात् आन्तरिक ऊर्जाको कुरा हो । यसबारे सम्भव भएसम्म अर्को आलेखमा चर्चा गरौंला । यहाँसम्म कि व्रत के हो, किन बस्ने, व्रतका बारे वैदिक र अन्य शास्त्र के भन्छन्, नाग पञ्चमी, कृष्णजन्माष्टमी एकदसी, हरितालीका, अनन्तचतुर्दशी जस्तो कुन ग्रह नक्षत्र कहाँ हुँदा व्रतमा रहे शरीर, मन, भावना र ऊर्जामा के प्रभाव हुन्छ भन्नेबारे छुट्टै व्याख्या छ शास्त्रमा । यी सबैलाई एकैठाउँ बनाएर डा. पाण्डुरङ बामन काँणेले लामो खोज गरेर एक देखि १३ अध्याय व्रतकै बारेको मात्र ब्याख्या गर्नुभएको छ । यसमा थप अनुसन्धान गर्न चाहानेले बामन काँणेको सो किताव हेर्न अनुरोध गर्दछु (धर्मशास्त्रका इतिहास, चतुर्थ भाग,उत्तरप्रदेश हिन्दी संस्थान, पृष्ठ १–२३७) ।

व्रत बहिष्कार, ‘फास्टिङ’ अंगीकार

शारीरिक, मानसिक, वाचिक विकार फाल्न व्रत विज्ञान उत्कृष्ट कुरा भन्ने वैदिक कालमा नै पत्ता लगाएर आएकाले हाम्रो व्रत संस्कृतिमा वैज्ञानिकता छ छैन भन्ने पत्ता मात्र लगाउन पनि आधुनिक विज्ञानलाई शताब्दी लाग्यो । नयाँ पत्ता लगाउने त कुरा छोडौं महर्षीहरुले उहिल्यै सोध गरेर संस्कृतिकै रुपमा विकास गरेर ल्याएका ज्ञानलाई हो कि होइन भनेर अनुसन्धान गर्दै ठिक्क छ आधुनिक विज्ञानलाई । र, आगामी दिनमा पनि तिनै खोजलाई हो रहेछ भन्ने बाहेक केही गर्नेछैन आधुनिक विज्ञानले ।

व्रत किन बस्ने भनेर हामीले भन्दा रुढिवाद हो, महिलालाई हेप्न बनाइएको संस्कृति हो भनेर आरोप लगाउनेहरु भने अहिले व्रत छोडेर ‘फास्टिङ’ गर्न थाल्नुभएको छ । ढिलो बुझ्नु भो राम्रो भयो । तर हाम्रो अज्ञानताले यस्तो उपयोगी संस्कृतिमा कत्रो असर परेको छ, यसको आंकलन गर्न सकिन्छ ।

हाम्रो यस्तो ज्ञानलाई हामीेले रुढिवादीको लेप लगाएर छोप्दैगर्दा विकसित भनिएको दुनियाँ भने व्रतमाथि नै अनुसन्धान गरेर ‘फास्टिङ’ शब्द बोकेर हामीलाई नै पढाउन आइसकेको छ । सोधेर तथ्य लिनुहोला, ती नो व्रतका अभियानका अभियन्ताहरु या व्रतका विरोधीहरु आज ‘फास्टिङ’ गर्छन् कि गर्दैनन् ? ‘फास्टिङ’काे शारिरीक आयाम त छँदैछ । त्यसलाई समेत स्वीकार गर्न नसक्नेले त्यसको मानसिक आयामलाई मान्ने कुरै भएन ।

नदेखेको कुरा कसरी मान्न सकिन्छ भन्ने उनीहरुको तर्क हुन्छ । अन्तरनिहीत गुण देखिने कुरा होइन, विकास भएर प्रकट हुने कुरा हो । अण्डा फुटाएर हेर्दा चल्ला देखिन्छ त ? देखिँदैन । तर, अण्डामै चल्ला बन्ने गुण हुन्छ नि । कुनै पनि फूलको बीज दानामा फूल फूलेको, मगमग वास्ना आएको देखिन्छ त ? देखिँदैन । तर, त्यही दानाबाट उम्रेको बोटमा हो नि फूल फूल्ने र मगमग बास्ना आउने । चरम भौतिकवादीहरुसँग यस पक्षमा बहस गर्नु निरर्थक हुन्छ ।

हाम्रो संस्कृतिमा यस्तो प्रभाव किन पर्‍यो भने भारत अंग्रेजको उपनिवेश भयो । त्यसको प्रभाव अंग्रेजले यहाँसम्म छोडेर गयो । व्रिटिस पार्लियामेन्टमा गएर मेकालेले भारतीयहरुको दिल र दिमाग मैले अंग्रेजी बनाएर आएको छु भनेर दिएको प्रतिवेदनजस्तै हामी मान्छे देख्दा मात्र नेपाली छौँ । आफ्नो खोजप्रति एकरत्ती विश्वास छैन । अंग्रेज उहिल्यै भारतबाट गयो । भारतमा अंग्रेजलाई भुलिसके तर त्यही भारतमा अपनिवेश बनाउन आएको अंग्रेजको प्रभाव अझै गएन हामीमा ।

एउटा कुरा के थाहा पाइराख्नु पर्छ भने व्रत मानब सभ्यताकै सबैभन्दा ठूलो खोज थियो । हाम्रो व्रत विज्ञानमा आधुनिक विज्ञानले गरेको खोजले यही बताउँछ । तर हाम्रोमा भने क्रान्तिका नाममा हाम्रा संस्कृतिप्रति घृणा फैलाइयो । यसले हाम्रो विज्ञानसम्मत संस्कृति विलाउने, हामी अस्वस्थ हुने त छँदैछ, अरुका संस्कृतिले शासित हुनुपर्ने अवस्था एकसाथ आएको छ ।

यी सबै कुरामा वैज्ञानिकता छ वा छैन भनेर पत्ता लगाउन र प्रमाणित गर्न आधुनिक विज्ञानलाई शताब्दी नै लाग्यो । हाम्रोमा भने उही जमानामा यो विज्ञानसम्मत छ भनेर प्रमाणित भयो । त्यति मात्रै होइन, हाम्रोमा यो संस्कृति नै बनेर आउन, पुस्ता पुस्तामा प्रमाणित हुँदै हस्तान्तरण हुन धेरै विद्वानहरुको लगानी छ । यसमा कति धेरै विद्वानहरुको जीवन लागेको होला । त्यसैले हामीभन्दा अघिका पुस्तालाई रुढिबादीको लेप लगाएर क्रन्तिकारी बन्न छोडौं । सकिन्छ हाम्रा संस्कृतिमा थप अनुसन्धान गरौं सकिन्न आफूमा भएको अल्पज्ञानको बोझ आउँदो पुस्तालाई बोकाएर समाज बाँझो बनाउन नलागौं ।

हाम्रा वैज्ञानिक खोजलाई पश्चिमाको समर्थनबिना चल्नै नसक्ने बनाइनु आफैंप्रतिको अविश्वास हो र माथि फर्केर खकारेजस्तै हो । अनि त्यसैले आँखा छोपिएर केही नदेख्ने हामी आफैंले बनाएका हौँ । यसमा धर्म, जात कसैको दोष छैन । हामी यतिसम्म निरिह भएछौं कि अहिले न नयाँ आविश्कार गर्न सक्ने खुबी छ न उहिल्यै भएका खोजमा थप तर्क दिने अवस्थामा छौं । यहाँ त विडम्बना यस्तो छ कि ती खोज पुष्टि गर्न पनि हामीले पश्चिमाकै साहारा लिनु पर्ने अवस्थामा आफैंलाई पुर्‍याएका छौं ।

अर्को भ्रम के छरिन्छ भने व्रत कसैले कसैका लागि बस्ने हो । स्वास्नीले लोग्नेको लागि लिने कुरा हो, त्यसैले व्रत नलिऔं भनेको सुनिन्छ । पहिलो कुरा त व्रत आफ्नो मन, चित्त र शरीरको लागि लिइने हो । या जसले लियो यसको लाभ उसैलाई हुने हो । उहिले परिवार र भगवानसँग जोडेर पाप धर्मको कुरा जोडिए मात्र व्रतमा बस्ने हुनाले त्यसमा बाँधिएको हो । त्यो बेलाको समाज अनुसार जे गरियो त्यो एकदमै ठीक थियो ।

हरेक कुरालाई एकैठाउँ लपेटेर व्रतले नै महिलाहरुलाई पछि पारेको अन्धधुन्ध तर्क दिने, ऋषिपञ्चमीलाई गुप्ताङ्ग धुने दिवस करार गर्ने हाम्रा क्रान्तिकारीहरुसँग एउटै तर्क छ, व्रतले महिलालाई पछि पारेको छ । अण्डा भित्र चल्ला हुँदैन, हुन्थ्यो भने फुटाएर देखाऊ भनेजस्तै तर्क उहाँहरुले गर्नु भएको छ ।

वैदिक कालमा महिलाहरु महर्षी थिए । योगी थिए । आफूलाई व्रतमा जोडे । उनीहरुले व्रत बसेर शरीरिक रुपमा मात्र नभइ मानसिक रुपमा पनि आफूलाई अव्वल राखेर अघि बढे । महिलाले व्रत लिए स्वाथ्य हुने रहेछ भन्ने कुरा उहिल्यै बुझ्ने उनीहरु वैज्ञानिक होइनन् ? हजारौंहजार वर्षका उनीहरुका अनुभवलाई रुढ भनेर आफू अब्बल ठान्ने प्रयास निरर्थक छ ।


प्रतिक्रिया

19 thoughts on “व्रत बहिष्कार, ‘फास्टिङ’ अंगीकार- व्रत बस्ने संस्कृति रुढिवाद हो ?

  1. वाहियात विषयमा लम्बेतान तर्क लेख्यो, बस्यो! मतिका हाहाकार भएसी ,मान्छेले लेख्ने अनि सोच्ने यस्तै बिषयमा होI अब बिनुजीले धर्मको बारेमा पनि केहि हावा लेख लेखियोस!

  2. गज्जब लाग्यो खोजमुलक लेख। ज्ञानवर्दक

  3. शिक्षाको दर्शन र समाजको चरित्रमा पूर्वीय दर्शनको प्रभाव घट्दै जाँदा देखिएको विकृतिको परिणती हो आजको हाम्रो चेतना र अभ्यास। त्यसैले शिक्षाको चरित्र नबदली समाजको चेतना र देश चित्र बदल्न सकिंदैन्। आफ्नोपन छोड्न सिकाउने शिक्षा नै समस्याको मूल कारण हो। कुरो बुझौं!

  4. धेरै राम्रो र अनुसन्धानात्मक लेख ! विस्तृत अध्ययनको उपज पनि ! तपाँईलाई हार्दिक बधाई र लिंक पठाउनुभएकोमा धन्यवाद पनि ! फेसबूकमा शेयर गर्न सक्छ ?

  5. म सयुक्त रास्ट्र संघ को पी ५ को कर्मचारी हु बिगत १५ बर्ष देखि थाईल्याण्ड, जेनेभा, अफ्रिका, अफगानिस्तान र न्यु वर्क मा काम गरिरेछु – तर अहिले सम्म श्री हरि को कृपा ले एकादशी बर्त लिन सरिर, मन, अफिस, साथी , परिवार, आफन्त सबै ले साथ दिएको अबस्था ।। ब्रत र एटीएम मेसिन मा फरक छ – तर ब्रत बस्दा हानि भन्दा बेसी नाफा, फाइदा छ – कुन फाइदा लाइ कसरी लिने हेर्ने आखा आफ्नो आफ्नो हो ।

  6. आलेख र प्रतपक्रियापनि सरसर्ति पढियाे । दुबैकाे आआफ्नाे महत्त्व छ । समर्थनले हाैशला दिन्छ भने विराेधले परिमार्जनहसने अवशर । कुराेकाे चुराे त ” कसैलेपनि आआफ्नाे बाैद्धिकताकाे प्रतिम्ब दिने न हाे ।

  7. हामिहरु त्यो कस्तुरी हौं जो आफ्नै शरिरको सुगन्धको श्रोत खोज्दै भौंतारी रहन्छ।

  8. विनु पोखरेलजीको यो लेख पढेपछि मलाई के लाग्यो भने समग्र महिला मुक्तिको लागि महिला नै कसरी वाधक हुँदा रहेछ्न्, कसरी सामन्ती तथा धार्मिक सत्ताबाट फाइदामा रहेकाहरूले निहित स्वार्थ-लाफको दीर्घकालीन बचाउमा आफ्नो सचेत विवेकलाई नै जडताको वर्को भित्र छुपाएर कसरी मिथ्या भ्रमजाल फैलाउन उद्धत हुदा रहेछन् भन्ने कुरा बुझियो ।

    एक पक्षीय पक्षपोषण र महिमागानले लेखको वस्तुनिष्टता प्रमाणित हुँदैन विनु जी । नेपाली समाजमा व्रतलाई कसरी स्थापित गरिएको छ त्यो महिला हुनुले तपाईंले बेशी बुझ्नु भएकै हो । असल वर, पतिको लामो आयु आदि कै सेरोफेरोमा परिक्रमित छ होइन र हिन्दू संस्कृतिले विकसित गरेका व्रतहरू ?

    स्वास्थ्यको लागि निराहार बस्नु अलग विषय हो । तर, धार्मिक , पतिको लामो आयुकै कामना गरेर बसिने व्रतहरू आखिर सामन्तवादको अवशेष होइनन् र ?

    लेखमा प्रवाहणको असली चेलो याज्ञवल्क्यको महिमा गान पनि रहेछ । याज्ञवल्क्यको महिमागान गाउनुपूर्व गार्गीलाई उनले प्रयोग गरेको तुच्छ वचनको आलोचना गर्न किन चुक्नु भयो ! के तपाईं पनि गार्गी जस्तै महिला नै होइन र ? राजा जनकको सभामा गार्गीमाथि भएको अपमान र समन विरुद्ध बोल्नु पर्दैन ? के याज्ञवल्क्यले यज्ञ गरे बापत सुन्दरी दासी युवतीहरूलाई गरिएको प्रताडना र शोषणको विरोध हुनु पर्ने होइन र ?

    आफ्नो स्वार्थको लागि समयले असान्दर्भिक र बहिस्कृत गरिसकेको संस्कृतिको यसरी पक्षपोषण गर्नु निकै हास्यास्पद छ ।

    अन्त्यमा तपाईंलाई एउटा सुझाव छ । राहुल साङ्कृत्यायनको “भोल्गादेखि गंगासम्म ” पढ्न नछुटाउनु होला है !

  9. खोजमूलक उपयोगी लेख को लागि लेखिकाज्यु लाई धेरै धन्यवाद! मेरो पनि आंखा खुल्यो।

  10. यो लेख उपदेश प्रकार को भय। हाम्रो मा यस्तो छ उस्तो छ भनेर बयान गरेर अहिले जुन रुप मा ब्रत बस्ने प्रचलन छ त्यस्लाई सहि
    वा गलत ठहर्याउने सकिन्दैन। ब्रत केको लागि बस्ने हो के देवता को नाम मा नै गर्नु पर्ने हो, आफ्नो अवस्था , परीबेश मा गर्ने हो वा कुनै तिथिमिती मा नै गर्नु पर्ने हो, देउता को नै तिथी मिती मा गर्ने भय कुनै सम्प्रदाय सँग मात्र सम्बन्धित हुन्छ । के खानु हुने के नहुने पनि त्यही देवी देउता मा अधारीत् गर्ने होर ? यस्तो कुरा मा पनि ध्यान दिय मा राम्रो हुन्छ । “त्यो बेलाको समाज अनुसार जे गरियो त्यो एकदमै ठीक थियो ।”भन्ने हो भने अहिले त्यो अनुसार अर्कै चलन गरेमा के गलत हुन्छ र ।

  11. सुत्केरीहुनु पुर्व बेबि सावर , ब्या हसनस पुर्व मेन्दी जस्ता नाटक चै गर्नु पर्छ हैन

  12. असाध्यै राम्रो लेख । हाम्रो संकृती मास्नेलाई दनक पनि हो यो ।

  13. ब्रत भन्नुस वा फास्टिङ स्वास्थ्यका लागि उपयोगी नै मानिन्छ तर मानब अस्थित्वमा आएदेखी अहिलेसम्म कसैले पनि नदेखेको कथित देवताको आराधना या उपासनामा निराहार महिलाले मात्र व्रत बस्ने परम्परा अन्धता हो । तसर्थ विभिन्न हिन्दु पर्वहरुमा कथित देउताको नाममा बस्ने ब्रत र स्वास्थ्य उपचारका क्रममा गरिने फास्टिङ फरक हो ।

  14. यो लेख महिला मुक्ति को लागी महिला नै बाधक भए भन्ने जुन आरोप प्रत्यारोप हरु छन म वहाँले यो लेख राम्रो संग मनन गरी पढ्नु भएन यदि मनन गरी पढ्नु भए पश्चात्त तपाईँ हरू ले यो आरोप लगाऊदै हुनुहुन्छ भने तपाईँ हरू ले बुझ्न बिराऊनु भयो यस लेखमा महिला को लागि मात्रै वर्त हो भनेर कहा भनेको छ कुरो के भने आधुनिक बिज्ञापन ले भन्छ फास्टिङ ले मन र शरिर लाई फाइदा गर्दो रहेछ त्यो कुरा हाम्रो पुर्बिय शास्त्र र संस्कृति ले शदियों पहिले भनि सकेको थियो रे अनेकों मुक्ति पाएका पश्चिमी हरू वर्त बस्ने चलन ठिक रहेछ भनेर अहिले भन्दैछन अब बाँकी आफैं बुझौं हजुर

Leave a Reply to ललित चन्द Cancel reply

Your email address will not be published. Required fields are marked *