‘माधव पक्षसँग डिप-लभ छ, चुनावमा कांग्रेससहितको मोर्चा बनाएर ओलीलाई चौथो बनाउँछौं’ (भिडियो) – Nepal Press
प्रचण्डको भाषण

‘माधव पक्षसँग डिप-लभ छ, चुनावमा कांग्रेससहितको मोर्चा बनाएर ओलीलाई चौथो बनाउँछौं’ (भिडियो)

हामीले सदस्यबाट समेत हटाएका ओलीलाई अदालतले सेटिङबाट प्रधानमन्त्री नै कायम गरिदियो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा कांग्रेससहितका सबै दलहरु र एमालेको माधव नेपाल पक्षसँग मोर्चा बनाएर केपी ओलीलाई चौथो स्थानमा झार्ने दावी गरेका छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको शनिबार काठमाडौंमा भएको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा मोर्चा बनाएर एमालेलाई चौथो पार्टी बनाउने बताए ।

अहिले नेपाल पत्रकार महासंघको चुनावमा माओवादीकै पहलमा मोर्चाबन्दी गर्दा राम्रो परिणाम आएको ओलीको समूहलाई चौथो नम्बरमा पुर्‍याउन सफल भएको प्रचण्डको दावी छ । जसपाका नेताहरुसँग पनि माओवादीको वेभ-लेन्थ पहिले देखि नै मिल्दै आएकोले मोर्चा बन्न सक्ने बताए । उनले कांग्रेसँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने दावी गरे ।

प्रचण्डले भने- मोर्चा त बन्छ बन्छ र बनाउनै पर्छ भन्ने लागेको छ । मोर्चा बनाउनेमा चाहिं हामीहरु र नेकपा एमाले भित्रको एउटा पक्ष (माधव नेपाल)सँग मोर्चा त बनिराखेकै छ । अघि भर्खरै म एउटा कार्यक्रममा गएँ कर्मचारीको नेता साथि आउनुभएको थियो उहाँले हामीले भन्दा राम्रो बोल्नुभयो । उतापट्टिको भएपनि । त्यो लभ त गएको छैन नि । अर्कोले डिभोर्स गरिदिएपनि । अर्को जसपाका नेताहरुसँग हाम्रो वेभलेन्थ धेरै नै मिल्छ ।

अहिले मात्रै मिलेको होइन उहिले देखि मिल्दै आएको वेभलेन्थ हो । त्यसकारण त्यहाँ मोर्चा बन्न सक्छ । जसपासँग मोर्चा अर्को पक्षसँग मोर्चा, र नेपाली कांग्रेससँग कम्तिमा सरकारमा सँगै र चुनावी तालमेल भयो भने त्यो पनि ठूलो कुरा हुन्छ । अब अहिले मोहन विक्रमहरुसँग, बैद्यजीहरुसँग पनि एकताको सपना देख्नुत एउटा कुरा हो तर अहिले भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न नी हुँदैन । तर मोर्चा चाहिं बन्छ ।

मोर्चा बन्यो भने जस्तो पत्रकार महासंघको चुनाव भयो त्यसको आव्हान कर्तापनि हामी नै भइयो र मुलभुत रुपमा जितियो देशैभरी र ओलीलाई चौथो नम्बरमा पुर्‍याइएको छ । तपाई हेर्नुहोला चौथो नम्बरमा पु¥याइएको छ । आउने चुनावमा हामीले मोर्चा राम्रोसँग बनाएर हामी त्यसमा इमान्दार भयौं र मेहनत गर्‍यौं भने चौथो नम्बरमा पुग्ने पालो केपीको हो त्यसपछि उनको विघटन शुरु हुन्छ ।’

ओलीले सर्वोच्च अदालतमा सेटिङ गरे

अध्यक्ष प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले नेकपालाई विभाजित गरिदिएको आरोप लगाए ।

प्रचण्डले आफूहरुले पार्टी सदस्यबाटै हटाइसकेका केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले सेटिङबाट प्रधानमन्त्री नै कायम गरिदिएको र पार्टी विभाजन गरेको आरोप लगाए ।

प्रचण्डले भने- ‘समाजवाद निर्माण गर्नका निम्ति विशाल कम्युनिष्ट समर्थक जनतालाई एकतावद्ध गर्न आवश्यक छ । अप्राकृतिक ढंगले विभाजित गरिएको पार्टी पुनर्मिलन गराउनु जरुरी छ ।

प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले विचित्रको फैसला गरी प्रधानमन्त्रीमै राखिदिएको बताए । उनले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको बताए ।

अध्यक्ष प्रचण्डले संसद पुनःस्थापनासम्म आइपुग्दा सकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन विरोधीको रुपमा आएको टिप्पणी गरे । उनले अब केही दिनमा नयाँ सरकार बन्छ भन्नेमा आफू विश्वस्त रहेको समेत बताए ।

झलनाथ-माधवसँग डिप लभ थियो, रुँदै फर्कियौं

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई पार्टीबाट, संसदीय दलबाट कारबाही गरी निकालेको अवस्थामा फेरी अदालतले पार्टी नै विघटन गरेर पुरानै अवस्थामा पुर्‍याईदिँदा समस्या भएको बताए । माधवकुमार नेपाल, झलनाथ खनाल समूहसँग आफ्नो गहिरो माया पिरती भइरहेको बेलामा सर्वोच्च अदालतले डिभोर्स गराईदिँदा अहिले दुःख भइराखेको बताए ।

प्रचण्डले भने, ‘हाम्रो त लभ परिराख्या थियो । दुईवटा पार्टीको त लभ परेर तपाईहरुले देख्नु भयो नी । २८ गतेको आमसभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथ जी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिन्थिएन नी त । लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो ।

कतैबाट पनि मिल्ने कुरा हो त ? अब अहिले दुलहादुलही रुदैं–रुदैं आफ्नो आफ्नो घरमा । त्यसो भएर मैले यसलाई अप्राकृतिक, अस्वभाविक, अनैतिक, गलत र सेटिङमा भयो भनेको छु । लभ गर्नु गल्ती भएको हो त ? हामीले लभ गरेर ठिकै गरेका थियौं मिलाएरै लगेका थियौं । शक्तिलाई कमजोर हुन दिएका त थिएनौं । यसरी बुझ्न पर्‍यो र फेरीपनि कम्युनिष्ट आन्दोलनको एकता आवश्यक छ ।’

प्रचण्डले आफूहरुको एकता अहिले पनि भावनात्मक रुपमा माधव नेपाल पक्षसँगै रहेको बताए ।


प्रतिक्रिया

2 thoughts on “‘माधव पक्षसँग डिप-लभ छ, चुनावमा कांग्रेससहितको मोर्चा बनाएर ओलीलाई चौथो बनाउँछौं’ (भिडियो)

  1. एक्लै भिड्न त हिम्मत पनि हुनुपर्‍यो नि ?

  2. “कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गरेमा आगामी चुनावमा केपी औली चौथो दल हुने र उनको विघटनको यात्रा शुरु हुने”
    “लभ परेको श्रीमान श्रीमतीलाई त अदालतले जबरजस्ती डिभोर्स गरिदिन पाइन्छ ? लभ परिराखेकालाई डिभोर्स गर्ने यो त प्राकृतिक रुपले पनि अन्याय भयो ।कतैबाट पनि मिल्ने कुरा हो त ? अब अहिले दुलहादुलही रुदैं–रुदैं आफ्नो आफ्नो घरमा ।”
    छबिलाल दाहाल, माकुने, झल्लु गोमनको असली हैसियत देखिँदैछ ।
    काँग्रेस, राजपा, मार्झण्ड सबै मिलेर एउटै पार्टी भइ केपीसंग भिडे तिमेरूको २७५ मा ९०।१०० सिट होला, नत्र त प्रमुख प्रतिपक्ष काँग्रेश कै ३०।३५ राजपा १०।१५, माकेकाे ७।१० माकुने झल्लु गोमनको प्रत्यक्षमा ०, समानुपातिकमा ४।५ मा समेटिदैछाै ।

Leave a Reply to जय गुरुङ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर