विष्णुबहादुर मानन्धरले स्वीकार नगरेको माधव नेपालको त्यो ‘प्रिय प्रस्ताव’ – Nepal Press
अबिच्युरी

विष्णुबहादुर मानन्धरले स्वीकार नगरेको माधव नेपालको त्यो ‘प्रिय प्रस्ताव’

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा ‘भेट्रान’ नेता मानिने विष्णुबहादुर मानन्धरको हालै निधन भएको छ । उनको १६ चैतमा निधन भएको थियो। मानान्धरप्रति नेपालका धेरै कम्युनिष्ट नेताहरूले सम्मान व्यक्त गरेका छन् ।

राणाविरोधी २००७ सालको आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनमा मानन्धरको सक्रिय, प्रेरणादायी र उल्लेखनीय योगदान रहेको नेताहरू बताउने गर्छन् । उनीसँग धेरै संगत गर्ने मध्यका एक हुन्, नेकपा (माओवादी केन्द्र)का नेता गणेश साह । नेपाल प्रेससँगको कुराकानीमा साहले उनको व्यक्तित्व र योगदानलाई यसरी स्मरण गरे ।

विष्णुबहादुर मानान्धरसँग मैले राम्ररी काम गरेको २०३६ सालदेखि हो । म २०२७ सालमा मस्कोमा कम्युनिष्ट पार्टीको सदस्य भएँ । २०३१ सालमा नेपाल आएपछि हो, उहाँसँग मेरो संगत बाक्लिएको । २०३६ सालमा जनमत संग्रह घोषणा भयो । त्यतिखेर उहाँ हाम्रो पार्टी (नेपाल कम्युनिष्ट पार्टी–रायमाझी समूह)को महासचिव हुनुहुन्थ्यो । अध्यक्ष भने केशरजंग रायमाझी हुनुहुन्थ्यो ।

२०४८ सालमा नेकपा संयुक्त बन्दा उहाँ महासचिव बन्नुभयो,  म २०५२ मा उपमहासचिव भएँ । म उहाँको मैतीदेवस्थित घरमा केही समय भाडामा पनि बसेको थिएँ । उहाँ सिद्दान्तमा अडिग मान्छे हो । हरेक कुरोलाई वर्गीय र माक्र्सवादी दृष्टिकोणबाट हेर्ने, विश्लेषण गर्ने र त्यो अनुसार निर्णय गरेर अगाडि बढ्ने उहाँको विशेषता हो । सैद्दान्तिक र वर्गीय दृष्टिकोणमा अलि स्पष्ट भएको र तल्लो वर्गको संलग्नतामा जोड दिनुहुन्थ्यो ।

मेरो मूल्यांकनमा उहाँ सादा जीवन, उच्च विचार राख्ने मान्छे हो । उहाँ सम्भ्रान्त परिवारमा जन्मिनु भयो । त्यसपछि राजनीतिमा लाग्नुभयो । उहाँ राणा शासन फाल्न २० वर्षको उमेरमै बन्दुक बोकेर हिँड्नुभयो । त्यसपछि कम्युनिष्ट पार्टीमा आउनुभयो । २०३६ सालमा केशरजंग रायमाझी गाडी चढ्नुहुन्थ्यो, उहाँ साइलकमा हिँड्नुहुन्थ्यो ।

हिँडैर किसानकहाँ जानुहुन्थ्यो । म पनि उहाँसँग गाउँमा निकै हिँडेँ । उहाँ किसानको असली नेता हो । किसानको मर्म बुझ्ने, किसानकहाँ जाने, किसानकहाँ खाने, किसानको कुरा सुन्ने । माक्र्सवादी दर्शनमा मजदुर किसान भन्छ । तर, नेपालमा बढी किसान हो । २००९ सालको किसान आन्दोलन उहाँको नेतृत्वमा भएको हो । २०१५ सालको चुनावमा रौतहट जिल्लाको पार्टी सचिव हुँदाखेरि दुई जना सांसद जिताएको हो उहाँले ।

उहाँ लाभको पदमा कहिले पनि जान खोज्नु भएन । उहाँलाई माथिल्लो सदनमा लैजाने माधव नेपालको ठूलो इच्छा थियो । तर, उहाँ जानु भएन । माधवजीले पनि भन्नुभयो– मेरो प्रयास थियो तर मनाउन सकिनँ । उहाँका जीवनशैली एकदमै खुल्ला र सामान्य खालको थियो ।

उहाँ राजनीतिक रुपमा दुईटा कुरामा बहुत स्पष्ट हुनुहुन्थ्यो । यो मुलुकमा वामपन्थीहरुमा मोर्चागत काम अगाडि बढ्नुपर्छ । उहाँ बाम–प्रजातान्त्रिक मोर्चाको एक मात्र मोर्चाको सायद एक मात्र नेता हो । अनवरतरूपमा त्यसमा लाग्नुभयो ।

वामहरूको संयुक्त मोर्चा बन्नुप¥यो र त्यसले फेरि यहाँका लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नुपर्‍यो । राजनीतिक रुपमा उहाँबारे एक लाइनमा भन्नुप¥यो भने बाम–लोकतान्त्रिक सहकार्यका लागि उहाँ अनवरत लाग्ने मान्छे हुनुहुन्थ्यो ।

अहिलेको कम्युनिष्ट पार्टीहरुले चाहिँ धेरै मोर्चा बनाएका छन् । उहाँ खासगरी पाँच वटा भन्दा धेरै मोर्चा बनाउन हुन्न भन्नेमा हुनुहुन्थ्यो । न किसान मोर्चा, मजदुर मोर्चा, विद्यार्थी मोचा, युवा मोर्चा र महिला मोर्चा । महिला मोर्चालाई प्राथमिकता दिनुहुन्थ्यो र दलित मोर्चालाई पनि अगाडि बढाउनुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो ।

हाल नेकपा (माओवादी केन्द्र)का नेता गणेश साह

२०४६ सालको जनआन्दोलनताका उहाँको निकटतम सहकार्य, विश्वास र सम्मान चाहिँ गणेशमान सिंह कृष्णप्रसाद भट्टराईसँग थियो । सैद्दान्तिक रुपमा चाहिँ गणेशमान र कृष्णप्रसाद भट्टराईसँग निकट सम्बन्ध हो । उहाँ अनवरतरुपमा कांग्रेस र वामपन्थीहरूबीचको सहकार्य, एकता र संयुक्त सरकार बनाउनुपर्छ भन्ने कुरा लागि रहने मान्छे हो ।

जीवनमा असाध्यै साधरण । मैले धेरै चोटी भन्छु–नेता भइसकेपछि, धनी परिवारमा जन्मिसकेपछि आम नागरिक भएर बस्नु भनेको ठूलै तपस्या हो । त्यो उहाँले गर्नुभयो । उहाँ कसैलाई गाली नै गर्नुपर्‍यो भने पनि राजनीतिक भाषामा मात्रै गर्नुहुन्थ्यो । अहिलेको राजनीतिमा अराजनीतिक भाषा प्रयोग भइरहेको छ । उहाँ शब्द तौलेर प्रयोग गर्नुहुन्थ्यो ।

उहाँका सहकर्मीले भन्नुहुन्थ्यो– विष्णुबाबु शब्द चाहिँ सुन जस्तै तौलेर प्रयोग गर्नुहुन्थ्यो । प्रेस वक्तव्य, राजनीतिक प्रतिवेदनमा मिठो भाषा प्रयोग गर्नुहुन्थ्यो । उहाँ उग्रवामपन्थी र दक्षिणपन्थीहरुसँग भने निर्मम हुनुहुन्थ्यो । उग्रवामपन्थ र दक्षिणपन्थको विरोधमा कठोर सैद्दान्तिक अडान लिनुहुन्थ्यो ।

उहाँ तराईतिर घुम्न गएका बेला स्टोभ बालेर खाना पनि आफैं बनाउनुहुुन्थ्यो । उहाँ श्रमको निकै सम्मान गर्नुहुन्थ्यो । त्यत्रो सम्पति हुँदा पनि दालभात आफैं पकाउनुहुन्थ्यो । त्यो बेलाको सायद आदर्श पनि त्यही थियो ।

पहिले पार्टीले चिठी पत्र, सर्कुलर पठाउनुपर्‍यो भने कार्वन लेखेर पठानुपर्थ्याे । उहाँको अक्षर पनि राम्रो थियो । पार्टीको परिपत्र, सर्कुलर, दस्तावेज उहाँ कार्वन राखेर लालटिन बालेर रातभर लेख्नुहुन्थ्यो । उहाँको मेहनतीको प्रतिक हुनुहुन्थ्यो । अहिले कार्वनमा लेख्ने जमाना पनि गयो । अहिले पार्टीले पनि इमेलबाट पत्र पठाउँछ ।

नेताहरुको जीवन शैली हजार भाषण भन्दा शक्तिशाली हुन्छ भनिन्छ । त्यसैले नेताहरूको जीवनशैली तकडभडकपूर्ण हुनुहुँदैन । धेरै सुरक्षाको घेरामा बस्नु हुँदैन । यो उहाँबाट अहिलेका नेताहरुले सिक्नुपर्छ ।

अर्को उहाँबाट सिक्नुपर्ने कुरा के भने, दार्शनिक अध्ययन समय समयमा गरिरहनुपर्छ । उहाँ सात/आठ महिना अगाडिसम्म पनि अखबार पढिराख्नुहुन्थ्यो । अखबार पढेरै उहाँले नेकपा भित्रको विवाद हेरेर यो कम्युनिष्ट आन्दोलन कता जाँदै छ भनेर चिन्ता गर्नुहुन्थ्यो ।

उहाँले मसँग कहिले हिन्दी, कहिले नेपालीमा कुरा गर्नुहुन्थ्यो । उहाँ बहुभाषिक पनि हो । उहाँले भारतमै पढेर उतै बिहे गरेको कारण हिन्दी, भोजपुरी पनि बोल्नुहुन्थ्यो । नेपाली, अंग्रेजी, नेवारीमा त झन् पोख्द भइ नै हाल्नुभयो ।

मार्क्सवादको मूल दर्शनबाट कम्युनिष्टहरु विचलित हुनुहुँदैन भन्नुहुन्थ्यो । परिमार्जन गर्नुपर्छ, त्यो समय अनुसार हुन्छ तर, मूल दर्शनबाट निर्देशित हुनुपर्छ भन्नेमा उहाँको जोड थियो । उहाँको अध्ययन पनि राम्रो थियो । कुनै नयाँ किताव आयो भने उहाँले संग्रह गरिहाल्नुहुन्थ्यो ।

सारमा उहाँ साधा जीवन र उच्च विचार राख्नुहुन्थ्यो । बैचारिक, सैद्दान्तिक र दार्शनिक विषय पढिराख्नुपर्छ भन्नेमा पनि उहाँको जोड थियो ।


प्रतिक्रिया

One thought on “विष्णुबहादुर मानन्धरले स्वीकार नगरेको माधव नेपालको त्यो ‘प्रिय प्रस्ताव’

Leave a Reply to Phadindra Roshan Dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर