गतवर्ष कार्यान्वयन नभएका योजना सम्पन्न गर्दै बुटवल उप-महानगरपालिका – Nepal Press

गतवर्ष कार्यान्वयन नभएका योजना सम्पन्न गर्दै बुटवल उप-महानगरपालिका

रुपन्देही । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ का कारण गतवर्ष कार्यान्वयन हुन नसकेका अधिकांश योजना यस वर्ष सम्पन्न गर्ने भएको छ ।

महामारीका कारण उपभोक्ता समितिमार्फत् सम्पन्न हुन नसकेका योजनाको कार्यान्वयनमा जोड दिएको उपमहानगरले ९० प्रतिशत योजना पूरा गरिसकेको जनाएको छ । तर आगामी आर्थिक वर्षका योजना भने सम्पन्न हुनेमा चुनौती देखापरेको छ ।

आर्थिक वर्ष सकिन ३ महिना बाँकी रहँदा हालसम्म ५० प्रतिशत योजना मात्रै सम्झौता भएर कार्यान्वयका लागि अघि बढेका छन् । फागुन मसान्तसम्म सबै योजना सम्झौता गरी कार्यान्वयमा जाने लक्ष्य महानगरको थियो ।

उपमहानगरमा २ सय ८९ योजना गत वर्षका छन् भने यो वर्ष ४ सय १९ योजना स्वीकृत भए । कूल ७ सय ८ योजनामध्ये ४ सय ३३ योजना कार्यान्वयनका चरणमा छन् । ती मध्ये २ सय ४९ योजना सम्पन्न भएका छन् । निर्माण कम्पनीहरूबाट कार्यान्वयन गर्नका लागि ८३ वटा योजना सम्झौता भएका छन् ।

उपभोक्ता समितिहरूबाट कार्यान्वयनका लागि ३ सय ५० योजना सम्झौता भएका छन् ।

प्रवक्ता रामप्रसाद रेग्मीले उपभोक्ता समितिमार्फत् हुने योजना बाहेकका सबै योजना सम्झौता भइसकेकाले पूँजीगत खर्चमा लक्ष्य प्राप्ति हुने बताए । आर्थिक वर्षको अन्त्यतिर पूँजीगत खर्च ह्वात्तै बढ्ने पुरानै प्रवृत्ति यो वर्ष पनि देखिने भएको छ । उपमहानगरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष सकिन ४ महिना बाँकी रहँदा पूँजीगत खर्च २८ प्रतिशत मात्रै भएको छ ।

विनियोजित सोही अवधिमा पूँजीगत खर्च हुने अनुपात गत वर्षको तुुलनामा भने केही बढी हो । फागुन मसान्तसम्म गत वर्ष पूँजीगत खर्च २६ दशमलव ९८ प्रतिशत भएको थियो । उपमहानगरले चालु खर्च कम गर्ने लक्ष्य अनुरुप यो वर्ष गत वर्षको तुलनामा ४ दशमलव शून्य २ प्रतिशतले कमी ल्याएको छ ।

गत वर्ष फागुन मसान्तसम्म चालु खर्च ४१ दशमलव ६६ प्रतिशत रहेको थियो भने यो वर्षको सोही अवधिमा ३७ दशमलव ६४ प्रतिशत भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर