कांग्रेसमा बिँड तात्यो, ताप्के तातेन – Nepal Press

कांग्रेसमा बिँड तात्यो, ताप्के तातेन

देउवालाई प्रधानमन्त्री बनाउन रामचन्द्रको हुटहुटी !

काठमाडौं । कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका मुख्य प्रतिस्पर्धि हुन् वरिष्ठ नेता रामचन्द्र पौडेल । पार्टीभित्र विभिन्न मुद्दामा देउवासँग अनवरत संघर्ष गर्दै आएका रामचन्द्र अहिले उनै देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति रुचीका साथ लागिपरेका छन् ।

चौतर्फी दवावपछि नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्वका लागि पहलकदमी लिने निर्णय गरेको थियो । पार्टीलाई सो निर्णयमा पुर्याउनमा पनि देउवाभन्दा बढी रामचन्द्रकै भूमिका रहेको मानिएको छ । देउवा यो विषयलाई छलफलमा ल्याउनै तयार थिएनन् ।

शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस बैठक ५ घण्टासम्म सुरु हुन सकेको थिएन । यसको मुख्य कारक थिए वरिष्ठ नेता पौडेल । सोही बैठकबाट वर्तमान सरकारको विकल्प खोज्ने निर्णय लिनुपर्ने अडान पौडेलले राखेका थिए । बैठकबाट महाधिवेशन कार्यतालिका हेरफेर मात्रै गराउने पक्षमा रहेका देउवा अन्ततः सरकारको विकल्प खोज्ने निर्णयमा सहमत भए ।

‘सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ’ कांग्रेसले पारित गरेको प्रस्तावमा उल्लेख छ ।

पार्टीले यस्तो निर्णय लिइसकेपछि पनि देउवा खासै उत्साहित देखिएका छैनन् । उनले नयाँ सरकार निर्माणका लागि दुई दिनसम्म कुनै औपचारिक पहल पनि थालेका छैनन् । राजनीतिक परिस्थितिलाई अझै ‘पाक्न दिने’ उनको रणनीति देखिएको छ । यता रामचन्द्र चाहिँ उत्साहका साथ दौडधुपमा छन् । ‘बिँड तात्यो ताप्के तातेन’ भन्ने उखान कांग्रेसमा चरितार्थ भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवा प्रधानमन्त्रीका मुख्य दावेदार हुन् । सत्ता राजनीति दिग्गज खेलाडी देउवा अहिले यसरी उदासिन देखिनु आफैंमा अनौठो हो । ‘प्रधानमन्त्री बन्नकै लागि मरिहत्ते नगर्ने’ उनले भनिरहेका छन् ।

यता, वरिष्ठ नेता पौडेल प्रधानमन्त्रीका दावेदार होइनन् । संसद सदस्य नरहेकाले अब बन्ने सरकारमा उनी प्रधानमन्त्री बन्ने सम्भावना शून्य छ । तर, पनि उनी नयाँ सरकार बनाउने विषयमा अस्वभाविक उत्साही देखिन्छन् । उनले हिजो जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटेर छलफल गरे । पौडेल–ठाकुर छलफल वर्तमान सरकार हटाउने र नयाँ सरकार बनाउने विषयमै केन्द्रित थियो ।

‘कांग्रेसले ओली सरकार हटाउने निर्णय लिएको छ । यसमा जसपाको साथ रहनुपर्यो,’ पौडेलले महन्थसँग भनेका थिए । जवाफमा ठाकुरले कांग्रेससंग सहकार्य गर्न कुनै अप्ठ्यारो नभएको तर आफूहरुका केही शर्त रहेको बताए ।

‘हाम्रा केही मागहरु छन् । त्यसबारे कांग्रेसको धारणा के हो ? हामी सहकार्य चाहन्छौ तर हाम्रो एजेण्डाबारे कांग्रेस स्पष्ट हुनुपर्यो’, ठाकुरको भनाई थियो ।

भेटमा ठाकुरले कांग्रेस सभापति देउवाले पनि राजनीतिक छलफल र अविश्वास प्रस्तावको अग्रसरता लिनुपर्ने बताएका थिए । कांग्रेस एक्लैले नयाँ सरकार बनाउन नसक्ने भन्दै ठाकुरले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गर्नु अस्वभाविक भएको बताए ।

‘यो सरकार हटाएपछि बहुदलीय गठबन्धन सरकार बन्ने हो । त्यस्तो सरकारको नेतृत्वमा हाम्रो पनि दावी रहन्छ’, ठाकुरको भनाई थियो ।

वरिष्ठ नेता पौडेलले पार्टीको निर्णय कार्यान्वयन गराउन आफूले अग्रसरता लिएको बताए ।

‘मैले महन्थजीसंग नयाँ सरकार गठनबारे छलफल गरेँ । छलफल सकारात्मक छ,’ पौडेलले नेपाल प्रेससँग भने ।

देउवा किन चुपचाप ?

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा कांग्रेसले आफ्नो राजनीतिक अडान स्पष्ट पारिसकेकोले अब अरु दलहरुको निर्णय पर्खिएको बताउँछन् ।

‘हामीले अहिलेको सरकार हटाउने र आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छौं । हाम्रो निर्णयबारे सबै दलहरुको धारणा बुझेपछि छलफल अगाडि बढ्छ’, शर्माले भने ।

उनले माओवादीले कांग्रेसको निर्णयको स्वागत गरेपनि जसपाको निर्णय अझै नआएको बताए । अनौपचारिक तहमा राजनीतिक संवाद भएर सहमति बनेपछि मात्रै औपचारिक छलफल र अविश्वास प्रस्तावको तयारी हुने शर्माको भनाई थियो ।

‘अहिले नै सभापतिजीले पहल लिनुभएन भन्नु हुँदैन । सरकार हटाउन राजनीतिक र संवैधानिक दुवै प्रक्रिया पूरा गर्नुपर्छ । कांग्रेस त्यसमा सक्रिय रहन्छ’ शर्माले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर