चेम्बर अफ कमर्समा नयाँ नेतृत्वको दौड, अध्यक्षमा मल्ल ‘निर्विरोध’ – Nepal Press

चेम्बर अफ कमर्समा नयाँ नेतृत्वको दौड, अध्यक्षमा मल्ल ‘निर्विरोध’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को अध्यक्ष पदमा राजेन्द्र मल्ल निर्विरोध भएको बताइएको छ ।  आगामी चैत २८ गते  हुने निर्वाचनका लागि मल्ल अध्यक्ष पदका लागि निर्विरोध भएको एनसीसीले बताएको छ । नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा ५५ पदका लागि ६१ जनाले उम्मेदवारी दिएका छन् ।

चेम्बरको अध्यक्षमा हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको मात्र उम्मेदवारी दर्ता छ । चेम्बरको नयाँ अध्यक्षको लागि करिब सहमति भइसकेको मल्लले बताएका छन् । ‘अध्यक्षमा अरुले उम्मेदवारी नदिएकाले मेरो पक्षमा सहमति भइसकेको छ,’ मल्लले भने ।

चेम्बरका वर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि अध्यक्ष पदमा सहमति भइसकेको बताए । सहमतिमै जाने भएपछि चेम्बरको चैत २६ र २७ गते हुने साधारणसभामार्फत् अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्ने बताइएको छ ।

चेम्बरमा वाणिज्यतर्फ १५ पदका लागि १८ र उद्योगतर्फ ९ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । जिल्लातर्फ १५ पदका लागि १५ जना र वस्तुगत संघतर्फ ९ पदका लागि ९ जनाले मात्रैले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, द्वि–राष्ट्रिय संस्थागततर्फ ३ पदका लागि ३ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । नगरतर्फ १ पदको लागि १ जनाले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । आबद्धतर्फ ४ जनाको नाम दर्ता भएको चेम्बरले जनाएको छ  ।

चेम्बरको नेतृत्वमा अएपछि निजी क्षेत्रको समस्या समाधानमा केन्द्रित रहने मल्लले बताएका छन् । त्यसैगरी नेपालमा उपभोग्य वस्तु उत्पादन गर्ने उद्देश्यले काम गर्ने उनको योजना छ । ‘करको दायरा वृद्धि गर्न सरकारलाई सहयोग गर्नेछौं ।

सबै प्रकारका उद्योग स्थापना र भएका उद्योगको समस्या समाधानको लागि काम गर्ने छौं । व्यापारमा भएको समस्या समाधान गर्दै अगाडि बढ्ने लक्ष्य छ,’ उनले भने ।

आयातमुखी व्यापारले देशको अर्थतन्त्रमा नै समस्या पारेकाले त्यसको निराकरण गर्न चेम्बर लागिपर्ने उनले बताए ।२००७ सादलमा स्थापना भएको एनसीसी नेपालको सबैभन्दा पुरानो वाणिज्य संगठन हो । संगठनले २०१२ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।

संगठनले सरकारलाई वित्तीय, औद्योगिक र वाणिज्य नीति नियम तर्जुमा गर्न सल्लाह र सुझाव दिने गरेको छ । चेम्बरले निजी क्षेत्र र सरकारबीच पुलको काम गरिरहेको छ ।

चेम्बरले प्रदेश, जिल्ला तथा नगरमा चेम्बर अफ कमर्स, वस्तुगत संघ, आबद्ध संघ लगायत द्वि–पक्षीय वाणिज्य तथा उद्योग संघहरूको नेतृत्व गर्दै आएको छ । चेम्बरले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्ससंग आर्थिक गतिविधि विस्तार गर्न समझदारी समेत गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर