धर्मराज रेग्मीको पद रिक्त गर्न प्रदेशसभा सचिवालयमा माओवादी केन्द्रको सूचना – Nepal Press

धर्मराज रेग्मीको पद रिक्त गर्न प्रदेशसभा सचिवालयमा माओवादी केन्द्रको सूचना

सभामुख भन्छन्- पत्र प्राप्त भएको छ,कानुन बमोजिम अघि बढ्छ

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभाका सदस्य धर्मराज रेग्मीले दल त्याग गरेर एमालेमा प्रवेश गरेको सूचना प्रदेशभा सभा सचिवालयमा दिएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड र प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले पार्टी तथा दलको तर्फबाट गरेका निर्णय र आवश्यक कागजातसहित सचिवालयमा दिइएको हो ।

दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य रेग्मी साबिक नेकपा विभाजनका बेला केपी ओली पक्षमा लागेका थिए । उनी सर्वोच्चको फैसलाले माओवादी केन्द्र ब्युँताएपनि प्रचण्डसँग नलागी ओली पक्षमै रहने घोषणा गरेका थिए ।

रेग्मीले पदको माया नभएको भन्दै एमालेमै रहने निर्णय गरेपछि उनलाई एमालेले कर्णाली प्रदेश कमिटीको सचिव बनाएको छ । रेग्मीको प्रदेशसभा सदस्य पद रिक्त गराउन माओवादीले दल त्याग सम्बन्धी सूचना दिएको हो ।

यसैबीच सभामुख राजवहादुर शाहीले सचिवालयमा पत्र दर्ता भएको र दल सम्बमन्धी ऐन अनुसार कानुनी रुपमा अघि बढाइने बताए ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार कुनै सांसदले वा प्रदेशसभा सदस्यले दल त्याग गरेर अर्को दलको सदस्यता लिएमा पद रिक्त हुने भनेको छ । रेग्मीको पद रिक्त भएमा कर्णालीमा माओवादीको १२ सिट कायम रहनेछ भने एमालेको २० सिट छ ।

प्रदेश सरकारको मुख्यमन्त्रीबाट शाहीलाई हटाएर एमालेको सरकार बनाउन पहल सुरु भइसकेको छ । यमलाल कडेल एमाले संसदीय दलको नेता छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर