महेशराज पन्तको पुस्तकालयरूपि घर, जहाँ राष्ट्रपतिले दुई घन्टा बिताइन् – Nepal Press

महेशराज पन्तको पुस्तकालयरूपि घर, जहाँ राष्ट्रपतिले दुई घन्टा बिताइन्

राष्ट्रपति मेरो घरमा आउनु गौरवको क्षण : महेशराज

काठमाडौं । देशकै सर्वोच्च ओहोदामा रहेको व्यक्ति भेटवार्ताका लागि कसैको नीजि निवासमा विरलै पुग्ने गर्छन् । राष्ट्रपति विद्यादेवी भण्डारी आज एकै दिन इतिहासकार महेशराज पन्त र पूर्वप्रधानमन्त्री झलनाथ खनालको घरमा पुगिन् ।

डल्लुमा महेशराज र झलनाथका घर आमने-सामने छन् । सञ्चारमाध्यममा राष्ट्रपति र झलनाथको भेटवार्ताले चर्चा पायो । अहिलेको पेचिलो राजनीतिक सन्दर्भमा उक्त भेटघाटलाई लिएर सञ्चारमाध्यमको चासो स्वभाविक पनि थियो । यसलाई विभिन्न राजनीतिक अर्थ पनि लगाइयो । तर, राष्ट्रपति भण्डारी बाटो परेकाले शिष्टाचारवश मात्रै झलनाथकहाँ पसेकी थिइन् । उनको उद्देश्यमूलक भेटघाट चाहिँ महेशराज पन्तको घरमा थियो ।

पन्तको साढे चार तल्लाको घर आफैंमा एउटा पुस्तकालय/संग्रहालयका रुपमा रहेको छ । घरभित्र आफू बस्नेबाहेक सबै कोठाचोटा महेशराजले पुस्तकै पुस्तकले भरेका छन् । यहाँभित्र थुप्रै प्रकाशित तथा अप्रकाशित कृतिहरु छन् । बाहिर दोस्रो कपि नभेटिने दुर्लभ कागजातहरु यो घरमा रहेको बताउँछन् इतिहास अन्वेषक सुजित मैनाली ।

‘त्यहाँ रहेका धेरै सामग्रीहरु राज्यका निम्ति उपयोगी हुन सक्छन्, तर भविष्यमा नाशिएर जाने खतरा छ,’ उनी भन्छन् ।

यो पुस्तकालय महेशराजले आफ्नो नीजि प्रयास र खर्चमा बनाएका हुन् । पुस्तकालय रेखदेखका लागि आफैंले तलव दिएर ३ कर्मचारी उनले राखेका छन् । इतिहास तथा संस्कृतिका विषयमा जिज्ञासा राख्ने जोकोहीलाई अध्ययनका लागि पुस्तकालय खुला छ । ‘संशोधन मण्डल’ नामक करिब ८० वर्ष पुरानो संस्था अन्तर्गत पुस्तकालय रहेको छ ।

महेशराजका पिता नयराज पन्तले १९९७ मा नेपालको इतिहास तथा संस्कृतिको अध्ययनका निम्ति दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सशोधन मण्डल स्थापना गरेका थिए । बुवाले स्थापना गरेको यस संस्थालाई महेशराजले अहिलेसम्म जीवित राखेका छन् । नेपालको इतिहासका मूल सामग्रीहरुको सबैभन्दा बढी संकलन तथा प्रकाशन यही संशोधन मण्डलले गरेको छ ।

महेशराजले यस संस्थामार्फत पाठशाला पनि सञ्चालन गर्थे । नेपालमा एतिहासिक अभिलेखहरुको अध्ययन तथा विश्लेषण गर्न सक्ने सबैभन्दा सक्षम जनशक्ति यही पाठशालाले उत्पादन गरेको छ । अहिलेका प्रख्यात इतिहास अन्वेषकहरु ज्ञानमणी नेपाल, धनबज्र बज्राचार्य, भोलानाथ पौडेल, शंकरमान राजवंशी, गौतमबज्र बज्राचार्य, दिनेशराज पन्त (महेशराजका भाइ) तथा महेशराज स्वयम् यही पाठशालाबाट खारिएका हुन् । सरकारी स्रोत-साधनसहितको त्रिभुवन विश्वविद्यालय, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालयसँग पनि यो स्तरको जनशक्ति छैन ।

यो पाठशालामा संस्कृति, इतिहास, प्राचीन लिपीहरु, मूर्तिकला, प्राचीन सम्वत, पञ्चाङ्ग आदिको पढाइ हुन्थ्यो । यसको सम्पूर्ण सञ्चालन खर्च नयराज पन्त आफैंले धान्दै आएका थिए । उनी आफैंले इतिहास सम्वन्धी एक दर्जनभन्दा बढी पुस्तक लेखेका छन् । लिच्छवि संवत्का निर्णय नाम पुस्तकका लागि उनले २०४३ सालमा मदन पुरस्कार पाएका थिए । साथै, नयराजले ज्योतिष विषयका १० वटा कृतिहरु प्रकाशित गरेका छन् ।

आर्थिक स्रोतको अभाव तथा सरकारी मान्यता पाउन नसकेपछि नयराजले २०२७/२८ सालपछि पाठशालालाई निरन्तरता दिन सकेनन् । २०५९ सालमा उनको निधन भएको थियो । त्यसयता सशोधन मण्डललाई महेशराजले अघि बढाए ।

महेशराजको पालामा पनि संसोधन मण्डलमार्फत धेरै कामहरु भएका छन् । तथापि, आर्थिक स्रोत अभावले गर्दा पछिल्लो समय सशोधन मण्डल प्रभावकारीरुपमा अघि बढ्न सकिरहेको छैन । यसलाई महेशराजले आफ्नै एकल आर्थिक योगदानमा चलाइरहेका छन् । पुस्तकालय रेखदेख गर्न तीन जना कर्मचारी राखिएको छ । पूर्णिमा नाम जर्नल पनि उनले प्रकाशित गर्दै आएका छन् ।

पुस्तकालयका लागि मासिक ७०-८० हजार रुपैयाँ खर्च हुने गरेको महेशराजले नेपाल प्रेसलाई बताए । सरकारबाट वार्षिक १ लाख रुपैयाँ अनुदान पाउने बाहेक सबै आफ्नै खल्तिबाट खर्च गरिरहेको उनको भनाइ छ ।

‘पुस्तक विक्रीको रोयल्टीबाट खर्च धान्दै आएको छु, तर अहिले निकै गाह्रो अवस्था आइसकेको छ,’ उनले भने ।

राष्ट्रपतिका दुई घन्टा

राष्ट्रपति विद्यादेवी भण्डारीले सशोधन मण्डल र पुस्तकालयका विषयमा जानकारी पाएपछि त्यहाँ पुग्न इच्छुक बनेकी थिइन् । शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयसमेतको समन्वयमा केही दिनको छलफलपछि आज भ्रमण जुरेको हो ।

राष्ट्रपतिसँगै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटा पनि थिए । घरको तल्लो तलामा रहेको बैठक कोठामा राष्ट्रपतिले महेशराजसँग छलफल गरेकी थिइन् भने माथिल्लो तल्लामा उक्लेर पुस्तकालय अवलोकन गरेकी थिइन् ।

संशोधन मण्डललाई त्रिभुवन विश्वविद्यालयसँग जोडेर सहकार्यमा अगाडि बढाउन सकिने विषयमा आज छलफल भएको छ । राष्ट्रपति भण्डारीले महेशराजको योगदानको प्रशंसा गर्दै यस संस्थासँग रहेको विज्ञतालाई राज्यले उपयोग गर्नुपर्नेमा जोड दिएकी थिइन् । यस विषयमा गृहकार्य गर्न उनले शिक्षामन्त्री र उपकुलपतिलाई निर्देशन दिइन् ।

त्रिभुवन विश्वविद्यालयसँग स्रोत साधनसम्पन्न संस्कृति विभाग भए पनि यसले गतिलो जनशक्ति उत्पादन गर्न सकेको छैन । मानदेवको पालाका मात्र होइन, पृथ्वीनारायण शाहको पाला अभिलेखको अध्ययन गर्न सक्ने जनशक्ति समेत त्रिविले उत्पादन गर्न नसकेको इतिहासकारहरु बताउने गर्छन् । यता, संसोधन मण्डलले उत्पादन गरेका इतिहासकारहरु सबै वृद्धावस्थामा पुगिसकेका छन् । उनीहरुपछि नेपालमा इतिहास अन्वेषकको खडेरी हुने अवस्था छ । संशोधनमण्डल र त्रिविबीच तत्काल कुनै किसिमको सहकार्य हुन सके त्यो अभाव पूर्ति हुन सक्ने बताउँछन् इतिहास अन्वेषक मैनाली ।

‘सरकारको सहयोगमा संसोधन मण्डललाई बलियो बनाएर लैजान सकेमा भविष्यमा नयाँ इतिहासकारहरु उत्पादनमा यसले योगदान दिन सक्छ,’ उनले भने ।

राष्ट्रपतिको भ्रमणबाट आशावादी महेशराज

पछिल्लो समयमा आर्थिक समस्याका कारण कठिनाइ झेलिरहेका महेशराज राष्ट्रपतिको भ्रमणबाट केही आशावादी बनेका छन् । देशको राष्ट्रप्रमूख चासो दिएर आफ्नो घरसम्म आउनु नै गौरवको कुरा भएको उनले बताए ।

‘अहिलेसम्म कुनै मन्त्रीले यहाँसम्म पाइला टेकेका थिएनन्,’ उनले भने, ‘आज आफैं रुची देखाएर राष्ट्रपति आउनुभएकोमा खुशी छु । केही आशावादी पनि छु ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल महेशराजका छिमेकी हुन् । छिमेकीको रुपमा राम्रो सम्वन्ध भए पनि झलनाथले आफ्नो पुस्तकालयलाई लिएर अहिलेसम्म कुनै खोजिनीति नगरेको महेशराजले बताए ।

‘उहाँ मन्त्री र प्रधानमन्त्री हुँदा न मैले उहाँसँग कुनै कुरा राखेँ, न उहाँले कुनै चासो दिनुभयो,’ पन्तले भने ।

आज राष्ट्रपति मात्र नभएर शिक्षामन्त्री र उपकुलपति पनि आउनुभएकाले अब पक्कै केही होला भन्ने उनको अपेक्षा छ ।

प्रतिक्रिया

One thought on “महेशराज पन्तको पुस्तकालयरूपि घर, जहाँ राष्ट्रपतिले दुई घन्टा बिताइन्

  1. नेपालको इतिहास नेपाली तथा संस्कृत भाषा संग अपरिचितले प्राप्त अभिलेख बुझि नबुझी देशीले ज्ञात अज्ञात रूपमा तयार गरिएको स्रोत सामग्रीलाई नै आधार मानेर नेपालका तथाकथित इतिहासकारका इतिहासमा प्रामाणिकता मात्र होइन सत्यता पनि नरहेकोले अवस्थामा व्यक्तिगत परिश्रम र आफ्नै स्रोतको आधारमा इतिहासकार ज्योतिषका धुरन्धर विद्वान प्रातस्मरणीय नयराज पन्तले अनुसन्धान प्रारम्भ गर्नुभएको थियो।
    विदेशी प्राविधिक सहाताको नाममा अन्वेषण गर्ने डलरी प्राज्ञको कोपभाजन समेत बन्दा पनि विचलित नरहेर पिताजीबाट प्रारम्भ गरिएको नेपालको सच्चा इतिहास लेखनलाई निरन्तरता दिनुहुने विद्वान महेशराज पन्त वन्दनीय हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ