डेढ दशकमा पनि खुलेन चौकुने सिमेन्ट, बिजुली नहुँदा आयोजना प्रभावित – Nepal Press

डेढ दशकमा पनि खुलेन चौकुने सिमेन्ट, बिजुली नहुँदा आयोजना प्रभावित

काठमाडौं । चौकुने गाउँपालिका–६ का ७० वर्षीय कमल वयकले आफ्नो क्षेत्रमा सिमेन्ट उत्पादन भएको हेर्न पाउने आशा डेढ दशकअघि राखेका थिए । तर अहिलेसम्म चौकुने सिमेन्ट उद्योग सञ्चालनमा नआउँदा उनको आशा मरिसकेको छ ।

‘हाम्रै गाउँमा भएको चुनढुङ्गाबाट सिमेन्ट कसरी बन्दो रहेछ हेर्ने धोको थियो । त्यो पूरा होला कि भन्ने आशा लाग्न छाडेको एक दशक बढी भयो,’ वयक सुनाउँछन् ।

सरकारले मुक्ति श्री प्रालिसँग चार वर्षभित्रमा काम सुरु गर्ने करिब १५ वर्षअघि लाइसेन्स दिएको कुरा उनले रेडियोबाट सुनेका थिए । पाँच वर्षभित्र खुल्छ भनेको कारखाना अहिलेसम्म नखुलेको उनको गुनासो छ ।

गुट्टुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले सरकारसँग इजाजत लिएको डेढ वर्ष बित्यो । तर अहिलेसम्म उत्पादनका काम नहुँदा वयक जस्तै धेरै स्थानीय असन्तुष्ट छन् ।

करिब ९ अर्ब रुपैयाँको लागत लाग्ने अनुमान गरिएको सिमेन्ट उद्योग सञ्चालन भएमा दैनिक २ हजार मेट्रिकटन सिमेन्ट उत्पादन हुने र धेरैले रोजगारी पाउने आशा स्थानीयको थियो ।

‘सिमेन्ट उद्योगको क्षेत्रफल ४ वर्ग किलोमिटर रहेको छ । निर्माण सुरु भएमा चौकुनेलाई मुलुककै ठूलो सिमेन्ट कारखाना हुन्थ्यो । त्यसबाट यस क्षेत्र मात्रै नभई तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रकै मुहार फेरिने आशा देखेका थियौं,’ वयक सुनाउँछन् ।

दुई वर्षअघि कम्पनीका सञ्चालक अजयराज सुमार्गी वीरेन्द्रनगरमा पुगे । स्थानीय होटलमा उनले पत्रकार सम्मेलन मात्रै गरेनन्, प्रदेशका सरकारका प्रतिनिधि, पत्रकार, उद्योगी व्यापारी लगायतको उपस्थितिमा आश्वासन दिएका थिए– केही महिनामा नै उत्पादन सुरु गर्छौं भनेर । तर, त्यो प्रतिबद्धता अहिलेसम्म पनि कार्यान्वयन भएको छैन ।

‘अजय सुमार्गी देशकै प्रतिष्ठित उद्योगीले नै आयोजना डेढ दशकसम्म होल्ड गरेर राख्नु राम्रो होइन,’ स्थानीय मनोज शाही भन्छन्, ‘कि तत्काल सुरु गर्नुपर्छ, नभए आयोजना निर्माण जिम्मा अर्कोलाई दिनु पर्ने मैले देखेको छु ।’

पटक-पटक म्याद थप्न कम्पनीले विभिन्न नाटक रचिरहने उनले बताए । कम्पनीले अहिले केही दिन पहिले स्थानीयको जग्गा अधिग्रहण गरेको थियो । ‘म्याद थप्नका लागि यसअघि कम्पनीले यस्ता धेरै नाटक गरेको हामीले देखेका छौं,’ उनी शाहीले भने ।

सरकारले उक्त कम्पनीको लाइसेन्स खारेज गरेर अर्को कम्पनीलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ ।

काराखाना सञ्चालन नगरे अर्कोलाई लाइसेन्स देऊ : महासचिव कँडेल
सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले कम्पनीप्रति भर मान्ने समय धेरै घर्किसकेको बताए । ‘यसअघि हामीले तत्काल कारखाना सञ्चालन गर्न भनेर कम्पनीलाई घच्घच्याउँदै आइरहेका थियौं । कम्पनीले यसलाई गम्भीरताका साथ लिएन,’ महासचिव कँडेलले भने, ‘अहिले एक दुई जनाको जग्गा कम्पनीको नाउँमा लिने प्रक्रिया सुरु भएको भन्ने सुनेका छौं । यसबाट कम्पनीले कारखाना सञ्चालन नै गर्छ भन्नेमा ढुक्क छैनौं ।’

पाँच हजार भन्दा बढीले रोजगारी पाउने र कर्णालीको ब्राण्ड देश विदेशमा स्थापित हुनसक्ने नेपालकै ठूलो कारखाना बनाउन सरकारले हस्तक्षेप गर्नुपर्नेमा उनको जोड छ ।

कम्पनी भन्छ– बिजुली नपुगेसम्म सञ्चालन गर्न समस्या
कम्पनीका प्रतिनिधि लोकबहादुर अधिकारीले कार्यालय सञ्चालनका लागि चौकुनेमा ३ रोपनी जग्गा खरिद गरिसकेको बताए ।

उनले सिमेन्ट कारखाना सञ्चालनका लागि चौकुने गाउँपालिकाकै सुनाकाँडमा करिब ४ सय रोपनी जग्गा खरिदको अन्तिम तयारी रहेको बताए ।

‘हामीले अहिले जग्गा खरिदको काम सुरु गरेका छौं,’ उनले भने, ‘त्यसका अलावा खानी क्षेत्रमा घर बनाउने काम एक महिनामा नै सुरु गर्छौं ।’

कम्पनीले चाहेर मात्रै उद्योग सञ्चालन गर्न नसकिने उनको भनाइ थियो । ‘त्यहाँ बिजुली अहिले पनि पुगेको छैन । हात खुट्टाले मेसिन चलाउन मिल्दैन,’ उनले भने, ‘राज्यले कम्तिमा आवश्यक पूर्वाधार निर्माण गर्न ध्यान दिनुपर्‍यो नि ? अनिमात्र कम्पनीले कामै गर्न सकेन भनेर भन्ने अवस्था आउँछ ।’

उनले कारखाना सञ्चालनका लागि १२ मेघावाट बिजुली आवश्यक पर्ने बताउँदै पश्चिम सुर्खेतमा नपुगेसम्म कारखाना सञ्चालन गर्न समस्या हुने जिकिर गरे ।

‘हामी सरकारसँग गरेको सम्झौता अनुसार काम गर्न तयार छौं । सरकारले पनि न्यूनतम कुरा पूरा गरिदिनुपर्‍यो नि ?’ उनले भने, ‘खानी क्षेत्र चौकुने गाउँपालिका अन्तर्गत चौकुने, कुवा, खोप्री, थरेलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी ११ हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाका लागि कम्तीमा एक हजार ३ सय ८० रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । त्यो काम हामी गर्छौं ।’

उनले कम्पनीले कारखाना खोल्ने र त्यहाँका नागरिकलाई धोका नदिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *