देउवाले नमाने कांग्रेसबाटै अर्को प्रधानमन्त्री उम्मेदवार खोज्न पौडेलको प्रस्ताव – Nepal Press

देउवाले नमाने कांग्रेसबाटै अर्को प्रधानमन्त्री उम्मेदवार खोज्न पौडेलको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री बन्न सभापति शेरबहादुर देउवा अनिच्छुक भए कांग्रेसकै अन्य नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा यसबारे प्रस्ताव लैजाने पौडेलको तयारी छ । पौडेल पक्षका नेताहरुबीचको छलफलबाटै प्रधानमन्त्री नबन्ने भए देउवाको विकल्प दिनुपर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजान लागिएको हो ।

‘प्रमुख प्रतिपक्ष भएरपनि सरकार गठनका लागि उहाँले कुनै पहल गर्नुभएको छैन । यदि उहाँ तयार हुनुहुन्न भने अर्को नेताको नेतृत्वमा सरकार बनाउन पहल गर्नुपर्छ’, पौडेल निकट एक नेताले नेपाल प्रेससंग भने ।

पौडेल पक्षले देउवाको विकल्पमा कसलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने भन्ने तय गरिसकेको छैन । ‘देउवाजीलाई प्रधानमन्त्री बन्न मन छैन भन्दैमा ओलीकै निरन्तरता गर्न सकिन्न ।

देउवाबाहेकका नेता पनि प्रधानमन्त्री बन्न सक्षम छन्’, ती नेताले भने । देउवाको विकल्पमा पौडेल पक्षले महामन्त्री डा।शशांक कोइराला वा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई अघि सार्ने सम्भावना छ । सभापति देउवाले भने नयाँ सरकार गठनका लागि परिपक्व परिस्थिति नबनिसकेको बताउदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर