राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालय सुधार्न गरिएको नौलो प्रयास : प्रधानमन्त्री ओली – Nepal Press

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालय सुधार्न गरिएको नौलो प्रयास : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक जनशक्तिको वैज्ञानिक आंकलन गरी सोहीअनुरुप दक्ष जनशक्ति निर्माण गर्ने नीति लिन शिक्षा सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रमकासम्बन्धी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री निवास बालुृवाटारमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यो निर्देशन दिएका हुन् । ‘हामीलाई कुन क्षेत्रमा कति जना जनशक्ति चाहिने हो भन्ने निर्क्यौलसहितको गुरुयोजना आवश्यक हुन्छ’, प्रधानमन्त्रीको भनाइ थियो ।

शिक्षाका प्रयासलाई त्यसैअनुरुप योजनाबद्ध ढंगले लैजानुपर्ने धारणा पनि उनको थियो । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्रीलाई कार्यक्रममा परेका विद्यालयहरूको विवरण प्रधानमन्त्रीसमक्ष पेश गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विद्यालयका तत्कालिक आवश्यकता र भौतिक पक्षलाई सुधार्न वृहत् स्तरमा गरिएको एउटा नौलो प्रयास भएको टिप्पणी प्रधानमन्त्रीको थियो ।

सरकारले मेलम्ची खानेपानी जस्ता पहिले सुरु भएका योजनालाई सम्पन्न गर्नेदेखि राष्ट्रपति शैक्षिक सुधार जस्तो नवितम् योजना अघि बढाउने सम्मका काम गरिरहेको भनाइ समेत प्रधानमन्त्रीको थियो ।

समाजका कतिपय वर्ग शिक्षा लिनका लागि शिक्षालयसम्म आउने अवस्था नरहेकोले उनीहरूकै स्थानमा शिक्षा लैजानुपर्ने अवस्था रहेको उनले औंल्याए । ‘पशुपालक किसानले दुई दिन पनि तपाईंले तोकेको स्थानमा गएर पढ्ने वा तालिम लिने छुट्टी पाउँदैन, उसैकहाँ शिक्षा दिन जानुपर्छ’, उनले भने ।

सार्वजनिक शैक्षिक संस्थाहरूको गुणस्तर अभिवृद्धि गर्न शिक्षा मन्त्रालयले गत माघमा आवेदन आह्वान गरेको थियो । त्यसअनुसार शिक्षामा प्रविधिको प्रयोग, राष्ट्रपति कार्यालयमा आवेदन दिएका, आगलागीबाट प्रभावित, एचआइभी संक्रमित र अपांगता भएका विद्यार्थी पढ्ने विद्यालयहरू र सरकारले तोकेको प्राथमिकताका आधारमा चार हजार दुई सय ५० विद्यालयलाई राष्ट्रपति शैक्षिक सुुधार कार्यक्रमले समटेको छ ।

यसबाट कक्षा कोठा, शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, प्रयोगशाला तथा पुस्तकालय, नविन प्रविधि, विशेष विद्यालय, भौतिक पूर्वाधार, केन्द्रमा डाटा सेन्टर स्थापना समेत गरी कुल ९ शीर्षकका कार्यक्रमका प्रतिविद्यालय ६ लाख ५० हजारका दरले रकम पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर