गाउँपालिकाको योजना बनाउन जिल्लाबाहिर गएपछि जनप्रतिनिधि आलोचित – Nepal Press

गाउँपालिकाको योजना बनाउन जिल्लाबाहिर गएपछि जनप्रतिनिधि आलोचित

रुपन्देही । अर्घाखाँचीको मालारानी गाउँपालिकाका जनप्रतिनिधि आवधिक योजना बनाउन जिल्लाबािहर पुगेपछि स्थानीय आक्राेशित बनेका छन् ।

स्थानीय सरकारको योजना बनाउन  ९० जना टोलीका साथ बर्दियाको ठाकुरबाबा नगरपालिका पुगेपछि लाखौं रकमको दुरुपयोग भएको भन्दै जनप्रतिनिधिको आलोचना भएको हो ।

स्थानीय तहले आफ्नै क्षेत्रमा बसेर योजना बनाउँदा प्रभावकारी हुनेमा संघीयताको मर्म विपरीत जिल्ला बाहिर गएको मालारानी–३ का स्थानीय दीपक खनालले बताए ।

जिल्लाभित्र गर्न सकिने यस्ता कार्यक्रम बाहिरी जिल्लामा गएर खर्च गर्नाले बजेटको दुरुपयोग भएको मालारानी–३ कै रामकुमार क्षेत्रीले प्रतिक्रिया दिए । ‘यो जनप्रतिनिधिको दम्भ हो, घुम्न जाने बहानामा जम्बो टोली लिएर नागरिकका काम नै प्रभावित हुनेगरी खर्च गर्न पाइँदैन,’ क्षेत्रीले भने, ‘यसको सबै हिसाबकिताब स्थानीयले खोजिरहेका छन्, यहाँका व्यवसायी मतदाता सबैलाई धोका हो ।’

नेकपा एमाले माधव नेपाल समूहका जिल्ला अध्यक्ष तथा स्थानीय रामबहादुर चौहानले योजना बनाउने नाममा बाहिर गर खर्च गर्नु राम्रो नभएको बताए । ‘बर्दियाभन्दा अर्घाखाँची केहीमा कम छैन, तर किन अपमान गरियो हामी जवाफ खोजिरहेका छौं । यसको जवाफ जनताले खोजेका छन्,’ उनले भने ।

सोही क्षेत्रकी सांसद निर्मला शर्माले जिल्लाको बजेट जिल्लामै सदुपयोग गरेको भए राम्रो सन्देश जाने बताइन् । ‘डाँडै काटेर आवधिक योजना बनाउन आवश्यक थिएन, कोभिडको समयमा सरकारले गरेको निर्देशन विपरीत काम गरिएको छ, यसले स्थानीयको अपमान गरेको छ,’ उनले भनिन् ।

गाउँपालिका प्रमुख बालकृष्ण आचार्यले भने ठाकुरबाबासँग अनुभव आदानप्रदानका लागि जिल्लाबाहिर गएको दाबी गरे । उनले जिल्लामा सबै संरचना भए पनि तराईका स्थानीय तहमा नयाँ अनुभव सिक्न गएको बताए । उनले सबै पार्टीको प्रतिनिधित्व भएकाले कसैको विरोध नहुने बताए ।

मालारानीले लुम्बिनी सामाजिक विकास केन्द्रको परामर्शमा ठाकुरबाबामा १८ गतेदेखि देखि २० गतेसम्म गाउँपालिकाको बृहत योजना तर्जुमा तथा दिर्घकालीन सोच तयारी कार्यशाला आयोजना गरेको थियो ।

यो योजना निर्माणका लागि कार्यशाला गोष्ठीमा प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्राडा गोविन्दराज पोख्रेल, लुम्बिनी सामाजिक विकास केन्द्रका विकास विज्ञ हिम्मतसिंह लेकाली, इन्द्रमणि पौडेल, गणेश रावत, कार्यकारी निर्देशक कृष्ण पौडेललगायत सहभागी थिए ।

तिन दिनसम्म सञ्चालन हुने गोष्ठीमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल समेत आउने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर