कर्णालीमा नयाँ वर्षसँगै नयाँ सरकार बनाउने एमालेको तयारी – Nepal Press

कर्णालीमा नयाँ वर्षसँगै नयाँ सरकार बनाउने एमालेको तयारी

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेशमा नयाँ वर्षसँगै माओवादी नेतृत्वको सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ । एमालेका नेताहरुले वैशाख पहिलो साताभित्र आफ्नो नेतृत्वको सरकार बनाउने गरी तयारी भइरहेको बताएका छन् ।

एमाले स्रोतका अनुसार माओवादी नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका तीन मन्त्रीले चैत २२ गते बस्ने एमाले संसदीय दलको बैठकपछि राजीनामा दिने सहमति भएको छ । २२ गतेको दलको बैठकमा माधव नेपाल पक्षका मन्त्री एवम् सांसद पनि सहभागी हुनेछन् ।

‘हामी पार्टीको लाइन भन्दा बाहिर जाँदैनौं । आगामी चैत २२ गते बोलाइएको दलको बैठकमा हामी सबै सहभागी हुन्छौं’, एक मन्त्रीले भने । ती मन्त्रीले नेकपा एमालेका कारण आफूहरु मन्त्री भएको बताउँदै एमालेलाई एकीकृत रुपमा बलियो बनाउँदै लैजान तयार भएको बताएका छन् ।

‘एमालेलाई जनताले चुनाव जिताएका हुन् । एमालेको सरकार बनोस् भन्ने चाहना कर्णालीका नागरिकको छ’, उनले भने, ‘हामीले नचाहँदा नचाहँदै पनि माओवादी केन्द्रलाई मुख्यमन्त्री मानेर जानुपर्ने अवस्था आएको थियो । अब एमालेकै नेतृत्वमा सरकार बन्छ ।’

हाल एमालेको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सरकारमा सहभागी छन् ।

माओवादी केन्द्रको चैत २१ गते संसदीय दलको बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर