बल्देधुरी होली झडप प्रकरण : मृतक परिवारले शव बुझे, ६ आरोपी पक्राउ – Nepal Press

बल्देधुरी होली झडप प्रकरण : मृतक परिवारले शव बुझे, ६ आरोपी पक्राउ

पोखरा । बागलुङको दर्लिङ, बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा मृत्यु भएका ३५ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइका आफन्तीले बुधबार शव बुझेका छन् ।

घटनामा संलग्नलाई पक्राय नगर्दासम्म शव नबुझ्ने अडान मृतक परिवार पक्षले राखेका थिए । घटना घटेको ४ दिनपछि प्रहरीले घटनामा संलग्न भएको आरोपमा बागलुङ दर्लिङका ६ जनालाई नियन्त्रणमा लिएपछिमात्रै पीडित परिवारले शव बुझेका हुन् । ‘अहिले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय बागलुङ प्रवक्ता, डिएसपी इकवाल हवारीले नेपाल प्रेससँग भने, ‘भोलि (बिहीबार)मात्रै उहाँहरुबारे हामी जानकारी दिन्छौं ।’

घटनामा गाउँका अन्य युवाको पनि संलग्नता हुन सक्ने भन्दै पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको डिएसपी हवारीले जानकारी दिए । ‘अरु केही व्यक्ति पनि अझै नियन्त्रणमा आउँछन् । अनुसन्धान जारी छ,’ उनले भने ।

बागलुङ, प्युठान र गुल्मीको सीमानामा पर्ने बागलुङ बडिगाड गाउँपालिका १० दर्लिङमा फागुन २५ गते होली मेलाका क्रममा २ गाउँका युवाबीच झडप भएको थियो । बागलुङ निसीखोला गाउँपालिका ७ राजकुट र दर्लिङका युवाबीच सामूहिक झडप भएको थियो ।

झडपपछि दर्लिङका सबै युवा फरार छन् । आरोपीहरूलाई नियन्त्रणमा लिन प्रहरी गाउँमा परिचालित छ । उक्त झडपमा २ जनाको मृत्यु भएको थियो भने करिब १० जना घाइते भएका थिए । ‘घाइतेहरुको अवस्था सामान्य नै थियो । सामान्य उपचारपछि उहाँहरुको डिस्चार्ज भएर आराम गरिराख्नु भएको छ,’ डिएसपी हवारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर