कर्णाली सरकार जोगाउने अन्तिम प्रयासमा माओवादी – Nepal Press

कर्णाली सरकार जोगाउने अन्तिम प्रयासमा माओवादी

२१ गते दलको बैठक बोलायो

सुर्खेत । माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार जोगाउन अन्तिम प्रयास गरिरहेको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग धर्मराएको प्रदेश सरकार जोगाउन माओवादी अन्तिम प्रयास थालेको हो ।

एमालेको चैत ४ गते बसेको संसदीय दलको बैठकले ५ गतेदेखि नै लागू हुनेगरी मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमालेले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई अविश्वास फिर्ताको पत्र बुझाइसकेको छ ।

समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखले सरकारलाई दुईपटक ध्यानाकर्षणपत्र पठाइसकेका छन् । यद्यपि, मुख्यमन्त्री शाहीले भने आफ्नो सरकार अझै बहुमतकै भएको दाबी गरिरहेका छन् ।

एमालेको माधव नेपाल समूहका नौ जना र नेकपा माओवादी केन्द्रका १३ जना गरी २२ जना सांसदको सर्मथन कायमै रहेको मुख्यमन्त्री शाहीको दावी छ ।

कर्णाली प्रदेशसभामा सभामुखसहित एमालेको २० सीट छ । एमालेको संसदीय दल बैठकमा माधव नेपाल पक्षधर सांसदले पनि दलकै निर्णय मानेर अघि बढ्ने बताइसकेका छन् । माधव नेपाल पक्षधर सांसद देवी ओली भन्छिन्– हामी एमालेकै सरकार बनाएर अघि बढ्ने कुरामा प्रष्ट छौं ।

पछिल्लो पस्थितिमा सरकार जोगाउने रणनीति बनाउन माओवादीले चैत २१ गते दलको बैठक बोलाएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले भनिन्– हामी संविधानअनुसार अघि बढ्छौं । आगामी प्रदेशसभाको बैठकमा विश्वासको मत जित्ने गरी तयारी गर्छौं ।

नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेलले दलले सर्मथन फिर्ता लिइसकेको बताउँदै सदन बोलाउने र कसरी अघि बढ्ने भन्ने कुरा सरकारमै निर्भर रहेको बताए ।

कर्णाली प्रदेश सभामा ४० सांसद छन् । तीमध्ये एमालेका २०, माओवादीका १३, काँग्रेसका ६ र राप्रपाका एक सांसद छन् । माओवादी केन्द्रबाट संसद रहेका धर्मराज रेग्मी एमालेमा प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *