कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा परेको प्रदेश प्रमुखको जनाउ – Nepal Press

कर्णालीका मुख्यमन्त्री शाही अल्पमतमा परेको प्रदेश प्रमुखको जनाउ

काठमाडौं । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमाले स‌ंसदीय दलले दिएको समर्थन फिर्ताबारे ध्यानाकर्षण गराएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेर एमालेले समर्थन फिर्ता लिएको अवस्थामा मुख्यमन्त्री शाही अल्पतमा परेको जनाउ दिएको हो । कर्णालीमा माओवादी नेतृत्वको सरकार छ ।

प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलको हस्ताक्षरमा जारी विज्ञप्तिमा चैत ५ देखि लागू हुने गरी मुख्यमन्त्रीमाथि समर्थन फिर्ता गर्नेबारेको एमाले प्रदेशसभा संसदीय दलको पत्र ५ गते जानकारी गराइसकिएकोमा प्रदेश प्रमुखको आदेशानुसार नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा ध्यानाकर्षण-पत्र प्रेषित गरिएको उल्लेख छ ।

एमालेको संस्थापन पक्षले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर पत्रसमेत बुझाइसकेको अवस्थामा शुरूमा माधव नेपाल पक्षधर सांसदहरू सहमत नदेखिए पनि पछिल्लो विकास क्रममा दुवै पक्षका सांसदहरू सरकार ढाल्न एक ठाउँ उभिएको स्रोतले बताएको छ ।

मुख्यमन्त्री शाहीले भने सदनबाट विश्वासको मत जित्ने दाबी गर्दै आएका छन् ।

अन्यौलमा प्रदेशसभा बैठक

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अहिलेसम्म बस्न सकेको छैन । सभामुख राजबहादुर शाहीले सरकारले सिफारिस गरेर प्रदेश प्रमुखबाट आव्हान भएपछिमात्र बैठक बस्ने भएकोले सदन बस्नेबारे अन्योल भएको हो ।

प्रदेशसभा नियमावली अनुसार अधिवेशन अन्त्य भएको ६ महिनाभित्र बैठक बोलाउनुपर्नेछ । कर्णाली प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य भएको वैशाख ८ गते ६ महिना पुग्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर