रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो) – Nepal Press

रंगशालामा केपी ओलीको ‘ह्यान्ड सेक’ र राष्ट्रिय टिमको ‘केपी बा क्रेज’ (भिडियो)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजकाल जतासुकै छाइरहेका छन् । हरेक दिन विभिन्न कार्यक्रममा रसिला भाषण गरेर ‘टिकटक कन्टेन्ट’ दिने ओली हिजो फुटबल मैदानमा देखापरे । त्यहाँ उनले त भाषण गरेनन्, तर पनि टिकटक कन्टेन्टको कमि भएन ।

दशरथ रंगशालामा हिजो थ्रि नेसन्स कप अन्तरगत नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न पुगेका थिए ओली । त्यहाँ देखिएका दुईवटा दृष्य चर्चा योग्य छन् । पहिलो, ओलीले खेलाडीहरुसँग गरेको ह्यान्डसेक र दोस्रो, नेपाली राष्ट्रिय टिमले ओलीको पक्षमा गरेको नारावाजी । राष्ट्रिय खेलाडीहरुले ‘केपी बा वि लभ यू’ भन्दै नारावाजी गरेको भिडियो क्लीप त अहिले भाइरल नै छ ।

लामो समयपछि रंगशालामा फुटबल हेर्न दर्शक भरिभराउ थिए । प्रधानमन्त्री ओली पनि पुगेपछि खेलाडीहरुमा अतिरिक्त उत्साह थपिएकै थियो । नेपालले खेल जित्यो पनि । ३७ वर्षपछि घरेलु मैदानमा नेपालले उपाधि उचाल्दा दर्शकले रंगशाला जुरुक्कै उचाले ।

प्रधानमन्त्री ओली हिजोको फाइनलमा आफ्नो उपस्थिति जनाउन मात्रै गएका थिएनन् । खेल नै हेर्न गएका थिए । प्रायः कार्यक्रममा ढिला पुग्ने आदत भएका ओली म्याच सुरु नहुँदै दलबलसहित रंगशाला पुगेका थिए । उनीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पूर्व सभामुख सुभाष नेम्वाङ पनि खेल हेर्न पुगेका थिए । दर्शकले चर्को हुटिङका साथ उनीहरुलाई स्वागत गरे ।

ओली जोशिलो चालमा मैदान प्रवेश गरे । दर्शकलाई हात हल्लाएर अभिवादन गरे । अनि लाइनमा रहेका खेलाडीहरुसँग परिचय गर्न थाले । त्यसक्रममा उनले दुवै टीमका प्रत्येक खेलाडीसँग भटाभट ‘ह्यान्ड सेक’ गरे ।

धेरै समयपछि यसरी सार्वजनिक कार्यक्रममा लामो ह्यान्डसेक देखियो । कोरोनापछि नेपालमा मात्रै होइन, विश्वभर नै ह्यान्डसेकलाई निरुत्साहित गरिएको छ । खेलाडीसँग ओलीले नमस्ते आदानप्रदान मात्रै पनि गर्न सक्थे । तर, कोरोनालाई बिर्सेर उनले जानीबुझी हात बढाए । यद्यपि, मुखमा मास्क भने लगाएका थिए ।

भीआइपी प्याराफिटमा बसेर ओलीले पुरा खेल हेरे । नेपालले गोल गर्दा उनले उठेर ताली बजाएका थिए । खेलपछि पनि उनी उत्साहीत मुद्रामा मैदानमा ओर्लिए । नेपाली राष्ट्रिय टिमसँग उपाधिसहित फोटोसेसन गरे । त्यही क्रममा अचानक नारा लाग्न थाल्यो- केपी बा वि लभ यू ।

भट्याउने को थियो भन्ने स्पष्ट भएन, तर राष्ट्रिय टिमका खेलाडीहरुले जोशिएरै यो नारावाजीमा साथ दिएका थिए । ओलीले भने कुनै प्रतिक्रिया जनाएनन् । करिब एक मिनेटसम्म ‘केपी बा वि लभ यू’ को नारा लागेको थियो, जुन भिडियो फेसबुकदेखि टिकटकसम्म भाइरल भइरहेको छ ।

नेकपा एमालेका कार्यकर्ताले सुरु गरेको ‘केपी ओली आइ लभ यू’ को नारालाई लिएर विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । तर, यो नारा अहिले युवायुवतीमा लोकप्रिय बन्दै गएको छ । टिकटकमा केही समयअघि ‘केपी ओली आई लभ यू’ ट्रेन्डिङ नै भएको थियो । यसरी टिकटक बनाउनेमा राजनीतिमा चासो नराख्नेहरु धेरै छन् ।

त्यसो त ओलीलाई कार्यकर्ताले ‘बा’ भन्ने गरेको पनि पार्टीभित्रकै कतिपय नेतालाई चित्त बुझेको छैन । केहीअघि नेकपा एमालेका वरिष्ठ नेता (हाल निलम्बित) माधव कुमार नेपालले एउटा अन्तरवार्तामै ओलीलाई ‘बा’ भनिएकोमा आपत्ति जनाएका थिए । ‘उहाँलाई कामरेड भनेको मन पर्दैन, बा भनेको मन पर्छ,’ नेपालले भनेका थिए, ‘के कम्युनिष्ट पार्टीमा बा हुन्छ ?’

तर, कसैले रुचाए पनि नरुचाए पनि ओलीलाई ‘बा’ भन्नेहरुको जमात निकै ठूलो भइसकेको दखिन्छ । हिजो रंगशालामा देखिएको दृष्यले पनि यही पुष्टि गर्छ । ओलीले नेपाल प्रेसलाई दिएको अन्तरवार्तामा आफूलाई ‘बा’ भन्न कसले अह्राइरहेको छ, अनुसन्धान गर्न चुनौति दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *