महन्थ ठाकुर भन्छन्- अंगिकृतका सन्तानलाई वंशजको नागरिकता चाहियो – Nepal Press

महन्थ ठाकुर भन्छन्- अंगिकृतका सन्तानलाई वंशजको नागरिकता चाहियो

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनताले अहिले पनि अधिकार नपाएको बताएका छन् । उनले अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता नदिइएको भन्दै असन्तुष्टि जनाए ।

रिपोर्टर्स क्लवको वार्षिकोत्सव कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘नागरिकता मधेसको मात्रै होइन, सिंगै देशको समस्या हो । अंगिकृत नागरिकहरूले अहिलेसम्म किन वंशजको नागरिकता पाइरहेका छैनन् ?’

उनीहरूलाई वंशजको नागरिकता दिने गरी संविधान संशोधन गर्नुपर्ने ठाकुरको माग थियो । उनले मधेसी जनतालाई प्रजातन्त्रको अनुभव नै हुन नसकेको बताए ।

‘के मधेसमा पनि प्रजातन्त्र छ ? मधेसी-थारुलाई पनि प्रजातन्त्रको अनुभव छ ? किन अझै मधेसी-थारु जेलमा छन् ? उनीहरूले सरकारको माग गरेको होइन, अधिकारको माग गरेको हो ।’

उनले वर्तमान संविधानको मस्यौदा सार्वजनिक गरिँदा नै मधेसमाथि अन्याय भएको बताए । आन्दोलनको एजेन्डाअनुसार मस्यौदा नआएको उनको भनाइ थियो ।

‘त्यसले हाम्रो चित्त बुझेको थिएन र हामी विरोधमा गएका थियौं,’ उनले भने, ‘खुद अन्तरिम संविधानमा संशोधन गरेर मधेस स्वायत्त प्रदेश बन्ने छ र अन्य जातजातिको पनि स्वायत्त प्रदेश हुने छन् भनिएको थियो । तर, संविधानमा त्यो भएन ।’

संविधान संसोधन मधेसीको मात्रै नभएर सबै पीडितको कुरा भएको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर