प्रचण्डको प्रश्न- हामीले हटाएको ओलीलाई अदालतले अध्यक्ष बनाइदियो, यो कस्तो नाटक हो ? (भिडियो) – Nepal Press

प्रचण्डको प्रश्न- हामीले हटाएको ओलीलाई अदालतले अध्यक्ष बनाइदियो, यो कस्तो नाटक हो ? (भिडियो)

‘माधव र झलनाथको समेत समर्थन लिएर म पुनरावलोकनमा गएको हुँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतको फागुन २३ को फैसलालाई नाटकको संज्ञा दिँदै ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसद सचिवालयमा नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित दलको नेताबाट हटाइएको सूचना दर्ता गरेर फर्किँदा फर्किँदै अदालतले दुईटा पार्टी बनाइदिएको बताए ।

उनले भने, ‘यो कस्तो नाटक भएको हा ? हामीले दुई तिहाई बहुमतबाट अध्यक्षबाट हटाएको केपी ओलीलाई अदालतको फैसलाले फेरि अध्यक्ष बनाइदियो । यो कस्तो खालको फैसला आयो ?’

ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै लाग्दा एमाले-माओवादी ब्युँताउने फैसला आएपछि आफूसहित माधव नेपाल र झलनाथ खनाल चिन्तित बनेको प्रचण्डले बताए । उनले फैसला मान्ने तर यसको पुनरावलोकन होस् भनेर अदालत गएको बताए ।

प्रचण्डले भने, ‘हामी नेकपाको माधव नेपाल झलनाथ खनाललगायत दुई तिहाई बहुमत हस्ताक्षर लिएर गएका थियौं । हामी सबैको पनि यो फैसला पुनरावलोकन हुनुपर्छ भन्ने छ । यो कुरा सबैले बुझ्न जरुरी छ,अदालतले पनि बुझ्न जरुरी छ ।’

आफूहरू तत्कालीन एमालेको बहुमत पक्ष पुनरावलोकनको पक्षमा रहेको कुरा अदालतले र प्रधान न्यायाधीशले पनि बुझ्नुपर्ने प्रचण्डको भनाइ छ ।


प्रतिक्रिया

One thought on “प्रचण्डको प्रश्न- हामीले हटाएको ओलीलाई अदालतले अध्यक्ष बनाइदियो, यो कस्तो नाटक हो ? (भिडियो)

  1. निबेदन बोकेर अदालत जानू भन्दा !! बरु पार्टी बिस्तार तिर लागेर आगामी निर्बाचन मा राप्रपा संग प्रतिस्प्रधा गर्दा राम्रो !!! पुर्ब एमाले एक्लै हिड्न तयार भैरहदा आफू मात्र लेप्पासिन खोज्नु उचित हैन !

Leave a Reply to Ram chandra Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर