दिल्लीमा ७६ वर्ष यताकै गर्मी, नेपालको तापक्रम भने घट्यो – Nepal Press

दिल्लीमा ७६ वर्ष यताकै गर्मी, नेपालको तापक्रम भने घट्यो

दिल्ली । भारतको राजधानी दिल्लीमा ७६ वर्ष यताकै गर्मी महसुस गरिएको छ । भारतीय संचारमाध्यमका अनुसार मंगलबार दिल्ली, महाराष्ट्र, ओडिसा लगायतका ठाउँको तापक्रम ४० डिग्री सेल्सियसको नजिक पुगेको छ ।

दिल्लीसहित महाराष्ट्रको पुणेमा पनि तापक्रम ४०.१ सेल्सियस मापन गरिएको छ । केही राज्यमा लु चल्न सुरु भएको छ ।

महाराष्ट्र, ओडिसा, झारखंड, गुजरात, उत्तर प्रदेश, विहार, राजस्थान, हरियाणा लगायतका राज्यको तापक्रम ४० डिग्री रहेको अनुमान गरिएको छ । मौसम विज्ञान विभागले पूर्वी राज्यमा भारी वर्षा हुनसक्ने जनाएको छ ।

राजधानी दिल्लीमा सन् १९४५ यताकै सर्वाधिक गर्मी भएको जनाइएको छ । २९ मार्चमा होलीको दिनमा सफदरजंग बस स्टेसनमा अधिकतम तापक्रम ४०।१ डिग्री मापन गरिएको थियो । अप्रिल ३ देखि गर्मी अझै बढ्ने अनुमान गरिएको छ ।

नेपालको तापक्रम भने घट्यो
प्रदूषणका कारण वायुमण्डल धुम्म भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा तापक्रम घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अत्यधिक प्रदूषणबाट वायुमण्डल ढाकिएकाले सूर्यको किरण र ताप धर्तीमा आउन सकेको छैन ।

सूर्यको ताप आइनपुगेका कारण तापक्रम घटेको मौसमविद् वरुण पौडेलले बताए । काठमाडौँमा २९ डिग्री सेल्सियससम्म पुगिसकेको तापक्रम अहिले घटेर अधिकतम २४ डिग्री सेल्सियस र न्यूनतम १०.८ डिग्री सेल्सियसमा झरेपछि चिसो बढेको जानकारी उनले दिए ।

मौसमविद् पौडेलले भने –“पानी पर्ने छेकछन्द छैन, त्यसैले तापक्रम अझै घट्न सक्छ ।” पूर्वानुमान महाशाखाका अनुसार सोमबार जुम्लाको अधिकतम तापक्रम २१.९ र न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस पुगेको छ ।

एक साताअघि ३८ डिग्री सेल्सियस नाघेको नेपालगञ्जको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस आसपासमा झरेको छ । गर्मी हुने भैरहवा, सिमरा र विराटनगरको तापक्रम ३४ डिग्री सेल्सियसकै आसपास छ ।

पहाडी जिल्ला ताप्लेजुङ, ओखलढुङ्गा, डडेल्धुरालगायतका क्षेत्रमा अधिकतम तापक्रम २२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर