यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ? – Nepal Press

यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ?

‘यौन तथा प्रजनन्’बारे कुरा गर्न आममहिला लजाउँछन्, डराउँछन् । समस्या बिकराल नभएसम्म उनीहरु रोगलाई दबाएर राख्छन् ।

पछिल्लो समय शैक्षिक विकाससँगै समाजमा आफ्ना समस्या खुलेर राख्ने अभ्यास बढे पनि यौन तथा प्रजनन्सँग जोडिएका विषयमा खुलेर कुरा गर्न शिक्षित वर्गसमेत हिचकिचाउँछन् ।

विद्यालयमा स्वास्थ्य तथा जनसंख्या पढाउने शिक्षक/शिक्षिकाले पनि यो विषयलाई महत्वपूर्ण नभए जस्तो गरी पाना पल्टाएर छाडिदिने गरेको पाइन्छ ।

पेसाले म नर्स हुँ । ५/६ वर्षदेखि ‘महिलाका लागि महिला’ भन्ने संस्थासँग आबद्ध भएर पाठेघरसँग सम्बन्धित समस्या, आङ खस्ने समस्यामा केन्द्रित रहेर दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवा दिँदै आइरहेकी छु ।

आङ खस्नु भनेको महिलाहरूको सानो पेटमा रहेको पाठेघर तथा पिसाबको थैली, दिसाको थैलीमध्ये कुनै पनि अङ्गले सामान्य अवस्था छाडेर विस्तारै–विस्तारै योनि मार्गबाट बाहिर निस्कनु हो ।

कम उमेरमा बिहे गरेर छिटो बच्चा जन्माउनाले, लामो प्रशवको कारण स्वास्थ्यकर्मीको अनुपस्थितिमा घरमा सुत्केरी गराउने, सुत्केरी अवस्थामा पर्याप्त स्याहार नपाउने, गह्रौं भारी उठाउने, टुक्रुक्क बसेर लामो समयसम्म काम गर्नेजस्ता

विभिन्न कारणले आङ खस्ने समस्या हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तल्लो पेट तथा पेटमा रहेको अङ्गहरूलाई बलियोसँग अडाएर राख्ने मांशपेशी कमजोर बनाउने हुँदा आङ खस्ने समस्या हुन्छ ।

बच्चा जन्माएका जुनसुकै उमेर समूहलाई यो समस्याले सताउँछ । विशेष गरेर ४०/५० नाघेका आमाहरू यो समस्याबाट धेरै पीडित हुन्छन् । आफूभित्रको लाज र समाजमा यस्ता समस्याका बारेमा कसैलाई भने अपहेलित भइन्छ भन्ने डरका कारण वर्षौंदेखिको समस्या लुकाएर राखेको पाइन्छ । कसैले यसलाई बच्चा पाइसकेपछि हुने साधारण अवस्था होला भन्ने ठान्छन् । कसैले पुनर्जन्मको पापले भनेर आफूलाई धिकार्छन् । धेरैलाई उपचार हुन्छ भन्ने कुरा थाहा नै नभएको बताउँछन् ।

यो समस्या भइसकेपछि हिँडुडल गर्न, घरायासी काम गर्न एकदमै बाधा पुग्छ । तर काम नगरी छाक टार्न पनि धौ–धौ हुने भएकाले आफ्नो तरिकाले समस्या लुकाउनलाई योनीमार्गबाट गोलो ढुंगालाई राखेर, प्लास्टिकलाई एकपछि अर्को गर्दै बेरेर डल्लो पारेर राखेको, कपडाको पोकाहरू राखेकोदेखि फलामको गोलो चक्कालाई तलबाट राखेर अड्याउने गरेको समेत हामीले जाँच्ने क्रममा पाएका छौं ।

हाम्रो स्वास्थ्य शिविरमा आएका यस्ता बिरामीलाई जाँच्न हाम्रा हात थर्थराउँछन् । सजिलोसँग उपचार गर्न सकिने समस्यालाई, श्रीमान्को डरले समेत यसरी लुकाएको बताउँछन् । आमाहरूको आँखामा देखिएको पीडाको आँसुले हाम्रो मन रोएको हुन्छ । जुन पीडा हामी कल्पना पनि गर्न सक्दैनौं । त्यो पीडा आमाहरूले कसरी आफैंमा सहनसक्नु भएको होला!

हामीले हाम्रो साथ र मायाको आवश्यक आमाहरूलाई छ । यो समस्या समयमै पहिचान गर्न सके शल्यक्रिया विना उपचार गर्न सकिन्छ र जटिल अवस्थामा पुगेको भएमा शल्यक्रियाद्वारा समाधान गर्न सकिन्छ ।

हालै हाम्रो संस्थाले मेरो जिल्लामा गरेको स्वास्थ्य शिविरमा करिब ४० प्रतिशत महिलाहरूमा देखिएको आङ खस्ने समस्याले मलाई चिन्तित बनाएको छ । समस्याका कारणहरूलाई मैले आफैंले पनि भोगेको छु, देखेको छु र बुझेको छु । म लगायत नेपालका धेरैजसो ग्रामीण भेगको कथालाई, दिनचर्यालाई, संघर्षलाई प्रत्यक्ष देखेको÷भोगेको भएर यो समस्या बढेर तथ्यांक गम्भीर बन्छ कि भन्ने कुरा साँच्चै चिन्तनको विषय हो ।

यो समस्या रोकथाम गर्नको निम्ति हामीले एउटा स्वास्थ्य वातावरणको सिर्जना गर्न सक्नुपर्छ । लाज र संकोचलाई हटाएर यी समस्याको बारेमा घर–घरमा खुलेर कुरा गर्ने बानी बसाल्नुपर्छ । गाउँमा हुने विभिन्न आमा समूहको बैठकमा, विद्यालयको पाठ्यक्रममा, युवा क्लबहरूमा यस विषयलाई समेट्न सकेमा भोलिको दिनमा आङ खस्ने समस्याको तथ्यांक अवश्य घटाउन सकिन्छ । छोराछोरी तथा जीवनसाथीले महिलाहरूलाई प्रोत्साहन गरी साथ दिन सकेमा समस्याहरू सजिलैसँग रोक्न तथा समाधान गर्न सकिन्छ ।

(आचार्य शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स हुन्)


प्रतिक्रिया

2 thoughts on “यौन तथा प्रजननबारे बोल्न किन डराउने, किन लजाउने ?

  1. great work and word
    proud of u dear
    keep it up
    कुरा एकदमै सहि हो
    हामी पनि एक नारि हो
    हामिले आजै बाट यस्तो कुरामा सजगत अपनाउनुका साथै हाम्रा आमा हरुलाई पनि सजग बनाउने र उनिहरुको ख्याल गर्नुपर्दछ र आफ्ना समस्या आफ्नो श्रिमान् सग निर्धक्क का साथ सेयर गर्नुपर्दछ र समस्या आएमा तुरुन्त अस्पताल जानुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *