अमेरिकामा आफैंले बनाएर उडाएको जहाज नेपाली सेनालाई उपहार दिने चाहना – Nepal Press

अमेरिकामा आफैंले बनाएर उडाएको जहाज नेपाली सेनालाई उपहार दिने चाहना

इटहरी । अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बस्ने प्रमोद रेग्मी बिदा मनाउन र घुम्न हवाई यात्रा गर्छन । हवाई यात्रामा उनी सार्वजनिक जहाज चढ्दैनन् । उनी आफैंले बनाएको जहाज लिएर यात्रामा निस्किन्छन् ।

कल साइन ‘एन ३१६ एएम’ भएको रेग्मी चढ्ने जहाज कुनै कम्पनीबाट खरिद गरिएको जहाज हैन । न त सार्वजनिक जहाज नै हो । जहाजको निर्माण स्वयं रेग्मीले गरेका हुन् भने पाइलट पनि उनै हुन् ।

सन २०१२ बाट प्राइभेट पाइलट लाइसेन्स कोर्ष शुरू गरेका रेग्मीले सन् २०१४ मा कोर्ष पूरा गरे । पाइलट कोर्ष गर्नु अगाडि रिमोटबाट चल्ने जहाज बनाउन सौखिन उनी पाइलट कोर्षपछि सन् २०१६ बाट मान्छे बोक्ने निजी जहाज बनाउन लागे । २०१८ मा निर्माण सकिएको त्यो जहाजलाई अमेरिकाको संघीय उड्ययन प्रशासनले अनुमति दियो ।

रोचक कुरा त जहाज बनाएर उडाएको २० घन्टाको अवधि समेत पार लाउनु अगाडि नेपाली अन्वेषक महावीर पुन एरिजोना राज्यस्थित रेग्मीको गृहनगर पुगेका थिए । फिनिक्सको आकाशमा रेग्मीले पुनलाइ आफ्नो जहाजबाट शहर परिक्रमा गराए ।

‘त्यो समयमा हल्का धुम्म थियो तर यात्रा रमाइलो भयो’, महावीर पुनसँगको पहिलो उडानबारेको अनुभवमा रेग्मी भन्छन्, ‘करिब ४५ मिनेटको हाम्रो उडानमा महावीर पुनले पनि धेरै आनन्द लिनु भयो ।’

महावीरलाई रेग्मीले फिनिक्सको डियर भ्याली विमानस्थलको उत्तरी ह्याङ्गर हुँदै ४ हजार मिटर लामो रनवेबाट उडाएका थिए । महावीरपछि आफ्ना साथिभाइ, छोराछोरीलाई उडाएका रेग्मीको जहाज सातामा तीन दिन सक्रिय हुन्छ । बाँकी दिन आराम हुन्छ ।

रेग्मी आफैं जहाज बनाएर उडाउने प्रथम नेपाली पाइलट हुन । उनले यही परिचयमा धेरै अन्तरवार्ताहरू दिएका छन । हाल अमेरिकी नागरिक भएका रेग्मीको मन भने नेपालसँग जोडिएको छ । उनी आफ्नो जहाज नेपाललाई दिन चाहन्छन ।

तर, दिनु अगाडि भरपर्दो व्यवस्थापन भने निश्चित हुनुपर्ने उनको भनाइ छ । नेपाल भ्रमणको क्रममा इटहरी आइपुगेका रेग्मीले नेपाल प्रेससँग भने, ‘नेपालीले आफैं बनाएर आफैं उडाएको प्रथम जहाज भएकोले यो हवाई उडड्यनमात्रै हैन पर्यटनको कोणमा पनि काम लाग्ने देखेर नेपाललाई दिन इच्छुक छु ।’

प्रधानसेनापतिले इच्छा देखाएमा तत्काल दिन तयार

रेग्मी आफ्नो जहाज व्यवस्थापनको सन्दर्भमा नेपाली सेनामात्रै योग्य भएको मान्छन् । नेपाली सेनाको चुस्त नेतृत्व, हवाई व्यवस्थापनको अनुभव र विज्ञताले गर्दा उनी आफ्नो जहाज सेनालाई दिन तयार छन् ।

‘अहिलेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा धेरै नै राम्रो व्यक्तित्व लागेको छ , उहाँलाई नै हस्तान्तरण गर्न म इच्छुक छु’, रेग्मीले भने, ‘नेपाली सेनाले विभिन्न हवाईजन्य खेलकुद, एयर म्युजियम वा मनोरन्जनात्मक उडानको लागि यो जहाज प्रयोग गर्न सक्छ ।’

नेपाली सेनाको प्रशंसक भएको बताउँदै रेग्मीले थापाकै कार्यकालमा जहाज दिन तयार भएको बताए । नेपाली सेनासँग जहाजका बारेमा कुरा भने नभएको उनको भनाइ छ ।

‘म जहाज दिन तयार भएपनि यस बारेमा कुनै कुराकानी भने भएको छैन’, जहाजको बडिलाई चन्द्रसूर्य रंगले रंगाएका रेग्मीले भने, ‘प्रधानसेनापति थापा इच्छुक हुनहुन्छ र नेपाल सरकारले सहयोग गर्ने हो भने जहाज एकै महिनामा नेपाल आउन सक्छ ।’

करिब सात हजार अमेरिकी डलर हाराहारीमा कन्टेनरबाट आफ्नो जहाज नेपाल ल्याउन सक्ने रेग्मीको भनाइ छ । उनका अनुसार यूपीएच, डीएचएलबाट सहजै ल्याउन सकिने उनको भनाइ छ ।

सन् १९९८ मा विद्यार्थीको रूपमा अमेरिका छिरेका रेग्मी भन्छन, ‘नेपालीहरूमा हवाई क्षेत्र र यससँग सम्बन्धित अन्य जानकारी लिन यो जहाज पनि महत्वपूर्ण हुनसक्छ । त्यही बुझेर म एक पैसा रकम नलिकन नेपाली सेनालाई उपहार दिन तयार भएको हुँ ।’


प्रतिक्रिया

One thought on “अमेरिकामा आफैंले बनाएर उडाएको जहाज नेपाली सेनालाई उपहार दिने चाहना

  1. राज्यले चासो देखाउन जरुरी छ! यस्तो रास्ट्र्लाई फाइदाहुने कुरामा सेनाले पनि राज्यसंग प्रस्ताब राख्नु पर्यो!

Leave a Reply to नारायण शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर