एक वर्षमा २२ सय ४१ ठाउँमा आगलागी, ८६ जनाको मृत्यु – Nepal Press

एक वर्षमा २२ सय ४१ ठाउँमा आगलागी, ८६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न १४ ठाउँमा आगलागी भएको छ ।

मोरङको, उदयपुर, बैतडी, सुनसरी, खोटाङ, कपिलवस्तु, ओखलढुंगा, महोत्तरी, काठमाडौं, सिरहालगायतका ठाउँमा आगलागी भएको हो । गृहमन्त्रालयअन्तर्गतका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहानसम्म आगलागीको घटना रेकर्ड गरिएको हो ।

तीमध्ये अधिकांश घरमा विद्युत सर्ट भएर आगलागी भएको छ । भने काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ को जंगलमा डढेलो लागेको थियो ।

उक्त स्थानमा लागेको आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आइसकेको छ । ती घटनामा मानवीय क्षति भने नभएको प्राधिकरणले जनाएको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म भने ३४ ठाउँमा आगलागी भएको छ । त्यस घटनमा २ जनाको मृत्यु र २ जना घाइते भएका छन् ।
गर्मी याम शुरू भएसँगै डढेलो र आगलागीका घटना बढ्नसक्ने भन्दै सचेतना अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार गत बैशाख १ देखि चैत १६ सम्म २२ सय ४१ वटा आगलागीका घटना भएका छन् । ती आगलागीमा ८६ जनाको  मृत्यु भएको छ भने ३५० जना घाइते भएका छन् ।

आगलागीबाट १ अर्ब ६९ करोड १७ लाख ४ हजार २८६ रूपैँया बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

देशका विभिन्न ठाउँमा लागिरहेको डढेलोको कारण वायु प्रदूषणसमेत बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर