बागलुङ होली मेलामा आफ्ना कार्यकर्ताको हत्या भएको कांग्रेसको दाबी – Nepal Press

बागलुङ होली मेलामा आफ्ना कार्यकर्ताको हत्या भएको कांग्रेसको दाबी

काठमाडौं । बागलुङको बल्देधुरीमा मृत भेटिएका दुईजना आफ्ना कार्यकर्ता रहेको भन्दै नेपाली कांग्रेसले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार एक विज्ञप्ति जारी गर्दै बागलुङमा भएको घटना क्रुर र अमानवीय रहेको भन्दै निन्दा गरेका हुन् ।

‘बल्देधुरीमा आइतबार भएको अमानवीय घटना अत्यन्तै निन्दनीय छ । होली खेल्ने क्रममा नै भएको असमझदारी र आवेगको परिणाममा दुई युवाको हत्या भएको हो या यसका पछिल्तिर योजनाबद्ध षड्यन्त्र छ ? यसको गहिरो अनुसन्धान गर्न दोषीहरूलाई अविलम्व पक्राउ गर्न नेपाली कांग्रेस सरकारसमक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

घटनामा प्रकाश कुँवर र दीपक नेपालीको मृत्यु भएको थियो । कुँवर कांग्रेसको जिल्ला समिति सदस्य हुन् । ‘दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भीरबाट धकेलेर हत्या गरिएको स्थिति देखिन्छ । प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, विज्ञप्तिमा भनिएको छ ।

घटनाबारे छानबिन गरी वास्तविकता बुझ्न बागलुङ कांग्रेसका सभापति दीपेन्द्रबहादुर थापा नेतृत्वको टोली घटनास्थल पुगेको कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर