ट्याङ्करले बेच्थे दैनिक ५ करोड लिटरसम्म पानी, मेलम्ची आएपछि विकल्प खोज्दै व्यवसायी – Nepal Press

ट्याङ्करले बेच्थे दैनिक ५ करोड लिटरसम्म पानी, मेलम्ची आएपछि विकल्प खोज्दै व्यवसायी

काठमाडौं । हरेक विकास आयोजनाको सम्पन्नतासँगै त्यसका विभिन्न ‘साइड इफेक्ट’हरु हुन्छन् । ठूलो समुदाय विकासबाट लाभान्वित हुँदा सानो समूहलाई त्यसले बेफाइदा पुग्छ । हिजोबाट काठमाडौंवासीको घरघरमा भित्रिएको मेलम्चीको पानीले पनि व्यवसायीको एउटा सानो समूहमा छटपटी पैदा गरेको छ ।

काठमाडौंमा पानीको चरम अभाव हुँदा उपत्यकावासीहरुले ट्याङ्र वा जारको पानी किनेर प्रयोग गर्ने गरेका छन् । काठमाडौंमा कमै घरहरु होलान् जहाँ जारको पानी पुग्दैन । पानी नआउने ठाउँहरुमा नियमित ट्याङ्कर नै मगाइन्छ । तर, अब मेलम्ची आएपछि यसरी पानी किनेर खानुपर्ने अवस्था रहेन । यसले जार तथा ट्याङ्रमा पानी बेच्नेहरुको व्यवसाय भने संकटमा परेको छ ।

एक न एक दिन मेलम्चीको पानी काठमाडौं आइपुग्छ भन्ने जानकार नै थिए व्यवसायीहरु । मेलम्चीको पानी आउने समय जति लम्बिदै गयो, त्यति नै उनीहरुको व्यवसाय फस्टाउँदै थियो । मेलम्चीको पानी आउने पक्कापक्की भएपछि नयाँ व्यवसायी आएका छैनन् ।

उपत्यकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानीको आपूर्ति गर्दै आइरहेको छ । उपत्यकामा दैनिक ३५ करोड लिटर पानीको माग छ । तर केयुकेएलले वर्खामा दैनिक १० देखि १२ करोड लिटर र हिउँदमा ८ करोड लिटरसम्म पानी वितरण उपलब्ध गराउँदै आएको छ । हिउँद सुरु भएपछि ट्याङ्करले मात्रै दैनिक ३ देखि ५ करोड लिटर पानीको माग धान्दै आइरहेको थियो ।

अहिले उपत्यकाका ७ स्थानमा सञ्चालन भइराखेको बोरिङको पानी ट्याङ्करले घरघरमा पुर्‍याउने गरेको छ । आइतबारबाट उपत्यकाको धारामा मेलम्चीको पानी खसेपछि ट्यांकरको पानीको माग ८० प्रतिशत घट्ने व्यवसायीहरुले अनुमान गरेका छन् ।

आइतबारदेखि काठमाडाैंमा मेलम्चीकाे पानी वितरण शुरु गरिएकाे छ । फाइल तस्बिर- नेपालप्रेस ।

उपत्यकामा दैनिक पानी आउन थालेपछि ट्याङ्करको माग हवात्तै घट्ने खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यले बताए । उनले नेपाल प्रेससँग भने, ‘यसले हाम्रो व्यवसायमा असर त गर्छ । करिब ८० प्रतिशत असर गर्छ कि भन्ने लागेको छ । तर पानी नआइकन हामीले पनि भन्न सकेका छैनौं ।’

व्यवसाय ठप्पै त नहोला भन्ने अनुमान गरिएको उनी बताउँछन् । मेलम्चीको पानी दिनँहु झर्दा पनि अझै १५ करोड लिटर पानी अभाव देखिने अनुमान उनले सुनाए ।

अहिले ललितपुर क्षेत्रका लागि गोदावरी, सानोगाउँबाट ट्याङ्करले पानी वितरण गर्दै आएको छ । जोरपाटी, स्वयम्भु, बालाजु, मातातीर्थ, चोभारबाट काठमाडौंमा पानी आपूर्ति हुन्छ । एउटा वितरकले ७ किलोमिटरको क्षेत्रलाई ‘कभर’ गर्छन् ।

व्यवसायमा लगानी र रोजगारी

यस व्यवसाय सञ्चालन गर्न मात्रै झण्डै २ करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने व्यवसायी बताउँछन् । यो ट्याङ्कर बाहेकको लगानी हो । एउटा ट्यांकर खरिद गर्दा ३० लाख रुपैयाँ पर्छ । बोरिङ पनि विभिन्न किसिमका छन् । उपत्यकाको भुगोल अनुसारको बोरिङ खन्नुपर्ने हुन्छ । डीप बोरिङ खन्न २५ लाख रुपैयाँभन्दा बढी लाग्छ ।

अध्यक्ष शाक्य भन्छन्, ‘कुनै ठाउँमा डीप बोरिङबाट पानी प्रयोग गरेर सप्लाइ भइराखेको छ । कुनै ठाउँमा जहाँ जस्तो स्रोतहरु छन्, त्यहीअुनसार काम गरेर व्यवसाय गर्नुभएको छ ।’

हाल उपत्यकामा १ हजारभन्दा बढी ट्याङ्कर सञ्चालनमा छन् । यसक्षेत्रमा २० हजार जना प्रत्यक्ष संलग्न छन् । हाल २५ हजारभन्दा बढीले रोजगारी पाइराखेको व्यवसायी बताउँछन् । मेलम्चीको पानी वितरण सुरु हुने वित्तिकै २५ हजार कामदारको रोजगारी गुम्न सक्ने संघले जनाएको छ ।

यो क्षेत्रमा नयाँ व्यवसायी भने थपिएका छैनन् । एउटा कारण कोरोना पनि हो । शाक्य भन्छन्, ‘मेलम्चीको पानी आउने भएकाले नयाँ व्यवसायीले हात हाल्न चाहेका छैनन् । कोराेनाको असर पनि परेकै छ ।’

कतिपय व्यवसाय यस व्यवसायबाट पलायन भइसकेको उनले बताए ।

विकल्पको खोजी

पानीको आपूर्ति गर्दै आएका ट्याङ्कर व्यवसायीहरु बैकल्पिक व्यवसायको खोजीमा छन् । पानी बोक्न प्रयोग भएको ट्याङ्करको ट्याङकी निकालेर अरु काममा प्रयोग गर्ने कतिपयको सोच छ ।

ट्याङ्कर व्यवसायी सन्तराम तामाङ आफूहरुसँग कामका विभिन्न विकल्प भएको बताउँछन् । उनी भन्छन्, ‘सबैले आ-आफ्नै ढंगले सोचेका होलान् । ट्याङ्कीलाई निकालेर अर्को नयाँ सामान जोडेर नयाँ क्षेत्रमा लाग्न सकिन्छ । अरु यातायातसँग सम्वन्धित कामहरु पनि गर्न सकिन्छ ।’

अर्को व्यवसायमा लाग्नको लागि संघबाट पनि प्रयास भइरहेको खानेपानी संघका अध्यक्ष शाक्य बताउँछन् । ‘मेलम्चीको पानी एकदिन आउछ भनेर हामीलाई थाहा नै भएको हो । अब घाटा भए पनि के गर्न सकिन्छ र । व्यवसायहरुलाई अन्यत्र कसरी डाईभट गराउन सकिन्छ भनेर सोचिरहेका छौं,’ उनले थपे, ‘मेलम्चीको पानीले विशेषगरी घरायशी प्रयोजनमा धेरै राहत देला । तर व्यस्त ठाउँ तथा फ्याक्ट्रीहरुमा पानीको माग पुर्‍याउन त गाह्रै हुन्छ । यो पाटोमा हाम्रो व्यवसाय हुनसक्छ ।’

देशमा पानीको अभाव भएका अन्य शहरहरुमा जाने विषयमा पनि सोचिरहेको उनले बताए । अहिले रिङरोडभित्र मात्रै मेलम्चीको पानी वितरण गर्ने भनिएको छ । रिङरोड भन्दा बाहिर पनि कति ठाउँमा पाइपलाइन विस्तार भएको छैन । शाक्य भन्छन्, ‘जुन ठाउँमा अहिले नयाँ बस्ती विकास भएको छ, त्यो ठाउँमा हामीले फोकस गर्नुपर्छ । त्यहाँ सम्भावना हुन सक्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर