प्रम-सभामुख भेट: संवादहिनता तोडियो, मन कति मोडियो ? – Nepal Press

प्रम-सभामुख भेट: संवादहिनता तोडियो, मन कति मोडियो ?

काठमाडौं । संसदीय व्यवस्थामा कार्यपालिकाको नेतृत्वकर्ता प्रधानमन्त्री र व्यवस्थापिकाको नेतृत्वकर्ता सभामुखबीच खुल्ला टकरावको अपेक्षा गरिन्न । त्यो स्थिति आयो भने दुर्भाग्यपूर्ण मानिन्छ । तर, नेपालमा अहिले त्यही भइरहेको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीको टकराव लुकाएर लुक्ने अवस्था रहेन । उनीहरुले एक–अर्काविरुद्ध सार्वजनिक मञ्चबाटै असन्तुष्टि पोखिरहेका छन् ।

प्रधानमन्त्री ओलीले गत ३ चैतमा आयोजना गरिएको चियापानमा सभामुखको कार्यशैलीलाई लिएर रोष व्यक्त गरेका थिए । संविधानसभाले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछि बसेका बैठकहरुबारे टिप्पणी गर्दै ओलीले सभामुखले नै सभा सञ्चालनमा अवरोध गरेको अरोप लगाएका थिए ।

बैठकमा एसिड आक्रमण सम्बन्धी अध्यादेश पेश गर्न सभामुखले नदिएको प्रधानमन्त्रीको दावी थियो । यता सभामुख सापकोटा पनि खुलेरै प्रधानमन्त्रीविरुद्ध लागिरहेका छन् । उनले राष्ट्रपति कार्यालयमा आयोजित संवैधानिक निकायमा प्रमुखको सपथग्रहण बहिष्कार मात्रै गरेनन् राष्ट्रपति र प्रधानमन्त्रीलाई समेत विपक्षी बनाएर अदालतमा मुद्दा नै दायर गर्न पुगे ।

पछिल्लो समय प्रधानमन्त्री र सभामुखबीच संवादहिनताकै अवस्था थियो । उनीहरुको तितो सम्वन्धको असर संसदमा परेको छ । सरकारले संसदलाई विजनेस नदिएको आरोप सभामुखले लगाइरहेका छन् भने सभामुखले माओवादी अध्यक्ष प्रचण्डसँग ‘सेटिङ’ मा सरकारविरोधी काम गरिरहेको आरोप प्रधानमन्त्रीले लगाएका छन् ।

संवादहिनता तोड्दै आज प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा भेटघाट भएको छ । बिहान बालुवाटारमा ११ बजे भएको भेटवार्ता करिब २ घण्टासम्म चलेको थियो । सभामुखले ६ दिनअघि आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको बताएका थिए ।

गत ९ चैतमा राष्ट्रपति बंगलादेश भ्रमणमा जानेक्रममा एयरपोर्टमा बिदाइ गर्न जाँदा उनीहरुको भेट भएको थियो । त्यसबेला आफूले प्रधानमन्त्रीसँग भेट्न समय मागेको सापकोटाको भनाइ थियो ।

सभामुखले त्यसो भनेको करिब साता दिनपछि उनीहरुबीच आज भेट भएको हो । आजको भेटले उनीहरुबीच संवादहिनता तोडे पनि आपसी समझदारी कायम भएकोमा भने शंका व्यक्त गरिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेटघाट भएको र भेटघाट सौहार्दपूर्ण बातावरणमा भएको बताए । उता सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लामो समयपछि भेट भएकाले सम्बन्ध सुधार हुने अपेक्षा व्यक्त गरे ।

आजको भेटमा संसदलाई प्रभावकारी बनाउने, महत्वपूर्ण र जरुरी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जानकारी उनले दिए । ‘लामो समयदेखि भेटघाट हुन नसकेको अवस्थामा भेट भएकाले यसलाई सकरात्मक मान्नुपर्छ,’ न्यौपाने भन्छन्, ‘दुवै पदका आफ्ना सीमा र मर्यादा छन् । सभामुखले आफ्नो मर्यादा  कहिले पनि नाघ्नुभएको छैन ।’ प्रधानमन्त्री र सभामुखविच एक्लाएक्लै भेट भएकाले कुराकानीका समग्र विषय थाहा नभएको प्रधानमन्त्री र सभामुख सचिवालयले बताएका छन् ।

संसद विघटनले उत्पन्न तिक्तता

पहिलेदेखि नै खासै सौहार्द नरहेको प्रधानमन्त्री–सभामुख सम्बन्ध प्रतिनिधिसभा विघटनपछि तिक्ततामा परिणत भएको हो । सभामुख सापकोटाले प्रतिनिधिसभा विटघन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रष्ट शब्दमा असंवैधानिक भनेका थिए । यसप्रति प्रधानमन्त्री रुष्ट थिए ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्रीले डाकेका कुनै पनि बैठकमा सभामुख उपस्थित भएनन् । संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहणसमेत गैरकानुनी तथा असंवैधानिक भन्दै सापकोटा आफैं रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए ।

संवैधानिक निकायमा गरिएको नियुक्तिको प्रतिवाद गर्न सभामुखले सार्वजनिक अपीलसमेत गरे । अध्यादेशअनुसार नियुक्ति भएकाहरुले सपथग्रहण गर्ने कार्यक्रम सभामुखले बहिष्कार गरेका थिए । प्रधानमन्त्रीविरुद्ध नेकपा भित्रैबाट दायर भएको अविश्वास प्रस्ताव दर्ता गर्दा सभामुखले किर्ते गरेको आरोपसमेत प्रधानमन्त्री ओलीले लगाएका थिए ।

अंग्रेजी नयाँ वर्षका दिन प्रवासी नेपालीलाई सम्बाधेन गर्दै प्रधानमन्त्री ओलीले सभामुखप्रतिको असन्तुष्टि मुखर रुपमा प्रकट गरेका थिए ।

‘संसद विघटन भइसकेपछि केही सांसद हस्ताक्षर गरेर अविश्वासको प्रस्ताव राख्ने भन्दै साढे तीन बजे प्रस्ताव दर्ता गर्न गए,’ ओलीको अरोप थियो, ‘संसद विघटन भएपछि अविश्वास प्रस्ताव दर्ता गर्नुको कुनै अर्थ छैन, त्यसैले दर्ता नगर्ने भनेपछि उहाँहरु सभामुखकहाँ गएर १०ः४० मै म कहाँ निवेदन आएको थियो भनेर किर्ते सनाखत गर्नुभयो सभामुखले । संसदीय पद्धतिमा सभामुखजस्तो मर्यादित पदबाट झुटो सनाखत हुनु कहाँसम्म लज्जास्पद कुरा हो ?’

विगत पनि थिएन समधुर

ओली र सभामुखबीचको सम्बन्ध विगतमा पनि मधुरतापूर्ण थिएन । कृष्णबहादुर महराले सभामुखबाट राजिनामा दिएपछि प्रधानमन्त्री ओली आफ्ना विश्वास पात्रलाई सभामुख बनाउन चाहन्थे । नेकपा भित्रको अन्तरसंघर्षका कारण ओलीले नचाहँदा नचाहँदै सापकोटा सभामुख बन्न पुगेका थिए ।

विशेषगरि अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई अगाडि नबढाएकोमा महरासँग प्रधानमन्त्रीको रोष थियो । सभामुखको कार्यभार सम्हाल्दा एमसीसीप्रति तटस्थ देखिएका सापकोटा पछिल्लो दिन भने यसको विपक्षमा उभिएका छन् ।

सभामुख भएपछि सम्मान थाप्न २५ माघ २०७६ मा गृह जिल्ला सिन्धुपाल्चोक पुगेका सापकोटाले एमसीसीप्रति लक्षित गर्दै ‘राष्ट्रघात’ हुने कुनै पनि सम्झौता आफूले संसदबाट अघि नबढाउने बताए । अंग्रेजी नयाँ वर्षका दिन प्रवासी नेपालीलाई ‘भर्चुअल’ सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले त्यो विषय पनि कोट्याएका थिए ।

सरकारले निर्णयार्थ संसदमा पेश गरेका कुरा सभामुखले प्रस्तुत नगरेर ‘संसदीय अराजकता’ देखाएको प्रधानमन्त्रीको आरोप छ । ‘सरकारले निर्णयार्थ संसदमा पेश गरेका कुरा सभामुखले प्रस्तुत नगर्ने, योभन्दा संसदीय अराजकता के हुन्छ ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर