जनकपुरमा महजोडीलाई ‘महामूर्ख’ उपाधि, प्रदेशमन्त्री ‘मुर्ख’ शिरोमणी – Nepal Press

जनकपुरमा महजोडीलाई ‘महामूर्ख’ उपाधि, प्रदेशमन्त्री ‘मुर्ख’ शिरोमणी

जनकपुरधाम । प्रसिद्ध हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीलाई जनकपुरमा यस वर्षको ‘महामूर्ख’ उपाधि दिइएको छ । होली पर्वको अवसरमा जनकपुरस्थित जानकी मन्दिर परिसरमा आयोजित ‘महामूर्ख सम्मेलन’ मा महजोडीलाई सो उपाधि दिइएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल ‘मुर्ख’ सिरोमणीको उपाधी पाएका छन् । यस्तै प्रदेश सांसद प्रमेश्वर साहलाई बज्रकीट, वडाध्यक्ष सुदर्शन सिंहलाई बैशाखनन्दन, जसपा नेता राजिव झालाई वंश कुरहरी, व्यवसायी शंकर साहलाई मुसरीलाल, जसपा नेतृ विन्दु ठाकुरलाई खुबसुरती र जसपा नेता शेषनारायण यादवलाई चौपटानन्दको उपाधी दिइएको छ ।

यस्तै चित्रकार एससी सुमनलाई घरघुसका, यूवा रुपेश शर्मालाई हराशेख, पत्रकार सुजित झालाई सिलौटानन्द, साहित्यकार अशोक दत्तलाई बोतलानन्द, पत्रकार शितल साहलाई ढोरबा, जीवनाथ चौधरीलाई पटमूर्ख, प्राध्यापक विरेन्द्र साहलाई लोढाशंकर र युवा वीरेन्द्र कर्णलाई बज्रकीटको उपाधी प्रदान गरिएको छ ।

जनकपुरमा मिथिला नाट्यकला परिषद् (मिनाप) ले २०६१ सालबाट महामूर्ख सम्मेलन गर्दै आएको छ । २०६१ सालमा महामूर्खको उपाधी मैथिली कवि नरेश ठाकुरलाई दिइएको थियो । त्यसयता चर्चामा रहेका विभिन्न राजनीतिक दल, समाजसेवी र साहित्यकारहरुले महामूर्खको उपाधी पाइसकेका छन् । गत वर्ष मुख्यमन्त्री लालबाबु राउतलाई महामूर्ख घोषणा गरिएको थियो ।

होलीमा विकृति घटाउन र मनोरञ्जन प्रदान गर्न होली महोत्सवको आयोजना गरी महामूर्ख घोषणा गर्ने गरिएको मिनापका सचिव सन्दिप साह बताउँछन् । उनका अनुसार समाजका लागि विभिन्न सकारात्मक कार्य गरी चर्चा बटुलेकामध्ये उत्कृष्ट व्यक्तिलाई महामूर्खको उपाधीले सम्मान गर्ने गरिन्छ ।

यस वर्ष पहिलोपटक पहाडी समुदायका व्यक्तिलाई महामूर्खको उपाधी प्रदान गरिएको छ । यसले मधेस र पहाडबीच सद्भाव बढाउने आयोजकको विश्वास छ ।

होली महोत्सव अन्तर्गत हिजो शनिबार जोगिरा प्रतियोगिता आयोजना गरिएको थियो । १० होरैया समूह प्रतियोगितामा भाग लिएकामध्ये तीन जनालाई प्रथम, द्वितीय र तृतीय घोषित गरी चाँदी, नगद र प्रमाणपत्रले सम्मान गरियो । लोप हुन लागेको जोगिरा संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *