मेलम्चीको पानी धारामा दिन बिराएर आउने, यस्तो छ तालिका – Nepal Press

मेलम्चीको पानी धारामा दिन बिराएर आउने, यस्तो छ तालिका

काठमाडौं । आजबाट वितरण सुरु भएको मेलम्चीको पानी काठमाडौंवासीले दिन बिराएर प्राप्त गर्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दुई दिनमा एकपटक हरेक घरमा पुर्‍याउने गरी तालिका बनाएको छ ।

प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर उपभोक्ताले पानी पाउने जानकारी दिए । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टीमले समस्या समाधान गर्ने उनले बताए ।

महाँकालचौर वितरण केन्द्रको तालिकाअनुसार आजबाट एक दिन बिराएर पानी बितरण गरिनेछ । सोमबारसम्म ५७ हजार ९ सय ७ वटा धारामा पानी वितरण गर्ने योजना छ ।

पहिलो दिन आज सुन्दरीजलबाट बितरण लाइनमा छोडिएको पानी दिउँसो २ बजेसम्म ट्याङ्कीमा भरिएको थियो । २ बजेदेखि ९ बजेसम्म न्यूरोडको सप्लाइ त्रिपुरेश्वर र क्षेत्रपाटीमा ९ हजार २ सय धारामा १ घण्टा पानी वितरण हुदैछ । ९ बजेदेखि ६ बजेसम्म सिफल लाइन खुल्ला गरेर कुटु बहाल सिफल, कालोपुल, माली गाउँ, विशालनगरको ३७ सय ८५ धारामा पानी पुग्नेछ ।

रातको १२ बजेदेखि ७ बजेसम्म ढुंगेधारा बन्द गरेर देवकोटा सडक बत्तिसपुतली, जयबागेश्वरी चाबहिलमा रहेको ५ हजार ७८० वटा धारामा पानी आउनेछ । ७ बजेदेखि ८ बजेसम्म पुनः महाँकाल चौरको ट्याङ्की भरिनेछ ।

९ बजेदेखि मैतीदेवी, घट्टेकुलो, डिल्लीबजारको ३ हजार ७८० घरको धारामा पानी वितरण हुनेछ । यी स्थानमा १५, १७, १९, २१, २३, २५, २७, २९, ३१ गते पानी वितरण हुने भएको छ ।

त्यस्तै २ बजेसम्म ट्याङ्की भरेर २ बजेदेखि ८ बजेसम्म ईनबहाल ज्याठा, भोटाहिटी, कमलादी, नक्साल क्षेत्रको ७ हजार ६२५ धारामा पानी वितरण हुनेछ । १० बजेदेखि बानेश्वर, सिनामंगल, मिलनचोक, संगम चोकको १४ हजार ४९३ घरको धारामा पानी पठाइदैछ ।

दोस्रो दिन ४ बजेपछि पुन जयबागेश्वरी मित्रपार्क, चाबहिल, रातोपाटी, कालिमाटी क्षेत्रको ४ हजार ८९० धारामा पानी छाडिनेछ । ४ बजेपछि पुन ट्याङ्की भर्ने र ५ बजेपछि चारखाल, डिल्लीबजार कमलादी, बागबजार, त्रिपुरेश्वरको ८ हजार ३ ४४ धारामा पानी छाड्ने केयुकेएलको तालिका रहेको छ । यी क्षेत्रमा १६, १८, २०, २२, २४, २६, २८ र ३० गते पानी वितरण हुनेछ ।

आज कहाँ–कहाँ पुगेन ?

मेलम्चीको पानी वितरण गर्ने जिम्मा पाएको काठमाडाैं उपत्यका खानेपानी लिमिटेड केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालयले आज पहिलो चरणमा केही वितरणलाइनमा पानी पठाएको हो ।

आयोजनाले बाँसबारी, बालाजु, पानीपोखरी लगायतका ट्याङ्कीमा भने पानी पठाएको छैन । यी क्षेत्रमा दोस्रो चरणमा मात्रै पानी वितरण गरिने बताइएको छ ।

आज ४ वटा ट्याङ्कीमा क्षमताभन्दा थोरै पानी पठाएको आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाले आज र भोलि ४ करोड लिटर पानी वितरण गर्दैछ भने १७ गते साढे ६ करोड लिटर, १८ र १९ गते साढे ८ करोड लिटर पानी धारामा पठाइनेछ ।

एक हप्तासम्म साढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ । त्यसको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउने आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि गत फागुन १० गते पानी सुरुङमा पठाएको थियो । त्यसको दुई सातापछि पानी सुन्दरीजलसम्म आइपुग्यो । त्यसपछि आज काठमाडौंवासीले पानी पाएका हुन् ।


प्रतिक्रिया

One thought on “मेलम्चीको पानी धारामा दिन बिराएर आउने, यस्तो छ तालिका

  1. आशामा कस्तो बज्रपात? कत्रो घात? नियमित पानी हुनलाई के अर्को कुलमान चाहिने हो?

Leave a Reply to हरि Cancel reply

Your email address will not be published. Required fields are marked *