सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला – Nepal Press

सदस्यता विवाद टुंग्याउन माग गर्दै पत्रकार महासंघ बाँकेमा ताला

रुपन्देही । शाखाले सिफारिस गरेर पठाएका नयाँ सदस्यको नामावली केन्द्रीय समितिले हटाएको भन्दै नेपाल पत्रकार महासंघ बाँके शाखामा तालाबन्दी गरिएको छ ।

जिल्ला कार्यसमितिले ६३ जना नयाँ सदस्य सर्वसम्मत सिफारिस गरी प्रदेशमा पठाएको र प्रदेश सोही सिफारिस अनुसारका सदस्यहरूलाई नयाँ सदस्यका लागि अनुमोदन गर्दै केन्द्रमा पठाएपनि केन्द्रीय समितिले राजनीतिक आस्थाका आधारमा आफूखुशी हटाएर पठाएको भन्दै प्रेस चौतारीसम्वद्ध पत्रकारहरूले तालाबन्दी गरेका हुन् ।

तालाबन्दीमा माधव नेपाल पक्षधर चौतारीका पत्रकार भने सहभागी छैनन् ।

‘जिल्ला समितिले सिफारिस गरेअनुसारका नामावली परिवर्तन भएर आएकाले साथीहरूले विरोधरुवरुप तालाबन्दी गर्नुभएको छ, केन्द्रीय समितिलाई जानकारी गराइसकिएको छ’, अध्यक्ष ठाकुरसिंह थारुले बताए ।

निर्णय गरी पठाइएका नामावली हटाएर कांग्रेससम्वछ प्रेस युनियनको अगुवाइमा कार्यदल बनाइ आफ्ना पक्षका सदस्य थपेर आएपछि त्यसको विरोध भएको महासंघ लुमिबनी प्रदेशका महासचिव भेषराज बस्नेतले नेपाल प्रेसलाई बताए ।

‘जिल्ला समितिको सिफारिस गर्ने निर्णय तथा प्रदेश समितिको अनुमोदन गर्ने निर्णयलाई केन्द्रीय समितिले आस्थाका आधारमा कानून मिचेर आफू अनुकलका सदस्य थपेको छ । यसले सहज रुपमा निर्वाचन गराउन सम्भव छैन’, बस्नेतले भने ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका संयोजक शोभाखर पन्थीले महासंघ केन्द्रीय समितिले आस्थाका आधारमा पत्रकारमाथि गरिएको अन्यायपूर्ण विभेदलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताए ।

उनले केन्द्रीय समितिको यो कदमविरुद्ध कठोर कदम चाल्न बाध्य बनाएको बताउँदै बहुमतको दम्भका आधारमा निर्वाचन हुन नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर