हाेलीमा मेलम्चीकाे पानीले नुहाउन पाइने, कति बजे खस्छ धारामा ? – Nepal Press

हाेलीमा मेलम्चीकाे पानीले नुहाउन पाइने, कति बजे खस्छ धारामा ?

काठमाडौं । दुई दशकभन्दा लामो समयको प्रतीक्षापछि आजदेखि मेलम्चीको पानी राजधानी काठमाडौं उपत्यकावासीको घर–घरमा वितरण सुरु गरिँदैछ ।

मेलम्ची आयोजनाका अनुसार पहिलो दिन परीक्षणका रुपमा ४ करोड लिटर पानी वितरण हुनेछ । तत्कालका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)कै वितरण प्रणालीमार्फत सबै धारामा पानी पुर्‍याउन लागिएको आयोजनाले जानकारी दिएको छ ।

आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।

‘हामीले विहान ८ बजेदेखि नै पानी छोड्न लागेका थियौं । सुन्दरीजल क्षेत्रमा हिजो रातिदखि नै विजुली छैन । प्राधिकरणले ९ बजेसम्म आउँछ भनेको छ,’ निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेससँग भने, ‘११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गछौं, सर्वसाधारणको धारामा २ बजेपछि पानी आउन थाल्नेछ ।’

अहिले परीक्षणका रुपमा पानी वितरण गर्न थालिए पनि आयोजनाको औपचारिक उद्घाटन भने केहि दिनपछि हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भनिए पनि मिति सार्वजनिक गरिएको छैन । उद्घाटनका लागि भृकुटीमण्डपमा सार्वजनिक धारो निर्माण भइरहेको छ ।

मेलम्ची आयोजनाको पूर्ण क्षमता १७ करोड लिटर हो । पूर्ण क्षमतामा पानी वितरण गर्न करिव २० दिन लाग्नेछ । सुरुमा पुरानो वितरण प्रणालीमाफर्त पानी दिइए पनि उपत्यकामा रहेका सबै रिजर्भ ट्यांकीहरुको परीक्षण सम्पन्न भएपछि नयाँ प्रणालीबाटै वितरण हुनेछ ।

आयोजनाले उपत्यकाका सबै धारामा दैनिक पानी पुर्‍याउने गरी तयारी गरिरहेको बताएको छ ।

आर्थिक वर्ष २०५५/५६ देखि मेलम्ची परियोजना सुरु भएको हो । त्यसयता विभिन्न आरोह अवरोह पार गरेको मेलम्ची आयोजना २०७७ मा मात्र पूरा हुने चरणमा पुगेको छ । मेलम्चीको पानी २६ किलोमिटर सुरुङमार्ग हुँदै अघिल्लो महिना सुन्दरीजल झारिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर