आत्मालोचना गरेर एमालेमा फर्किन भीम रावललाई लेखराज भट्टको सुझाव – Nepal Press

आत्मालोचना गरेर एमालेमा फर्किन भीम रावललाई लेखराज भट्टको सुझाव

कैलाली । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज तथा उद्योगमन्त्री लेखराज भट्टले भीम रावलतर्फ संकेत गर्दै एमाले भन्दा टाढा रहेका नेताहरूलाई आत्मालोचना गरेर फर्किन आग्रह गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रममा भट्टले आत्मालोचना गरेर फर्किन आग्रह गर्दै २८ फागुनमा गरिएको निर्णय परिवर्तन नहुने स्पष्ट पारेका हुन् ।

‘आउने भए आत्मालोचना गरेर आउनुहोस् तर २८ फागुनमा गरिएको निर्णय परिवर्तन हुँदैन’ नेता भट्टले भने । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर नयाँ आन्दोलनको प्रारम्भ गरेको उनले बताए ।

‘हामीले प्रधानमन्त्रीसँग मिलेर वैचारिक आन्दोलन प्रारम्भ गरेका छौँ’ उनले भने ‘हामी अब देशलाई समृद्धिको बाटोमा लगिरहेका छौँ ।’ ताजा जनादेशमा जानुको बिकल्प नरहेको भन्दै उनले त्यसको तयारीमा लाग्न समेत निर्देशन दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले भीम रावल हराएको सूचना जारी गरेका थिए । ‘मैले यहाँ भीम रावललाई देखेको छैन’ उनले भने, ‘भीम रावल हराएको सूचना गर्दछु ।’

रावललाई बस्नेतले पटक-पटक अवसर पाएपछि सरकारको समर्थन गर्ने र अवसर नपाउँदा सरकारको विरोध गर्ने दोहोरो चरित्र देखाएको आरोप लगाए ।

एमालेको संसदीय दलको बैठकमा समेत रावल नगएको भन्दै बस्नेतले अहिले पनि रावलले पार्टी विरोधी गतिविधि गरिरहेको बताए । कम्युनिस्ट आन्दोलनमा अवरोध सृजना गरेको भन्दै रावललाई एमालेमा फर्किन कठिनाइ भइरहेको बस्नेतले बताए ।

सच्चिएर आए रावललाई नेता मान्न सकिने समेत बस्नेतले बताएका थिए । बस्नेतले भने, ‘सच्चिएर आए रावललाई नेता मान्न सकिन्छ, नत्र बुढेसकालमा पछुताउनु पर्छ ।’ कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष बचन सिंहले सङ्गठन र पार्टी भित्र गुटबन्दी कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर