कृष्ण खनालको एउटै चिन्ता : केपी ओली किन हटेनन् ? (भिडियाे) – Nepal Press

कृष्ण खनालको एउटै चिन्ता : केपी ओली किन हटेनन् ? (भिडियाे)

नागरिक समाजको ब्यानरमुनि ओलीविरोधि उग्रता !

काठमाडौं । कांग्रेस निकट बुद्धिजीवीका रुपमा चिनिन्छन् प्रा. डा. कृष्ण खनाल । उनी शनिबार ‘नागरिक आन्दोलन’ गरिएको एक अन्तरक्रियामा सहजकर्ताको भूमिकामा थिए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र कांग्रेस नेता मिनेन्द्र रिजाललाई राखेर गरिएको अन्तरक्रियामा खनालको केपी ओलीविरोधि उग्रता छताछुल्ल पोखियो । उनले प्रश्नका नाममा ओलीप्रति आफ्ना निजी आग्रह-पूर्वाग्रहको ‘बौछार’ गरे ।

खनालका हरेक प्रश्नहरुको एक मात्र भित्री आशय थियो- केपी ओलीलाई किन अहिलेसम्म सडकमा नपुर्‍याएको ? आफू राजनीतिशास्त्रको विद्यार्थी भएको भन्दै उनले तत्कालै ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेताहरुलाई बारम्बार घच्घच्याइरहे ।

अन्तरक्रियामा अतिथिलाई प्रश्न सोध्नुअघि खनालले आफ्नै राजनीतिक मन्तव्य दिएका थिए । त्यस क्रममा उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली अहिले पनि त्यही कुर्सीमा हुनुहुन्छ । संसदले उहाँलाई कठालो समातेर निकाल्छ भन्ने हाम्रो अपेक्षा थियो । तर, आज पनि प्रधानमन्त्री को छ भन्दा उनकै नाम लिन वाध्य छौं । हामी विष्मयमा परेका छौं । के भएको हो भनेर बुझ्न सकिएन । नागरिक आन्दोलनमै लागेकालाई जनताले प्रश्न गर्न थाले । हामीसँग उत्तर छैन ।’

खनाल त्यसपछि प्रचण्डपट्टि फर्किए ।

उनले भन्न थाले, ‘यतिबेलासम्म प्रधानमन्त्री केपी शर्मा ओली किन हटेनन् ? माओवादी केन्द्रले अहिले कुन आधारमा उनलाई समर्थन जारी राखिरहेको छ ? कुन नैतिक आधारमा समर्थन जारी छ ?’

तर प्रचण्डबाट जवाफको अपेक्षा नगरी उनी फेरि माधव नेपालतिर फर्किए ।

‘तपाईंहरुले अविश्वासको प्रस्तावका लागि आफ्ना सांसदहरुको हस्ताक्षर पहिल्यै तयार गरेर किन बस्नुभएन ? आवश्यक पर्दा पार्टी विभाजनका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर किन तयार गर्नुभएन ? तयार गरेको भए अदालतले मौका पाउँदैनथ्यो, तपाईंहरुले मुभ गर्नुहुन्थ्यो । किन मुभ भएन राजनीति ?’

पार्टीको वैठकमा जाने हतारोमा रहेका नेपालले धेरै लामो जवाफ दिएनन् । सर्वोच्च अदालतले आफूहरुलाई घोक्र्याएर एमालेमा फर्काइदिएको भन्दै आफूहरु बडो अप्ठेरो अवस्थामा फसेको दुःख उनले सुनाए ।

‘सर्वोच्चको फैसलापछि हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं, तर बिडम्बना छ,’ नेपालले भने ।

पार्टीको आन्तरिक विषयमा धेरै बोल्न नमिल्ने उनले बताए ।

‘पार्टीभित्रको आन्तरिक विवादका कुराहरु डबलीमा आएर गर्दाखेरि मैमाथि प्रश्न उठ्छ । के गर्नु, हामी राजनीतिकर्मीले सबै दाउपेचलाई ध्यान राखेर विचार पुर्‍याउनुपर्छ । यिनीहरु बोल्दाबोल्दै चिप्लिहाल्छन् भन्ने तपाईंलाई लागेको होला । तर, हामीलाई बडो गाह्रो छ । हामी त पार्टी आर्यघाटमा पुग्दासम्म पनि, हिकहिकी बाँकी रहँदासम्म पनि यसलाई पुनर्जीवन दिन सकिन्छ कि, प्राण प्रवेश गराउन सकिन्छ कि भन्ने ठानिरहेका छौं ।’

नेपालको जवाफले खनालको तिर्खा मेटिएन । त्यसैले बीचमै रोकेर उनले आफ्नो निजी धारणा सुनाउन थाले ।

‘म त राजनीतिशास्त्रको विद्यार्थी । तपाईंहरुको पार्टीको विधिविधान आफ्नो ठाउँमा महत्वपूर्ण होला । तर, अहिले तपाईंहरुलाई राजनीतिक निर्णयको आवश्यकता छ । पुनर्जिवित भएको एमाले विधानले मात्रै निकासमा पुग्दैन होला । तपाईंहरुलाई कठोर निर्णयको आवश्यकता छ । त्यसका लागि तयार हुनुहुन्छ कि हुनुहुन्न ?’

खनालको आशय नेपालले पार्टी फुटाउन अग्रसरता लिनुपर्छ भन्ने थियो । यसबाट नेपाल पनि अलिकति उद्वेलित बने । उनले आफूले हिजै बालुवाटार जान्न भनिसकेको र स्पष्टिकरणको कडा जवाफ दिएको भन्दै सबै चुनौतिको सामना गर्न तयार रहेको बताए ।

जवाफ दिएर नेपाल उठ्न खोज्दै थिए । खनालले रोकेर ऋषि धमलाको शैलीमा सोधे, ‘त्यसो भए भनिदिनूस कहिले हामी ओलीलाई संसदबाट हटाएको देख्न पाउँछौं ? कहिले ? दुई वर्षपछि हो ?’

तर, उनले सुन्न नचाहेको जवाफ नेपालले दिए । उनले भने, ‘यो कुरा अहिले मैले भन्न मिल्दैन । हामी त अहिले एउटै पार्टीमा छौं । (मुस्काउँदै) म त ओली बस्नुहोस भन्नेमै छु । कांग्रेसले पनि साथ दिओस । महन्थजीले पनि साथ दिइरहनुभएको छ भन्ने समाचारमा आइरहेको छ । म त खुशी नै हुन्छु । आफ्नो पार्टीको अध्यक्षको विषयमा मैले कसरी भन्न मिल्छ ?

खनालले थप कोतरे, ‘त्यसो भए आवश्यक पर्दा फ्लोर क्रस गर्नुहुन्छ कि गर्नुहुन्न ?’

नेपाल फेरि टक्टकिए ।

‘यस्तो कुरा सोधेर मलाई अप्ठेरो पार्ने काम नगर्नूस । महन्थमहन्तजीको, मीनेन्द्रजीको दया–कृपा रहेसम्म यो पार्टीको सरकार रहिरहन्छ,’ उनले व्यंग्यमिश्रत जवाफ दिए ।

माधव नेपालबाट निराश बनेका खनालले अब प्रचण्डलाई उकास्न सुरु गरे । प्रश्न सोध्नुअघि उनले आफ्ना दलीलहरु सुनाए ।

‘होइन, (ओलीलाई हटाउने) योजना चाहिँ किन बनेन ? कि माओवादीले सोचेकै थिएन संसद पुनस्र्थापना हुन्छ भनेर ? कोस्टभित्रको नेकपा त सिद्धियो । अब त्यो छैन । अनि किन यो समर्थन जारी छ ? तपाईंहरु समर्थन फिर्ता लिन चाहनुहुन्छ भन्ने हामीले बुझेका छौं । तर तपाईंहरुलाई डर छ रे ओलीले फेरि संसद विघटन गरिदेलान् भन्ने । म राजनीतिशास्त्रको विद्यार्थी हुँ । अल्पमतमा पर्ने वित्तिकै ओली विघटनमा जान सक्दैनन् । त्यसैले यो डर हामीले पाल्नु जरुरी छैन ।’

उनले थपे, ‘तपाईंहरुले समर्थन फिर्ता लिनेवित्तिकै बल रोल हुन्छ । महन्थजीका अगाडि प्रश्न आउँछ । माधवजी, मीनेन्द्रजीका अगाडि पनि प्रश्न आउँछ, बल अगाडि बढाउने हो कि होइन भनेर । सुसाइड गोल हान्ने होकि साँच्चै गोल गर्ने हो भन्ने निर्णय माधवजीले पनि लिनुपर्ने हुन्छ । ढिला हुँदाखेरि प्रधानमन्त्री ओलीलाई अरु षडयन्त्र गर्ने बाटो मिलेको छ । तपाईंहरुको आफ्नो हिसाबले तयारी होला । सबै तयारी गरेपछि हान्ने भन्ने होला । तर चक्मा तपाईंहरुले होइन, उनले दिँदैछन् है हेर्नुस ।’

अब बल्ल प्रचण्डले बोल्न थाले । उनको जवाफ केही हदसम्म खनाललाई खुशी पार्ने थियो । प्रचण्डले आफूलाई समर्थन फिर्ता नलिन निकै दवाव परिरहेको तर अब धेरै दिन नपर्खिने बताए ।

‘मलाई नागरिक आन्दोलनकै साथीहरुले पनि अहिले समर्थन फिर्ता नलिन सुझाव दिइरहनु भएको छ । त्यसैले दाह्रा किटेर रोकिएको छु । तर अब धेरै रोकिन सक्दिनँ । दुई-चार दिनमै समर्थन फिर्ता लिने प्रक्रियामा गइन्छ,’ प्रचण्डले भने ।

बल्ल खनालमा अलि सन्तुष्टि भाव देखियो । उनले एक-दुई दिन पनि होइन भोली नै समर्थन फिर्ता लिन सुझाव दिए ।

उनले भने, ‘खुशी लाग्यो । तपाई प्रष्ट भन्नुभयो, यो समर्थन धेरै दिन टिक्दैन भनेर । यो त भोली नै फिर्ता गरे पनि हुन्छ जस्तो लाग्छ । म राजनीतिशास्त्रको विद्यार्थी हुँ । हामीले बाहिरबाट हेर्दा के देख्छौं भने तपाईंहरुले फिर्ता लिनेवित्तिकै जसपा, कांग्रेस कर्नरमा पर्छ । ओली विश्वासको मत लिन वाध्य बन्छन् । नत्र उनी आफूखुशी विश्वासको मत लिन जाँदैनन् । कांग्रेसले अविश्वासको प्रस्ताव लैजान सक्ने वातावरण मैले देखिरहेको छैन ।’

खनाल त्यसपछि मीनेन्द्रपट्टि फर्किए ।

उनले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन खोजे भने कांग्रेसले त पक्कै पक्षमा मतदान गर्न सक्दैन होला । (महन्थपट्टि हेर्दै) जसपाले पनि पक्कै गर्न सक्दैन होला ।’

उनले महन्थलाई प्रश्न गरे, ‘एउटा कुरा प्रष्ट भन्दिनुस, विश्वासको मत लिनुपर्ने अवस्थामा प्रधानमन्त्रीलाई धकेलेपछि त्यो विश्वासको मत त तपाईंहरुले दिन सक्नुहुन्न होला नि ?’

महन्थबाट पनि खनालले चाहेको जवाफ आएन ।

उनले कुटनीतिक जवाफ दिँदै भने, ‘जब (अविश्वास प्रस्ताव) आउँछ, त्यसपछि तपाईंहरुले देखिहाल्नुहुन्छ ।’

कांग्रेस नेता रिजालले प्रदेश १ र वाग्मतीमा प्रक्रियामा गइसकेको अविश्वास प्रस्ताव अहिले फिर्ता भएको उल्लेख गर्दै हतारमा निर्णय लिनु नहुने बताए ।

उनले भने, ‘दुई प्रदेशमा अविश्वास प्रस्ताव लामो समय खेलाएर राख्नुभयो । उहाँहरुको वाध्यता पनि थियो होला । तर खेलाउँदा खेलाउँदै फुस्केर गयो । त्यसैले आज हामीले हतार गर्यौं भने भोली त्यस्तै अवस्था आउन सक्छ ।’

रिजालको भनाइमा थप्दै खनालले दुई प्रदेशमा अविश्वास प्रस्ताव स्थगित भएकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘त्यो समाचार जब मैले बेलुका टिभीमा देखेँ, मलाई पनि अलिकति फिल भयो । नेकपा एमालेभित्र माधव नेपालको अवस्था अरु नाजुक बन्दै गएको संकेत हो त्यो । तर उहाँहरुलाई के वाध्यता थियो ? किन होल्ड गर्न सक्नुभएन ?’

 


प्रतिक्रिया

2 thoughts on “कृष्ण खनालको एउटै चिन्ता : केपी ओली किन हटेनन् ? (भिडियाे)

  1. नागिरक सामजकाे नाम बेचेर अस्थिरता चाहने र विकासकाे ध्वज्जी उडाउने जनवर समूह

  2. बुद्धिजीवी-नागरिक अगुवाको खास्टो ओढेका दलालीहरूबाट नेपाल जोगउन सकियोभने मात्रै राष्ट्रिय राजनीति जनमुखी-देशमुखी बनाउन सकिन्छ त्यस्ता बुद्धिजीवी-नागरिकहरूले वर्तमान राजनीतिको नकारात्मक विश्लेषण गरेर जनमन भ्रमित पार्दैछन् त्यहि भ्रमबाट रमाएर माझहरू हौसिएर विभाजनमा व्यस्त भेटिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर