‘एमालेमा फर्किनु गम्भीर त्रुटि थियो, ढिला गर्दा झन् ठूलो घेराबन्दीमा फस्छौं’

देशको कम्युनिष्ट आन्दोलनमा देखिएको विखराबको खतरा, दिशाहिनता वा अन्यौल र सही वैचारिक एकताको प्रयासका लागि बुँदागत र अत्यन्त संक्षिप्त रुपमा आफ्नो विचार राख्न चाहन्छु । सविस्तार लिखत आवश्यक भएमा सोका लागि पनि प्रयास गर्नेछु ।

१. एकीकरणको दौरानमा जे–जस्ता कमजोरीहरू रहेका भएता पनि २०७५ जेष्ठ ३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिक्ष्ट पार्टी (माओवादी केन्द्र) का बीचमा एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन गर्नु ठीक थियो । त्यही एकताको जग बसाल्नका लागि गरिएको साझा मोर्चागत प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवारीको प्रक्रिया पनि ठीक थियो । पार्टीको नाम विवादको निहुँ बनाएर सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाउपर कम्युनिष्ट आन्दोलनलाई क्षतविक्षत बनाउने गरी आएको राजनीतिक फैसलाको वर्गीय सार र कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने राष्ट्रिय–अन्तर्राष्ट्रिय रणनीतिको व्याख्या विश्लेषणतिर नलागी बिना कुनै कारण एकता भंग गरेर हिँड्नु गंभीर त्रुटि थियो । यो त्रुटि सच्याउन हामी जति ढिलो गर्ने छौं, त्यति नै गंभीर पथविचलनको दलदलमा फस्दै जाने छौं, अवसरवादका नयाँनयाँ रुप र प्रवृत्तिका सिङ र जुरो हामीभित्रैबाट उठ्न थाल्ने छन् । गल्ति सुधार्न जतिजति ढिलो गर्दै जाने छौं, त्यतित्यति हाम्रो क्रान्तिकारी धार भुत्ते हुँदै जाने छ, हामी झन् ठूलो घेराबन्दीमा फस्ने छौं ।

२. जनअनुमोदित भैसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन संस्थागतरुपमा गुटबन्दी गर्ने, मनपरी ढंगले सरकार सञ्चालन गर्ने, सरकारलाई केही निश्चित कम्पनी र व्यक्तिहरुको हितका लागि परिचालन गर्ने, सरकारलाई संस्थागत रूपमा भ्रष्टाचारको अखडा बनाउने, जनताका बीचमा रहेको धार्मिक सहिष्णुतामा दीर्घकालीन विष (स्लो पोइजन) छर्ने उपक्रम गर्ने, नेताहरुको योजनाबद्ध चरित्र हत्या गर्ने /गराउने, त्यस्तो कार्यमा अग्रसर हुने भ्रष्ट आचरण र विवादित छवि भएका मानिसहरूलाई राजनीतिक नियुक्ति दिने, कम्युनिष्ट आचरण–व्यवहार र विचारबाट च्युत, तीनवटा नीति कार्यक्रम र बजेटमा कतै पनि गरी खाने श्रमजीवी वर्गको हितमा कुनै कार्यक्रम नल्याउने, पार्टीको बैठकमा उपस्थित हुनसमेत नमान्ने, संवैधानिक काम–कार्यवाहीमा समेत षडयन्त्र गर्ने, सीमित व्यक्तिको पहुँचमा मात्रै बस्न रुचाउने पार्टी र सरकारका यावत प्रवृतिका विरुद्ध विगतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताबद्ध रहेका बखत संघर्ष गर्नु बिल्कूल जायज थियो । त्यस्तो प्रवृति बोकेका मानिसलाई कारवाही गर्नु पनि ठीक थियो ।

३. कम्युनिष्ट आन्दोलनले झण्डै सात दशक पूरा गर्ने बेलासम्म आइपुग्दा हजारौं सहिद, लाखौं कार्यकर्ता र लाखौंलाख समर्थक शुभचिन्तकहरुको बलिदान, त्याग र समर्पणको एकमुष्ट अभिव्यक्ति थियो– कम्युनिष्ट पार्टीले प्राप्त गरेको झण्डै दुईतिहाइ नजिक रहेको बहुमत । त्यसरी बनेको सरकारलाई श्रमजीवी वर्गको हित हुनेगरी सञ्चालन नगरेर सीमित कम्पनी र स्वार्थ समूहको हितमा परिचालन गर्नु के.पी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका विरुद्ध गरेको गम्भीर कुठाराघात हो ।

४. नेपालको संविधानको अक्षर र भावनाविपरीत षडयन्त्रपूर्ण तरिकाले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भंग गर्ने काम कम्युनिष्ट आन्दोलनको मात्रै हैन, समग्र लोकतान्त्रिक आन्दोलनको विरुद्धमा थियो । यसैले त्यो प्रतिगमनकारी घटना थियो । प्रधानमन्त्रीको सो प्रतिगमनकारी कदमको विरुद्ध देशव्यापीरुपमा गरिएको आन्दोलन ठीक थियो । त्यो आन्दोलनका क्रममा एक दिन राखिएको नेपाल बन्दको कार्यक्रम भने बिल्कुलै अनावश्यक र जनभावना विपरीत थियो ।

त्यो एकदिने बन्दबाहेक आन्दोलनका सबै रुप र तरिका सही र जायज थिए । प्रतिगमनका विरुद्ध गरिएको त्यो आन्दोलनले कम्युनिष्ट एकतालाई अझै बढी विस्तारित र एकताबद्ध बनाउने वातावरण तयार गर्दै थियो भने आमजनता र खासगरी युवा पुस्तामा नयाँ जागरण र उत्साह भरेको थियो । देशका सबै राम्रा मानिसहरु, विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरु, वरिष्ठत्तमदेखि लिएर नौजवान अधिवक्ताहरु, सबका सब हाम्रो आन्दोलनका साथमा हुनुहुन्थ्यो । नागरिक आन्दोलनले पनि सही दिशा पक्रिने प्रयास गर्दै थियो । यी सबैकुरालाई विचारधारात्मक व्याख्यामा लैजाने, आन्दोलनका उपलब्धीहरुलाई पूँजीकृत गर्ने कुराको खाँचो छ र सो गर्न सकिने समय अझै बाँकी छ ।

आन्दोलनका यी उपलब्धिहरूलाई सैद्धान्तिक, वैचारिक र सांगठनिक रुपमा संस्थागत गर्न नलागी अन्यत्र लाग्नु वा प्रतिगमनकारी पक्षसँग यो वा त्यो बहानामा आत्मसमर्पण गर्नु, त्यसो गर्नका लागि अनेक शब्द जाल खोज्न लाग्नु कम्युनिस्ट आन्दोलनका लागि गंभीर धोखा हुने छ ।

५. कम्युनिष्ट आन्दोलन विभाजित नहोस् भन्ने भावना आफैंमा पवित्र छ । तर कुन कम्युनिष्ट आन्दोलन ? पाएको बहुमतलाई बुद्धिमत्तापूर्णढंगले परिचालन गरी पार्टी एकतालाई सुदृढ गर्न चाहने, भएको एकतालाई जोगाउने र एकीकरणको विस्तारलाई निरन्तरता दिने, भ्रष्टाचारको विरोध र सुशासनको पक्षपोषण गर्ने, कानुन र संविधानअनुसार सरकार र सत्ता सञ्चालन हुनु पर्दछ भन्ने प्रवृतिको कम्युनिष्ट आन्दोलन कि कम्युनिष्ट पार्टीको आवरणमा विभाजन, विखण्डन र भ्रष्टाचारलाई संरक्षण गर्ने पश्चगामी प्रवृति, कुन रोज्ने ?

हामीभित्रको यौटा प्रवृति देखेर म धेरै दुःखी भएको छु । कमरेडहरू एकताको लागि चिन्तित हुनुहुन्छ । यो राम्रो कुरा हो तर बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता जोगाउन विल्कुलै चिन्तित नहुने तर प्रतिगमनकारी भनेर आफैंले त्यति ठूलो संघर्ष गरेको प्रवृति संग झिना– मसिना शर्त राखेर एकता गर्न तयार हुने प्रवृति आफैंमा पश्चगामी दिशातिर अभिमुख छ । यसो नगरौं, सही बाटो रोजौं । त्यो भनेको नाम जेसुकै होस्, बनिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सांगठनिक संरचनामा फर्कौं । अनि बाँकी अरु कम्युनिस्ट घटकसँग पनि एकताका लागि पहल गरौं ।

६. हाम्रो समूहले इज्जत नामक नाक जोगाउनका लागि राखेका साना–झिना–मसिना शर्त पनि केपी शर्मा ओलीले मान्नु हुन्न । त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिने छ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउने छन् । ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आमरुपमा सही कम्युनिष्टहरूलाई बढारेर मिल्काइने छ । विन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन । कसैमा केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो ।

७. अदालतको राजनीतिक फैसलाको पुनरावलोकन हुनुपर्दछ पनि भन्ने, अदालतले क्षेत्राधिकार बाहिर गएर गरेको फैसला गलत छ पनि भन्ने अनि झिना–मसिना शर्त राखेर प्रतिगमनको प्रवृतिबोकेको प्रवृति संग एकता गरेर पार्टी र आन्दोलन सुधार्छु भन्ने विचार र दृष्टिकोण भनेको दुई नाउमा खुट्टा राख्नु जस्तै हो । दुई नाउमा खुट्टा राखेको मान्छे जंघार तर्दैन भन्ने जानकारी पक्कै छ ।

८. आउने वर्षदिन भित्रैमा आम निर्वाचन हुने प्रबल संभावना देखिन्छ । राजनीतिमा टाइम एण्ड स्पेसको धेरै ठूलो महत्व हुन्छ । यदि हामी छुट्टै समूह बनाएर जान्छौं भने त्यसका लागि स्पेस र चुनावसम्म धेरै गरिसक्नका लागि टाइम कम छ भन्ने पनि बुझ्न आवश्यक छ । अर्को कुरा, हामी हरेक काम झारा टराईका रुपमा गरिरहेका छौं । त्यति ठूलो राष्ट्रिय कार्यकर्ता भेला गरियो तर न त कार्ययोजना छ, न कार्यविभाजन छ । के हामी यो सबै सर्वसत्तावादी केपी ओलीसंग बार्गेनिङका लागि गरिरेका छौं ? बैठक वा भेला राख्दा सुस्पष्ट योजनाका साथ राखौं, कार्यकर्ता अल्मल्याउने प्रयोजनले काम नगरौं भन्ने अनुरोध गर्न चाहन्छु ।

९. राजनीतिक लाइन भनेको तारमा विद्युतीय करेण्ट प्रवाह भएजस्तै हो, जुन सही दिशामा हुँदा शक्ति र उज्यालो निस्कन्छ भने डबल लाइन क्रस हुँदा आगोले खरानी पनि हुनसक्छ है ।

१०. स्थानीय निकायका जनप्रतिनिधिहरूलाई आ–आफ्नो ठाउँमा रहेर राम्रो काम गर्नुस् भन्ने र सोका लागि निगरानी राख्दा पुग्छ । माननीय सांसदहरुका हकमा सही काम गर्दै जाने र परिआएको बेहोर्ने कार्यनीति सही हुने छ । लतारिएर काम छैन ।

११. कम्युनिष्ट विरोधी देशी–विदेशी प्रतिक्रियावादीहरुको अहिलेको मूल रणनीति भनेको कम्युनिष्ट आन्दोलनलाई छिन्नभिन्न बनाउनु हो । यसलाई असफल पार्ने भनेको सही धारमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउनु हो । बुझे हुन्छ, सही वैचारिक–सांगठनिक कार्यनीतिका साथ एकीकरणमा पुनः अगाडि नबढ्ने हो भने केही महिना वा वर्षपछि केपी ओलीले नेतृत्व गरेको समूह पनि विभाजित हुने छ ।

गलत प्रवृतिको विरुद्ध संघर्ष गर्दै तत्काल कम्युनिष्ट पार्टी एकीकरणको काममा लागौं ।

(नेकपा एमालेका केन्द्रीय सदस्य डा. पौडेलले मधाव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठकमा पेश गरेको लिखित प्रस्ताव)

प्रतिक्रिया

2 thoughts on “‘एमालेमा फर्किनु गम्भीर त्रुटि थियो, ढिला गर्दा झन् ठूलो घेराबन्दीमा फस्छौं’

Leave a Reply

Your email address will not be published. Required fields are marked *