कर्णाली खेलकुद परिषदः बजेट छ, काम छैन – Nepal Press

कर्णाली खेलकुद परिषदः बजेट छ, काम छैन

सुर्खेत । कर्णाली प्रदेश सरकारले २०८० सालमा राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न कर्णाली खेलकुद परिषद् गठन भएको छ । पुस १६ गते खेलकुद परिषदमा उपाध्यक्ष प्रमोद हमालसहित पदाधिकारी मनोनित समेत भए । तर परिषद्ले अहिलेसम्म केही काम गरेको छैन ।

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि कर्णालीमा पूर्वाधारकै समस्या छ । न फुटबल मैदान छन्, न कुनै स्टेडियम, न कर्भड हल नै छन् । तर परिषद्ले कुनै पूर्वाधार निर्माणको काम अघि बढाएको छैन । सरकारले विनियोजन गरेको बजेटसमेत फ्रिज हुने स्थिति छ ।

आर्थिक वर्ष २०७५/०७६ मा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भनेर प्रदेश सरकारले सात करोड रुपैंया विनियोजन गरेको थियो । उक्त वर्ष सो रकम खर्च भएन । आर्थिक वर्ष २०७६/०७७ मा पनि त्यहीं शीर्षकमा साडे दुई करोड रुपैंया विनियोजन भएको थियो । त्यो रकम पनि खर्च भएन । यो वर्ष रंगशालाका लागि मात्रै दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । तर उक्त रकम दोस्रो चौमासिक वित्दा पनि खर्चको प्रक्रियामा गएको छैन ।

सामाजिक विकास मन्त्रालयले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर बजेट विनियोजन गरेको छ । रंगशालाका लागि दुई करोड, फुटबल मैदानका लागि पचास लाख, जुम्ला र हुम्लामा हाइ अल्टिच्यूड बहुउद्देश्यीय रंगशाला निर्माणका लागि एक करोड, सल्यानको शारदा नपा २, दैलेखको काँडाचौर र कालिकोटको रास्कोटमा रंगशाला निर्माणका लागि एक करोड पचास लाख, दश जिल्लाका खेलकुद विकास समितिका लागि दश लाखका दरले एक करोड, मुगु, जाजरकोटमा कर्भड हल निर्माण गर्न एक करोड, डोल्पामा कर्भड हल निर्माण गर्न २५ लाख रुपैंया चालु आर्थिक वर्षमा विनियोजन गरिएको छ ।

यस्तै खेलकुद विकास समितिको कार्यालय व्यवस्थापनमा एक करोड, मुख्यमन्त्री कप आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन भएको छ तर यी सबै कामहरु अहिलेसम्म कार्यान्वयनको प्रक्रियामा लिन नसकिएको कर्णाली खेलकुद परिषद्का सदस्य टक्कबहादुर शाही बताउँछन् ।

‘हामीले अहिले कार्यालय खोल्ने काम मात्रै गरेका छौं । काम गर्न सुरु भएको छैन’, उनी भन्छन्, ‘हामीसँग बजेट नआइपुगेका कारण अन्य काम कसरी गर्ने भन्ने अलमलमा नै हामी छौं’

सरकारले परिषद् बनाएको तर बजेट नदिँदा काम गर्न असहजता भएको उनको भनाइ छ । ‘हामीले बारम्बार मनत्रालयमा बजेट खर्चका लागि स्वीकृति दिन अनुरोध गर्दै आइरहेका छौं । तर अहिलेसम्म बजेट रिलिज नै हुन सकेको छैन’ उनले गुनासो गरे, ‘काम गर्ने उच्च चाहना हुँदा हुँदै पनि मन्त्रालय धाएर दिन विताउनुपर्ने बाध्यता आइलागेको छ ।’

परिषदका सदस्य सचिव विश्वामित्र सञ्ज्यालले सरकारले तत्काल बजेट दिएको खण्डमा दशौं खेलकुद प्रतियोगिताको तयारीमा जुटन सकिने बताए । ‘हामी कर्णाली खेलकुदको भविष्य उज्ज्वल बनाउन भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेका छौं । खेलकुद परिषदले कानूनअनुसार कार्यान्वयन गर्ने जिम्मा पाएको बजेट पाउने वित्तिकै हामी भौतिक पूर्वाधार विकासमा जुटछौं’ उनी भन्छन्, ‘तेस्रो चौमासिकमा काम गर्न नसकिएको खण्डमा फेरि बजेट फ्रिज हुने सम्भावना हुन्छ । त्यसले झन् हामीलाई पछाडि पार्छ ।’ उनले हतार हतारमा काम गर्नु भन्दा गुणस्तरीय, दीगो खेलकुद संरचना निर्माण गर्न आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *