श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ नाटकमा – Nepal Press

श्रवण मुकारुङको कविता ‘बिसे नगर्चीको बयान’ नाटकमा

काठमाडौं ।  कवि श्रवण मुकारुङको चर्चित कविता ‘बिसे नगर्चीको बयान’लाई नाटकमा प्रस्तुत गरिने भएको छ । शनिबार विश्व रङ्गमञ्च दिवसको अवसर पारेर बत्तीसपुतलीस्थित शिल्पी थियटरमा कविताको नाट्यरुपान्तरण प्रस्तुत गरिने भएको हो ।

नाटक मञ्चनसँगै ओस्कार विजेता रङ्गकर्मी हेलेन मिरेनको विश्व रङ्गमञ्च सन्देश प्रसारण गर्ने कार्यक्रम छ । नाट्यकर्मी अभि सुबेदीको रङ्गमञ्च सन्देश र कवि श्रवण मुकारुङको कविता वाचन पनि रहेको छ । शिल्पी थियटरका १२औं सत्रका प्रशिक्षार्थीहरुद्वारा अभिनित नाटकको मञ्चन साँझ ५ बजेबाट शुरु हुनेछ ।

प्रत्येक वर्ष मार्च २७ लाई विश्वभरका रङ्गकर्मीहरुले विश्व रङ्गमञ्च दिवसको रुपमा मनाउँदै आएका छन् ।

बिसे नगर्चीको बयान

मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ
मेरो टाउको फन्फनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ

मैले त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि –
आज के भयो मलाई ?
यो बिसेलाई दशा लाग्यो मालिक !
म बौलाएँ
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै यो बिसे उफ्रिनुपर्ने ?
थुइक्क बिसे…
म बौलाएँ मालिक !
म बौलाएँ
मेरो हात भाँच्चियो
अब म हजुरका भारदारहरुलाई
लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न, सनई बजाउन
अथवा, कुनै मङ्गलगान
वा ऋतुगान गाउन सक्दिनँ
मेरो खुट्टा भाँच्चियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठीक्कले बोल्नै सक्दिनँ
मालिक ! म बौलाएँ
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला–अग्ला पहाडहरु
आज कसरी यस्तरी होचा–होचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरु
आज कसरी यस्तरी खुनी र कुरुप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
मालिक! म बौलाएँ
मालिक !
हजुरको तरवारले
टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरको बन्दुकले
विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु
मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ
हो मैले–
मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर–
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो
बराबर हो भने हुँला
मैले सिएको सुकिला लुगा ओढेकाहरुलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले
मेरै भगवानलाई पनि गाली गरेँ हुँला
मालिक !
मान्छे बौलाएपछि
आफैंसँग निहुँ खोज्दोरहेछ
अढाई सय वर्षदेखि
मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरु कहाँकहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औंलामा खोपिएका छ्यान्द्रा
र बगेका रगतहरुले मलाई उक्सायो
तरवारले आर्जेको मुलुकभन्दा मैले
धागोले उनेको मुलुक विशाल ठानेँ हुँला
मालिक !
यस माटोको इतिहाससँगै
म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुनसक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिर–तिर्मिर भएर
हजुरको शीर दशवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँ छ ?
कहाँ छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर