कोरोना त्रासले रोकेन भारत पस्नेहरूको लर्को – Nepal Press

कोरोना त्रासले रोकेन भारत पस्नेहरूको लर्को

कैलाली । शुक्रबार साँझ कञ्चनपुर पुनर्वास कि शान्ती विक हतार हतार कैलालीको गौरिफन्टा नाका पुगिन् । साथमा थिए, ५ वर्षीय छोरा रिदम र २ वर्षीया छोरी आसिका ।

थप दुई जना आफन्त लिएर उनी रोजगारीका लागि भारतको बेङ्लोर जाँदै थिइन् । भारतमा कोरोना संक्रमण बढिरहेको बेला पनि रोजगारका लागि जानुपर्ने उनको बाध्ता छ । ‘हामी बसेको ठाउँमा अहिलेसम्म कोरोना पुगेको छैन भन्ने सुनेका छौँ,’ नेपाल भारत सीमा नाका काट्दै गर्दा उनले भनिन्, ‘यहाँ बसेर के गर्नु, कसरी परिवार पाल्नु ।’

उनले नेपालमै रोजगारीको व्यवस्था भए भारत जानुपर्ने बाध्यता नरहने बताइन् ।

कैलाली लम्की चुहा नगरपालिकाका करण भूल विगत १० वर्षदेखि भारतको महाराष्ट्रमा काम गर्दै आइरहेका छन् । उनका सबै परिवार अहिले पनि त्यहीँ छन् ।

पछिल्लो केही समय यता भारतको महाराष्ट्र कोरोनाको उच्च जोखिममा छ । तर, करणलाई भने त्यहाँ पुग्न हतारो छ । ‘केही दिनअघि नेपाल आएको थिएँ । आज फर्किँदै छु । यहाँ बसेर पनि के गर्नु काम नगरी खान पुग्दैन,’ करणले भने ।

उनले आफू मात्र नभई आफ्ना परिवार नै उतैको रोजगारीमा निर्भर रहेका बताए । कैलाली लम्किकै जयसरा महतराको परिवार पनि भारतमै छ । शुक्रबार उनी पनि रोजगारीको लागि बेंलोर गइन् । आफूलाई कोरोना त्रास भन्दा रोजगारीको नहुँदाको संकटले सताउने गरेको उनी बताउँछिन् ।

वर्षौंदेखि आफूहरूले भारतमा रोजगारी गरेको उनी सुनाउँछन् ।

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेको जानकारी त छ । यद्यपि, दैनिक ४ सय भन्दा बढी नेपाली नागरिक गौरिफन्टा नाका हुँदै गइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी बताउँछन् ।

ती मध्ये अधिकांश रोजगारीको लागि र केही नेपाली उपचारको लागि जान्छन् । जोशी भन्छन्, ‘नेपालमा रोजगारीको अभाव हुँदा भारत पस्नेहरूको संख्या बढेको छ ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गौरिफन्टा नाकाकै हाराहारीमा कञ्चनपुरको गड्डा चौकी नाकाबाट पनि नेपाली भारत गइरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर